काठमाडौं। मेलम्ची खानेपानी आयोजनाबाट २०८० को वर्खामा काठमाडौंमा पानी नआउने भएको छ। खानेपानी विकास समिति र खानेपानी मन्त्रालयले यो वर्ष पानी नियमित रुपमा ल्याउने योजना बनाएका थिए।
तर, आवश्यक पूर्व तयारी हालसमम नगरिएको र अब गर्ने सम्भावना कम हुँदै गएपछि यो वर्ष पन पानी बन्द हुने सम्भावना बढेको विकास समितिका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) राजेन्द्रप्रसाद पन्त बताउँछन्।
उनका अनुसार आयोजनाको सुरुङ भित्र बाढीले ढुंगा, माटो, बालुवाको गेग्रान ल्याउने गर्छ। जसका कारण सुरुङमार्गमा असर हुने भएकाले बन्द गर्नुपर्ने बाध्यता छ।
क्यापिटल नेपालसँग सिडिई पन्तले भने, ‘यो वर्ष पानी ल्याउने योजना थियो अहिलेसम्म तयारी गर्न पाइएको छैन, अब ठेक्का आह्वान गरेर काम गर्ने सम्भावना कम हुँदैछ।’ सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट भाषण गर्दा खानेपानी विकास समिति खारेज गर्ने घोषणा गरेको थियो।
तर, समिति खारेज गरेपछि आयोजनाको काममा असर पर्ने भन्दै मन्त्रालयले पुन समिति गठन गर्नुपर्ने जनायो। सो अनुसार २०७९ चैत २७ गते मन्त्रिपरिषद्को बैठकले विकास समिति पुन गठन गरेको छ।
समिति नभएसम्म आयोजनामा काम गर्ने निर्णय हुन सकेको थिएन भने वर्खा सुरु हुने बेलामा भएको समिति पुनर्गठनले तत्काल काम सुरु गर्न सक्ने अवस्था पनि छैन। समितिमा सहस्यको संख्या नै पूरा नभएकाले पनि यो वर्ष वर्खामा पानी ल्याउने गरी काम हुन सक्दैन।
गत मंसिर १२ गते मेलम्ची खोलाबाट सुरुङका पानी पठाएर मंसिर २१ गते काठमाडौंका वितरण भएको थियो। त्यसयता नियमित आएको पानी तत्कालको वर्षाले बन्द गर्नु पर्दैन। यद्यपि प्रि–मन्सुन सुरु भएपछि भने बन्द गर्नुपर्ने हुन्छ।
त्यस्तै समिति खारेज भएपछि २०७९ असोज महिनादेखि विकास समितिमा कार्यरत ६८ जना कार्मचारीले तलब पाएका थिएनन्। समिति पुनर्गठन भएपछि भने तलब पाएको सिडिई पन्त बताउँछन्। तर, साउनबाट बढेको रकम भने त्यसमा जोडिएको छैन।