काठमाडौं। सेयर लगानीकर्ताहरुले अर्थमन्त्री प्रकाशशरण महतलाई ६ बुँदे माग पेश गरेका छन्। लगानीकर्ताका संगठनहरुले सोमबार अर्थमन्त्रीलाई भेटेर विभिन्न ६ बुँदे माग पेश गरका हुन्।
लगानीकर्ताहरुले अर्थमन्त्री समक्ष राखेका मागमा नयाँ ब्रोकर लाईसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ति कार्यान्वयन गर्न माग गरेका छन्। त्यस्तै १२ करोडसम्मको सेयर कर्जाको सिमाले सेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता लिनका लागि अनुरोध गरेका छन् ।
सेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरी दिन समेत माग गरेका छन्। लगानीकर्तालाई अल्पकालिन र दिर्घकालिन लगानीकर्ताको रूपमा विभाजन गरी सोहि अनुरूप अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पूँजीगत लाभकर लगाउने व्यवस्था गर्न अनुरोध गरेका छन्।
त्यस्तै विद्यमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गर्न समेत माग गरेका छन् । लगानीकर्ताले मन्त्री समक्ष तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकोले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गरिदिनु अनुरोध गरेका छन् ।
लगानीकर्ताको यी माग सम्बोधन भएमा शेयर बजारको गुणात्मक र परिमाणात्मक दीर्घकालीन विकास हुने, विश्वासिलो र भरपर्दो लगानी गन्तव्यको क्षेत्रको रूपमा पूँजी बजारलाई स्थापना गर्न सकिने लगानीकर्ताले बताएका छन् । अहिले करीब ५६ लाख ५० हजार हितग्राही खाता रहेको, १६ लाखभन्दा बढि लगानीकर्ताले अनलाईन प्रयोग गरेको, विगतमा ४४ खर्बको बजार पुँजिकरण र हाल २७ खर्ब ५० अर्बमा झरेको स्मरण गराएका छन् ।
सेयर बजारबाट सरकारलाई राजस्वको रूपमा विगतमा वार्षिक १५ अर्ब भन्दा बढि पूँजीगत लाभकर गएको समेत स्मरण गराएका छन् ।