काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त र सहकारीलाई श्रम र उत्पादनमा केन्द्रित गर्नुपर्ने बताएका छन्। आइतबार दिउँसो सिंहदरबारमा किसान संगठनहरूका प्रतिनिधिहरूसँगको संयुक्त भेटमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।
‘लघुवित्त र सहकारीहरू वित्तीय कारोबारमा संलग्न हुँदा एकातर्फ वित्तीय अराजकता र नियमनमा समस्या देखिएको छ, अर्कोतर्फ उत्पादनको क्षेत्र ओझेल परेको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘यिनीहरूलाई श्रम र उत्पादनको क्षेत्रमा केन्द्रित गर्नुपर्छ। नीतिमा नै आवश्यक व्यवस्था गरेर यससम्बन्धी समस्या समाधान गर्छौं।’
उनले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको पनि बताए। ‘कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ।
यसपटकको नीति, कार्यक्रम र बजेटमा उत्पादन र रोजगारी सिर्जनाका लागि नयाँ कार्यक्रम ल्याउने तयारी गरिरहेका छौँ,’ दाहालले भने ‘तपाईंहरूले दिनुभएको ध्यानाकर्षण पत्रले पनि सरकारलाई नयाँ ढंगले सोच्न सहयोग पुग्ने ठानेको छु। उत्पादनमा सम्पूर्ण तागत केन्द्रित नगरी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिँदैन।’
उनले आफ्नो सरकारले राम्रो काम गरिरहेको पनि दाबी गरे। ‘कतिपयले यो सरकारका राम्रा काम देखिरहेका छैनन्। तर, ४ महिनामा निकै राम्रा काम भएका छन्। लक्ष्यअनुसार नभए पनि राजस्व संकलनमा राम्रो सुधार आएको छ।
विदेशी मुद्राको वञ्चिति उत्साहवर्द्धक रूपमा बढेको छ,’ दाहालले भने, ‘पर्यटक आउने क्रममा सुधार आएको छ। अर्थतन्त्रका अधिकांश सूचकमा सकारात्मक सुधार आएको छ।’ उनले सम्पूर्ण रूपले अर्थतन्त्रमा सुधार ल्याउन छलफल र अन्तरक्रियामा रहेको जानकारी दिए। केही समयमा सकारात्मक नतिजा देखिने उनको भनाइ छ।