काठमाडौं। नेपाली बजारमा सिट्रोनको नयाँ एसयूभी ‘सिट्रोन सी३’ सार्वजनिक भएको छ। नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले बुधबार ‘सिट्रोन सी३’ सार्वजनिक गरेको हो।
सार्वजनिक भएको यस एसयूभीको क्याविनमा १० इन्चको ठूलो इनफोटेन्टमेन्ट सिस्टम, अल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, म्यानुयल एसी, ४ वटा स्पीकर, यूएसबी चार्जिङ पोर्ट, दुई एयरब्याग, रिभर्स पार्किङ सेन्सर, सिट वेल्ट रिमाइन्डर जस्ता आकर्षक फिचर उपलब्ध रहेका छन्।
त्यस्तै ‘सिट्रोन सी३’ मा स्प्लीट हेडल्याम्प क्लष्टर, हेग्जागोनल एयर इन्टेक, विभिन्न स्थानमा दिइएको कलर इन्सर्ट, कालो कलरमा बडी क्ल्याडिङ, विभिन्न ६ कलर अप्सन, भेरियन्ट अनुसार १५ इन्चको स्टील र अलोय ह्विल पाउन सकिन्छ।
११९८ सिसी डिस्प्लेसमेन्ट रहेको सिट्रोन सी३ मा १.२ लिटर पेट्रोल इन्जिन छ। जसले ५,७५० आरपिएममा ८२ पिएस पावर र ३,७५० आरपिएममा ११५ एनएम टर्क जेनेरेट गर्छ। यसमा पाँच स्पिड म्यानुअल ट्रान्समिसन गियरबक्स दिइएको छ। गाडीमा ३० लिटरको इन्धन क्षमता छ।
यो एसयुभीको लम्बाई ३,९८१ एमएम, लम्बाई १,७३३ एमएम र उचाई १,५८६ एमएम छ। यसको ह्विलबेस भने २,५४० एमएम छ। यो ‘सिट्रोन सी३ लाइभ’ र ‘सिट्रोन सी३ फिल’ गरी दुई भेरियन्टमा उपलब्ध छ। यी भेरियन्टको सुरुआती बजार मूल्य क्रमशः ३४ लाख ४९ हजार रुपैयाँ र ३६ लाख ४९ हजार तोकिएको छ।