काठमाडौं। संघीय राजधानीको काठमाडौंको ‘प्राइम लोकेसन’ ज्ञानेश्वरमा लक्जरियस र प्रिमियम अपार्टमेन्ट ‘अभरा भिल्ला’ निर्माण भइरहेको छ।
आगामी दुई वर्षभित्र निर्माण सकेर हस्तान्तरण गर्ने उद्देश्यसहित आरभी ग्रुपले ज्ञानेश्वर आनन्द भैरव मार्गमा लक्जरियस र प्रिमियम अपार्टमेन्ट पारखी लक्ष्य गरी निर्माण गरिरहेको हो।
दुई रोपनी क्षेत्रफलमा निर्माण भइरहेको उक्त भिल्ला १२ तलाको हुनेछ। आरभी ग्रुपका सञ्चालक निसहित मित्तलका अनुसार अहिले भिल्ला निर्माण कार्य सुरु भइसकेको छ। दुई वर्षभित्रै अपार्टमेन्ट हस्तान्तरण गर्ने गरी काम अगाडि बढिरहेको र बुकिङ उत्साहजनक भइरहेको छ।
‘कूल १८ फ्ल्याट हुने हाम्रो अपार्टमेन्ट पूर्णरूपमा लक्जरियस र प्रिमियम हुनेछ,’ मित्तलले क्यापिटल नेपालसँग भने, ‘नेपालमा यसखालको अपार्टमेन्टको आवश्यकता थियो, जुन हामी पूरा गर्दैछौं।’
प्राइम लोकेसनमा लक्जरियस अपार्टमेन्ट भएकाले मूल्य पनि त्यही किसिमको राखिएको छ। अपार्टमेन्टमा एक फ्ल्याटको न्यूनतम मूल्य ५ करोड ४० लाखदेखि अधिकतम १४ करोड ५० लाखसम्म तोकिएको छ।
५ करोड ४० लाख मूल्यको फ्ल्याटले २ हजार १ सय ५२ वर्गफिट क्षेत्रफल ओगट्ने छ भने १४ करोड ५० लाख पर्ने फ्ल्याट ५ हजार ३ सय वर्गफिट क्षेत्रफलको हुनेछ।
अपार्टमेन्टभित्र पाँचतारे होटलसरह सुविधा पाइने छ। अपार्टमेन्टमा हरेक फ्ल्याटमा निजी ज्याकुजीसहित संयुक्तरूपमा हुने गरी स्विमिङ पुलको व्यवस्था हुनेछ।
योसँगै पाँचतारे स्तरकै क्लब हाउस समेत अपार्टमेन्टभित्र रहनेछ। जसका कारण अपार्टमेन्टमा बस्नेका लागि ‘रिफ्रेस’ हुन अन्यत्र जानुपर्ने बाध्यता समेत हटाउने छ।
अभरा भिल्ला काठमाडौं उपत्यकाभित्र रहेका अपार्टमेन्टमध्ये भिन्न हुनेछ। यसको डिजाइन पनि त्यही किसिमले गरिएको छ। पछिल्लो समय काठमाडौंमा लक्जरी अपार्टमेन्ट खोजी गनेको संख्या बढिरहेका बेला आरभी ग्रुपले त्यसको भोक मेटाउन लागेको हो।
अपार्टमेन्टभित्रै विद्युतीय गाडी (इभी) चार्ज गर्न चार्जिङ स्टेसनको व्यवस्थासमेत गरिने छ। अहिले भिल्लाको अग्रिम बुकिङ सुरु भइसकेको छ। हालसम्म ८/९ फ्ल्याट बुकिङ भइसकेको ग्रुपले जनाएको छ।
भिल्लाले अग्रिम बुकिङ गर्दा ३० प्रतिशत रकम बुझाउनुपर्ने सर्त राखेको छ। अपार्टमेन्ट खरिदकर्तालाई बैकिङ सुविधासमेत उपलब्ध गराउने ग्रुपले जनाएको छ।
अपार्टमेन्टले जग्गाबाहेकको मूल्य ७० करोड रुपैयाँ राखेको छ। पछिल्लो समय निर्माण सामाग्रीको भाउ बढेकाले निर्माण सम्पन्न अवधिसम्ममा यसको मूल्य केही बढ्न सक्ने जनाएको छ।