काठमाडौं । व्यावसायिक घरना आइएमई ग्रुपले बनाइरहेको लुम्बिनी केबुलकार केही दिनभित्र सञ्चालनमा आउने भएको छ।
ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले केही दिनभित्र लुम्बिनी केबुलकार सञ्चालनमा आउने जानकारी दिएका छन्। मौलाकाली केबुलकारको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सबै प्रदेशमा कम्तिमा एउटा केबुलकार सञ्चालनमा रहेको योजना रहेको उनले सुनाए।
बुटवलदेखि पाल्पासम्मको केबुलकारको लम्बाई ३ किलोमिटर छ। लुम्बिनी केबुलकार प्रालिले निर्माण गरिरहेको केबलकारको लागत साढे ३ अर्ब रुपैयाँ अनुमान गरिएको छ।
केबुलकारको तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते शनिबार शिलान्यास गरेका थिए । केबुलकारले बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्नेछ ।
बुटवल उपमहानगरपालिका ३ बमघाटमा केबुलकारको तल्लोस्टेसन र पाल्पाको तिनाउ गाउँपालिका ३ वसन्तपुरमा माथिल्लो अन्तिम स्टेसन रहने भएको छ। पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३, बसन्तपुर डाँडामा टपस्टेशन तथा होटल कम्प्लेक्स निर्माण हुने भएको छ।
वसन्तपुरमा कामेक्षा मन्दिर निर्माण र १५० कोठासहितको सुविधासम्पन्न होटल तथा रेष्टुरेन्टसमेत सञ्चालन गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ।
१० मिनेटको यात्रामै तराई र पहाड अनुभव तथा हिमाली दृश्यावलोकन गर्न सकिने कम्पनीको भनाई छ। बटम स्टेशनदेखि टपस्टेशन अर्थात वसन्त डाँडामा पुग्न १० मिनेट लाग्नेछ । मनोकेवल डिट्याचेवल गोन्डाला सिस्टम रहेको केवलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्नेछ।
गोण्डालाको संख्या २४ रहने छ । केवलकार टावर ९ वटा हुने कम्पनीले जनाएको छ । केवलकारको अन्तर्राष्ट्रिय केवलकार उत्पादक तथा परामर्शदाता कम्पनी डोपलमेयर रहेको छ ।
आईएमई ग्रुपको अगुवाइमा काठमाडौंको चन्द्रागिरीमा पनि रिसोर्टसहितको केवलकार सञ्चालनमा आइसकेको छ । सोही ग्रुपको लगानीमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोटमा रहेको धार्मिक तीर्थस्थल मौलाकाली मन्दिर जान केबुलकार सञ्चालन भइसकेको छ।