काठमाडौं । विद्युत् नियमन आयोगले ८ जलविद्युत् कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ । आयोगले काम थालेपछि हालसम्म ८ जलविद्युत कम्पनीलाई २ अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर निस्काशन अनुमति दिएको अध्यक्ष दिल्लीबहादुर सिंहले जानकारी दिए ।
आइपीओ निष्कासन अनुमति पाउनेमा लिबर्टी इनर्जी कम्पनी, ग्रिनलाइफ हाइड्रोपावर लिमिटेड, युनाइटेड इदिमर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेड, शिवश्री हाइड्रोपावर कम्पनी लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड, सिंगटी हाइड्रो इनर्जी लिमिटेड, तेह्रथुुम पावर कम्पनी लिमिटेड, हिमालयन हाइड्रोपावर लिमिटेड रहेका छन् ।
आयोगका अनुसार ग्रिनलाइफले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार कित्ता, लिवर्टीले ३७ करोड ५० लाख रुपैया बराबरको ३७ लाख ५० हजार, शिवश्री हाइड्रोपावर लिमिटेडले ३३ करोड ५१ लाख बराबरको ३३ लाख ५१ हजार कित्ता, सिंगटी इनर्जीको ४३ करोड ५० हजार ४३ लाख ५० हजार कित्ता रहेको छ । यस्तै तेह्रथुमको १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता, हिमालयन हाइड्रोपावरको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार, युनाइटेडको १० करोड ५० लाख रुपैयाँ बराबरको १० लाख ५० हजार र माउन्टेनले ३९ करोड ३६ लाख ५ हजार रुपैयाँ बराबरको ३९ लाख ३६ हजार रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न स्वीकृति प्राप्त गरेका हुन ।
नियमन आयोगले स्वीकृति दिएपछि अन्तिम अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनेछन । बोर्डले स्वीकृति दिएपछि औपचारिक रुपमा आईपीओ निष्कासनको बाटो खुला हुनेछ । आयोगले ५० प्रतिशत भौतिक प्रगति भएका आयोजनालाई मात्र आईपीओ निष्कासन गर्न अनुमति दिनेछ । जलविद्युत् कम्पनीले आईपीओ निष्कासन गरेको दुई वर्षपछि मात्र एफपीओ र हकप्रद सेयर निष्कासन गर्न पाउनेछन् ।
आईपीओ निष्कासनको रकम परिचालनका लागि स्पष्ट रणनीति तथा योजना साधारणसभाबाट पारित हुनुपर्ने, संस्थापकले कबुल गरेको सबै रकम भुक्तानी र परियोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भइसकेको हुनुपर्ने व्यवस्था जलविद्युत् आयोजनाको प्राथमिक सेयर निष्कासन निर्देशिकामा गरिएको छ । बोर्डले नियमन आयोगबाट स्वीकृति लिएपछि मात्र बोर्डले आईपीओको आवेदन लिने भनेपछि जलविद्युत् कम्पनी धमाधम नियमन आयोगमा पुगेका हुन् ।
पछिल्लो समयमा सेयर बजार घटेपछि अधिकाँश जलविद्युत कम्पनीको सेयर मूल्य १०० रुपैयाँ भन्दा कम छ । विद्युत् खरिद विक्रि सम्झौता (पीपीए)का लागि १ मेगावाट भन्दा कम क्षमताको सैदी हाइड्रोपावर कम्पनी लिमिटेडको आवेदन परेको आयोगले जानकारी दिएको छ ।