काठमाडौं। डेढ वर्षदेखि काठमाडौं सोल्टीमोडमा सञ्चालित पाँचतारे होटल ह्यात प्लेस ‘अपग्रेड’ (स्तरोन्नति) भएर लक्जरी ब्रान्ड ‘ह्यात सेन्ट्रिक’ हुने भएको छ।
व्यावसायिक घराना गोल्यान ग्रुपको लगानी रहेको ह्यात प्लेस आगामी ६ महिनाभित्र अपग्रेड भएर लक्जरी ब्रान्ड ह्यात सेन्ट्रिक नाममा सञ्चालनमा आउने छ।
ग्रुपका निर्देशक अक्षय गोल्यानले होटल आउने पर्यटकलाई थप गुणस्तरीय सुविधा दिन अपग्रेड गरेर लक्जरी ब्रान्ड ह्यात सेन्ट्रिकसँग सम्झौता गरिसकेको जानकारी दिए।
सेन्ट्रिक अमेरिकी होटल चेन ह्यातको लक्जरी ब्रान्ड हो। विश्वभरि नेपालबाहेक ५९ होटल ह्यात सेन्ट्रिक नाममा सञ्चालन भइरहेका छन्। नेपालमा सञ्चालनमा आएपछिको संख्या ६० हुनेछ।
सबैभन्दा बढी अमेरिका र भारतमा यो ब्रान्डबाट होटल चलिरहेका छन्। नेपालमा भने यो पहिलो हुनेछ। छिमेकी भारत र चीनमा राम्रो उपस्थिति रहेको सेन्ट्रिकको नेपाल प्रवेशले ती देश जाने पर्यटकको रोजाइमा अब नेपाल पर्न सक्ने गोल्यानको विश्वास छ।
होटलको ब्रान्ड परिवर्तनका लागि हाल रहेकामध्ये केही संरचना भने परिवर्तन हुनेछन्। त्यसका लागि ग्रुपले १५ करोड रुपैयाँभन्दा बढी खर्च गर्न लागेको छ।
ग्रुप निर्देशक गोल्यानका अनुसार हाल रहेको लबी र स्विमिङ पुल एरियाको आर्किटेक्ट डिजाइन केही परिवर्तन हुनेछ। लबीको एरिया बढ्ने छ भने स्विमिङ पुल नजिकै रहेको स्काइ बारको आर्किटेक्टमा केही परिवर्तन आउने छ। योसँगै होटलका कोठाभित्र राखिएका सजावटका सामान केही परिवर्तन भएर हाल भएका भन्दा राम्रो हुनेछ।
‘पछिल्लो समय नेपालमा पर्यटक आगमन संख्या बढिरहेको छ र उनीहरूलाई अन्य होटलभन्दा पृथक सुविधा दिने उद्देश्यले ब्रान्ड अपग्रेड गरिएको हो,’ निर्देशक गोल्यानले क्यापिटल नेपालसँग भने, ‘ब्रान्ड अपग्रेडका लागि आफूहरूले भन्दा व्यवस्थापन सम्हालिरहेको ह्यात इन्टरनेसनलकै सुझावअनुसार अगाडि बढेका हौं।’
हाल सञ्चालनमा रहेको ब्रान्डमार्फत होटल आउने ग्राहकले सेवा, खाना र बस्ने कोठाबारे उत्कृष्ट प्रतिक्रिया दिइरहेको र अझ त्यसलाई राम्रो र गुणस्तरीय बनाउन नयाँ ब्रान्डमा सम्झौता गरिएको उनले बताए।
उनका अनुसार स्विमिङ पुल एरिया अझै राम्रो बनाउन स्तरोन्नतिसँगै लबी एरियासमेत बढाउने काम भइरहको छ। यतिमात्र नभई, ब्यांक्वेट हलको क्षमता विस्तार पनि हुँदैछ।
अहिले ३ सय ५० देखि ४ सय सिट क्षमतामा सञ्चालित हलको क्षमता ६ सय पुर्याउन लागिएको हो। ब्यांक्वेट हल नेपालमा रहेकामध्ये उत्कृष्ट बनाउन लागिएको छ। यो आउटडोर र इन्डोर दुवै हुनेछ।
पर्यटन क्षेत्रमा नयाँ सुविधा र अनुभव दिलाउने उद्देश्यसाथ ह्यात सेन्ट्रिकमा सुविधा थप्दै जाने योजनामा व्यवस्थापन लागिरहेको छ।
साढे १० रोपनी क्षेत्रफलमा डेढ वर्षअघि सञ्चालनमा आएको ह्यात प्लेस होटल ५ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको थियो। १४ तलाको होटलमा १ सय ५३ कोठा छन्। लक्जरी तथा बिजनेसमा वर्गीकरण गरी सबैलाई मिल्ने गरी कोठाको इन्टेरियर डिजाइन गरिएको छ।
ह्यातको अर्को ब्रान्ड पाँचतारे होटल ह्यात रिजेन्सी नेपालमा लामो समयदेखि सञ्चालनमा रहँदै आएको छ। ह्यात रिजेन्सी र ह्यात प्लेसका लगानीकर्ता फरक हुन्। तर, यसको अन्तर्राष्ट्रिय चेन ब्रान्ड एउटै हो।