काठमाडौं। पूर्वमन्त्री मोतिलाल दुगडको स्वामित्वमा रहेको दुगड स्पाइसेस एन्ड फुड प्रोडक्ट्स प्रालिको व्यापार २२ प्रतिशत बढेको छ।
उद्योगले एक वर्षमा २ अर्ब ३० करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ। सन् २०२१ मा उद्योगले १ अर्ब ८८ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो। उद्योगले २०२० मा १ अर्ब २९ करोड रुपैयाँको कारोबार गरेको थियो।
एक वर्षकाे अवधिमा उद्योगको व्यापार साढे ४१ करोड रुपैयाँ बढेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। उद्योगले १ अर्ब रुपैयाँ ऋणको रेटिङसमेत गराएको छ।
सन् १९९९ मा स्थापना भएको उद्योगले विभिन्न किसिमका मसला, स्न्याक्स, नमकिन, अचार, जाम, जेली कन्फेक्सनरी, ड्राइफूड सिटिसी चिया र नट्स उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।
कम्पनीले सेन्चुरी ब्रान्डमा आफ्नो उत्पादनको बिक्री वितरण गर्दै आएको छ। कूल आम्दानीमा मिक्स मसलाको योगदान ३५ प्रतिशत हिस्सा रहेको छ। उद्योगको देशभरी ३ सय बिक्रेता रहेका छन्।
दुगडका उत्पादन विदेशमा पनि निर्यात हुने गरेको छ। उद्योगले मैदा, पाम आयल, पामोलिन स्पाइसिस र प्योजिङ सामाग्री विभिन्न देशहरुबाट आयात गर्दै आएको छ।
कूल आम्दानीको १.२२ प्रतिशत हिस्सा विदेश निर्यातको छ। दुगड सेञ्चुरी ग्रुपअन्तर्गतको सहायक कम्पनी हो। ग्रुपका अध्यक्ष मोतिलाल दुगड रहेका छन्।
उद्योग मोरङको विराटनगरमा छ। उद्योगको संयुक्त उत्पादन क्षमता वार्षिक १५ हजार ३० टन छ।