काठमाडौं। मंगलबार नेपाली क्रिकेट टिमले युएईलाई ७ विकेटले हराउँदै ‘एसिसी प्रिमियर कप’ उपाधि हात पारेर इतिहास रचेको छ। प्रिमियर कप जितेसँगै नेपालले एसिया कपका लागि यात्रा तय गरेको छ।
सन् २००२ मा पनि नेपाल एसिया कपका लागि छनौट भएको थियो। तर, त्यसबेला भारत र पाकिस्तानबीच कारगिल युद्ध चल्दा नेपालले एसिया कप खेल्न पाएको थिएन।
हाल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा पछिल्ला केही दिनयता एउटा फरक दृष्यले सबैको ध्यान तानेको छ। घाम लागेका दिन खेल हुँदा त्रिवि मैदानवरपर रुखमा दर्शक प्रशस्तै देखिन्थे। कारण– नेपालमा व्यवस्थित क्रिकेट मैदान छैन। जसले खेल मैदान वरपर रुख चढेर तथा घरको छतबाट खेल हेर्नु नेपालीको बाध्यता नै हो।
कतिले टिकटको पैसा बचाउन दर्शक रुख चढेरे खेल हेरेको टिप्पणी गरे। तर, त्यस्ता टिप्पणी बेवास्ता गर्दै खेल हेर्न जाने दर्शकलाई मुसलधारे पानीले पनि रोक्न सकेन।
यो वर्ष वैशाख मध्यदेखि नै काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश भेगमा पानी परिरहेको छ। शुक्रबार रातिदेखि निरन्तर परेको पानी अहिलेसम्म रोकिएको छैन।
यसैबीच क्रिकेट खेल पनि चलिरह्यो। शनिबारदेखि नै त्रिवि क्रिकेट मैदानमा छाता ओढेर नेपालीहरू खेल हेर्न पुगेको दृश्यले नेपालमात्रै होइन, विदेशी सञ्चारमाध्यममा पनि निकै चर्चा भयो। पानीमा छाता ओढ्दै बसेका नेपाली दर्शकले सरकारलाई क्रिकेट खेल व्यवस्थित बनाउन ढिला गर्न नहुने सन्देश दिएका छन्।
क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का अनुसार सोमबारमात्रै साढे ११ हजार बढी टिकट बिक्री भएको थियो। त्यसबाहेक १ हजारभन्दा बढी दर्शक टिकटबिना खेल मैदान पुगेको अनुमान क्यानको छ। अन्तिम चरणको मंगलबारको खेल हेर्न टिकट काट्नु नपर्ने व्यवस्था क्यानले गरेको थियो।
एसिसी प्रिमियर कपका लागि १० टिम सहभागी भएको क्यानका कार्यवाहक महासचिव दुर्गाराज पाठक बताउँछन्। १० टिमबाट २ सयभन्दा बढी व्यक्ति १७/१८ दिन नेपाल बसेका छन्।
‘सोमबारका लागि अनलाइन र प्रत्यक्ष गरी कूल ११ हजार ५ सयथान टिकट बिक्री भएको थियो,’ क्यान कार्यवाहक महासचिव पाठकले क्यापिटल नेपालसँग भने, ‘अनलाइनबाट टिकट काट्दा डेढ सय र प्रत्यक्ष काट्नेलाई २ सय रुपैयाँ लिने व्यवस्था थियो। टिकटबाहेक १ हजार दर्शक उपस्थित भएको हाम्रो अनुमान छ।’
यसलाई हिसाब गर्दा सोमबारमात्रै औसतमा १९ लाख रुपैयाँ बढीको टिकट बिक्री भएको थियो। त्रिवि मैदान पुगेका लगभग सबै दर्शक पानी पर्दा ओत लाग्ने ठाउँ छैन। कार्यवाहक महासचिव पाठकको भनाइ आधार मान्ने हो भने साढे १२ हजार दर्शकले छाता ओढेर सोमबारको खेल हेरेका थिए। एउटा छातामा दुईजना बस्दा पनि साढे १२ हजार दर्शकले ६ हजारभन्दा बढी छाता एकैपटक प्रयोग गरेका थिए।
सामान्यतया बजार मूल्य आधार मान्ने हो भने एउटा छाताको मूल्य औसतमा ४ सय रुपैयाँ पर्छ। यो हिसाबले ६ हजार छाताको मूल्य २४ लाख रुपैयाँ पर्न जान्छ। टिकटको मूल्य १९ लाख र २४ लाख मूल्यबराबरका छाता प्रयोग हुँदा एकै दिनको खेलमा ४० लाख बढीको कारोबार भएको देखिन्छ। त्यसबाहेक दर्शक त्रिविसम्म पुग्दाको यातायात, खाजा र खेलाडीले गरेको खर्च छुट्टै छ।
नेपाली क्रिकेट खेलका लागि एसिया कपमा छनौट हुनु एउटा इतिहास त छँदैछ अर्कातर्फ हजारौं छाता एकैपटक ओढेर दर्शकले खेल हेर्नु अर्को ऐतिहासिक पक्ष हो। हुन त दर्शकले छाता ओढेर बसेका मात्रै होइनन्, क्यानले पनि पानी पर्नासाथ मैदानमा हिलो हुन नदिन खेल मैदानलाई त्रिपालले छोप्नुपर्ने बाध्यता छ।
क्रिकेटप्रतिको नेपाली मोह देखेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित राजनीतिक व्यक्ति प्रभावित भएका छन्। यतिसम्म कि चितवनको भरतपुरमा धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेर अलपत्र भएको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माण गर्ने विषय चर्चामा पुगेको छ।
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले नेपालीको क्रिकेट मोह देखेर अलपत्र परेको रंगशाला निर्माण सुरु गर्ने प्रतिबद्धतासमेत जनाइसकेकी छिन् भने केन्द्र सरकारले पनि रंगशाला निर्माणमा चासो देखाएको छ। क्रिकेट खेलबाट एक दिनमा लाखौं कारोबार हुने विषयलाई सरकारले पर्यटन र अर्थतन्त्र सञ्चालनको मेरुदण्ड बनाएर अघि बढ्नुपर्ने सन्देश नेपाली दर्शक र खेलाडीले दिएका छन्।