काठमाडौं। नेपाल धितोपत्र बोर्डबाट प्रिमियम मूल्यमा धितोपत्रको सार्वजनिक निष्काशन (आइपिओ) जारी गर्न स्वीकृति पाएको घोराही सिमेन्टले १९ वैशाख मंगलबारदेखि बिक्री खुला गरेको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपिओ निष्काशन खुला गरेको हो। कम्पनीले जारी पुँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको २० प्रतिशतले ७९ करोड ४३ लाख ८० हजार रुपैयाँ बराबरको ७९ लाख ७३ हजार ८०१ कित्ता साधारण सेयर निष्काशन गर्न स्वीकृति पाएको हो।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा आयोजना प्रभावित स्थानीयलाई ३०० रुपैयाँ प्रिमियम थप गरी ४०० रुपैयाँ प्रतिकित्तामा आइपिओ जारी गर्न स्वीकृति पाएको छ। यस्तै सर्वसाधाण्लाई १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँ प्रतिकित्तामा आइपिओ निष्काशन गर्ने स्वीकृति पाएको हो।
कम्पनीले जारी पुँजीको १ प्रतिशतले हुने ३ करोड ९७ लाख १९ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँका दरले तीन लाख ९७ हजार १९० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो।
उक्त सेयरमा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर. १, २, ३, ४, १४, १५, १७, १८, १९ तथा दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ३, ४ र रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ३, ४ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।