काठमाडौं। बैंक तथा वित्तीय संस्थाजस्तै वायुसेवा (एयरलाइन्स) कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बन्न अब न्यूनतम योग्यता तोकिने भएको छ।
मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले चाँडै एयरलाइन्स सिइओ बन्न आवश्यक योग्यता समेटिएको कार्यविधि सार्वजनिक गर्ने तयारी गरिरहेको हो। उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले अबको केही समयभित्रै कार्यविधि सार्वजनिक गर्ने गरी आन्तरिक तयारी भइरहेको जानकारी दिए।
‘जसरी बैंक तथा वित्तीय संस्थामा सिइओ बन्न नेपाल राष्ट्र बैंकले न्यूतम योग्यता तोकेको छ,’ सूचना अधिकारी भूलले क्यापिटल नेपालसँग भने, ‘त्यसैगरी एयरलाइन्सको सिइओ बन्न पनि त्यस्तैखालको कार्यविधि ल्याउन लागिएको हो।’
हाल एयरलाइन्सहरूले सिइओकै भूमिकामा ‘एकाउन्टेबल म्यानेजर’ का रूपमा प्रमुख तोक्दै आएका छन्। लगानीका आधारमा उड्डयन क्षेत्रमा अनुभव नै नभएका व्यक्ति पनि एकाउन्टेबल म्यानेजर बनेर काम गरिरहेको भन्दै प्राधिकरणले हवाई सुरक्षा ध्यानमा राखेर नयाँ कार्यविधि ल्याउन लागेको जनाएको छ।
लगानीकर्ताहरू जो भए पनि सिइओ बन्न न्यूनतम योग्यता र अनुभव निर्धारण गर्न लागिएको भुलले बताए। त्यतिमात्र नभई, उड्डयन क्षेत्रमा काम गरेको न्यूनतम अनुभवको समयसमेत तोक्न लागेको उनले बताए। कार्यविधि तयार भएपछि निजी एयरलाइन्सलाई अनुगमन तथा निरीक्षणका गर्न प्राधिकरणलाई थप सहज हुने उनको भनाइ छ।
खासगरी राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममा राजनीतिक नियुक्तिका भरमा कार्यकारी अध्यक्ष वा महाप्रबन्धक नियुक्त भएकाले उड्डयन नियम मिच्न थालेको भन्दै त्यसलाई नियन्त्रण गर्न पनि प्राधिकरणले नयाँ कार्यविधि ल्याउन लागेको हो।
अहिले पनि निजी एयरलाइन्सका एकाउन्टेबल म्यानेजर बन्न प्राधिकरणको सेफ्टी विभागबाट अनुमति भने लिनुपर्छ। तर, कार्यविधिमै न्यूनतम योग्यता भने तोकिएको छैन।
यस्तै सरकारी एयरलाइन्सका हकमा भने कार्यकारी अध्यक्ष वा महाप्रबन्धक बन्नका लागि नियमन गर्ने गतिलो नीति नभएकै कारण प्राधिकरणले यसतर्फ बढी जोड दिइरहेको जनाएको छ।
पछिल्लो समय हवाई क्षेत्रमा विभिन्न किसिमका दुर्घटना बढेसँगै प्राधिकरणले एयरलाइन्सलाई कडाई गरिरहेको छ। एयरलाइन्समा पछिल्लो समय मानवीय त्रुटिकै कारण धेरै समस्या आइरहेका कारण सम्बन्धित एयरलाइन्सको एकाउन्टेबल म्यानेजरलाई कडाई गर्न नयाँ कार्यविधिले राम्रो काम गर्ने प्राधिकरणको ठहर छ।
एक हेलिकोप्टर कम्पनीका एकाउन्टेबल म्यानेजरका अनुसार प्राधिकरणले ल्याउन लागेको नयाँ कार्यविधिले उड्डयन सुरक्षामा सहज हुने बताए।
अहिले लगानी गरेका आधारमा एकाउन्टेबल म्यानेजर बनिरहेको बताउँदै अनुभव र योग्यता पुगेकालाई मात्र जिम्मेवारी दिने नीति ल्याउन लागेकोमा उनले खुसी व्यक्त गरे। प्राधिकरणले जतिसक्दो चाँडो यो खालको कार्यविधि ल्याएर मुलुकको हवाई सुरक्षा मजबुत बनाउने विषयमा आफूहरुको साथ रहने उनको भनाइ छ।
हाल मुलुकमा अन्तर्राष्ट्रिय उडानमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उडान गर्दै आएका छन्। यस्तै आन्तरिकतर्फ बुद्ध, यती, श्री, सौर्य, समिट, तारा र गुण एयरलाइन्सले उडान गर्दै आएका छन्। हेलिकोप्टरतर्फ सिम्रिक, श्री, अल्टिच्युड, हेली एभरेस्ट, एयर डाइनेस्टी, फिसटेल, मनाङ, मुस्ताङ, प्रभु, कैलाश र अन्नपूर्णले उडान गर्दै आएको छ।