काठमाडौं। बैंक तथा वित्तीय संस्थाले सबैभन्दा सस्तो ब्याजदरमा घरकर्जा उपलब्ध गराउन थालेका छन्। वित्तीय संस्थाले अन्य कर्जामा तीन प्रतिशत प्रिमियम जोडिरहेका छन् भने घरकर्जातर्फ आधारदरमा दुई प्रतिशतमात्रै प्रिमियम जोडेर कर्जा प्रवाह गर्न थालेका हुन्।
वित्तीय संस्थामा बिस्तारै लगानीयोग्य रकम बढ्दै गएकाले अर्थतन्त्र चलायमान बनाउन सबैभन्दा सस्तो ब्याजदरमा घरकर्जा सुविधा ल्याएका हुन्।
‘घरकर्जालाई मदर अफ अल इन्डस्ट्रिज पनि भनिन्छ,’ एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ले भने, ‘घर बनाउन कर्जा दिनेबित्तिकै दर्जनौं उद्योगको सामान खपत हुन्छ।’
घर निर्माण कार्य बढ्न थालेपछि सिमेन्ट, डन्डी, गिट्टी, बालुवा, किलाकाँटा, फर्निचरलगायत उद्योग चलायमान हुन्छन्। त्यतिमात्रै नभई, ठूलो संख्यामा मजदुर प्रयोग हुँदा अर्थतन्त्र नै चलायमान बनाउने भएकाले बैंक तथा वित्तीय संस्थाले सबैभन्दा सस्तो दरमा घरकर्जा ‘अफर’ ल्याइरहेका छन्।
सम्बद्ध स्रोतका अनुसार कतिपय बैंकले आधारदरमा एक प्रतिशतमात्रै प्रिमियम जोडेर पनि घरकर्जा सुविधा ल्याएका छन्। कतिपय बैंकले दुई प्रतिशतसम्म जोडेका छन्। घरकर्जाबाहेक कर्जामा तीन प्रतिशतमाथि प्रिमियम जोडेर ऋण प्रवाह गरिरहेका छन्।
सिद्धार्थ बैंकले नयाँ वर्ष २०८० अवसर पारेर विशेष घरकर्जा सुविधा सञ्चालनमा ल्याइसकेको छ।
बैंकले ‘सिद्धार्थ हाम्रो घरकर्जा’ नाममा घर खरिद, निर्माण र पुनर्निर्माणका लागि घरकर्जा दिन लागेको हो। बैंकले ग्राहकलाई वार्षिक ११.७५ प्रतिशत ब्याजदरमा कर्जा प्रदान गर्ने जनाएको छ। सिद्धार्थको आधारदर १०.६१ प्रतिशत छ।
त्यसैगरी कुमारी बैंकले पनि १२.९८ प्रतिशत ब्याजदरमा घरकर्जा उपलब्ध गराउँदै आएको छ। कुमारीको आधारदर १०.९८ प्रतिशत छ। कुमारीले पनि दुई प्रतिशतमात्रै प्रिमियम जोडेर घरकर्जा उपलब्ध गराउने भएको हो।
एनएमबी बैंकले पाँच वर्षसम्म कर्जाको ब्याजदर नबढाउने घरकर्जा योजना ल्याएको छ। उक्त योजनाअनुसार बैंकबाट घरकर्जा लिँदा ब्याजदर पाँच वर्षसम्म स्थिर रहने छ। ११ प्रतिशत ब्याजदरमा दिइने घरकर्जा २५ वर्षसम्मका लागि पाइने छ। एनएमबीको आधार ब्याजदर १०.६१ प्रतिशत छ।
ब्याजदरमा निरन्तर भएको उत्तारचढावले उपभोक्तामा उत्पन्न मानसिक र वित्तीय दबाब चिर्न वित्तीय क्षेत्रमै अद्वितीय र पृथक प्रकारको कर्जा योजना ल्याएको बैंकले जनाएका छन्।
राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले कर्जा योजनामा स्थिर र आधारदरका आधारमा परिवर्तन हुने ब्याजदर प्रकाशित गर्दै आएका छन्। स्थिर ब्याजदर योजनामा कर्जा अवधिभरि एउटै ब्याजदर कायम हुन्छ।
आधारदरका आधारमा लिने ब्याजदरमा भने प्रत्येक त्रैमासमा आधारदर बढ्दा ब्याजदर बढ्ने र घट्दा घट्ने हुन्छ। आधारदरमा बैंकहरूले जोड्ने प्रिमियम कर्जा स्वीकृत गर्दा तय हुन्छ र यो परिवर्तन गर्न पाइँदैन।