चितवन। चितवन, नवलपरासी र तनहुँको दृश्यावलोकन गर्न बनाइएको ‘भ्युटावर’ जस्तै गरी नारायणगढको काखमा रहेको गैँडाकोटको शिर मौलाकाली मन्दिरमा यतिबेला पर्यटकको चहलपहल बढेको छ। नयाँ वर्षसँगै यहाँ सञ्चालनमा आएको केबुलकारले यहाँको पर्यटकीय गतिविधि बढाएको हो।
मौलाकालीको फेदीबाट छोटो दूरीको केबुलर चढेर मन्दिरसम्म पुग्न सक्ने भएपछि मन्दिर दर्शनमा जाने भक्तजनलाई सहज भएको छ। यसका साथै सहरको रमझम र प्राकृतिक दृश्यावलोकनमा रमाउन चाहनेका लागिसमेत मौलाकाली एक उत्कृष्ट गन्तव्य भएको छ्।
यहाँबाट नवलपरासी, चितवन, तनहुँ, गोर्खाका अग्ला डाँडा, भञ्ज्याङ, भिरपाखा र हिमशृङ्खलाका साथै सुप्रसिद्ध तीर्थस्थल देवघाटधाम, चितवनको समथर भूमि, राष्ट्रिय निकुञ्जको जङ्गल तथा मौलाकालीलाई दाहिने पारेर सलल बगेको नारायणी नदी अवलोकन गर्न सकिन्छ।
देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवन आउने पर्यटकका लागि मौलाकाली पनि एक धार्मिक पर्यटकीय गन्तव्य बनेको यहाँका स्थानीय पर्यटन व्यवसायी बताउँछन्। स्वदेशी एवं विदेशी पर्यटक पुग्ने चितवनका पर्यटकीय गन्तव्यमा केबुलकारको सञ्चालनसँगै अर्को एक गन्तव्य पनि थपिएको स्थानीय पर्यटन व्यवसायीको भनाइ छ।
यहाँ जङ्गल सफारीका लागि आउने पर्यटकका लागि थप गन्तव्य बनेको क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरे बताउँछन्। उनले भने, “यसले चितवनको पर्यटन प्रवर्द्धनका र्लागि निकै सहयोग पुग्ने हामीले ठानेका छौँ । हामीले यहाँ आउने पर्यटकलाई घुमाउने गन्तव्यमा अब मौलाकाली पनि थपिएको छ। त्यसैले यहाँ आउने पर्यटकको बसाई लम्ब्याउन यसले थप सहयोग गर्छ भन्ने हाम्रो बुझाइ छ।” केबलकार चढ्न आउने जङ्गल सफारी जाने र सफारी गर्न आउने केबुलकार चढ्न सक्ने भएकाले चितवन आउने पर्यटकको बसाई लम्ब्याउन सहयोग पुग्ने उनको भनाइ छ।
नारायणगढबाट नारायणी नदीको पुल पार गर्नेबित्तिकै दाहिनेतर्फ दुई किलोमिटरमा मन्दिरको फेदीको प्रवेशद्वार पुगिन्छ। त्यहाँबाट केबुलकारको पाँच मिनेटको यात्रामा मन्दिर नजिकै पुग्न सकिन्छ।
मौलाकाली सामुदायिक वन र मौलाकाली धार्मिक वनभित्र रमणीय हरियाली वातावरण छ। केबुलकारबाट पनि यो प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ। मौलाकाली मन्दिर पूर्वी नवलपुरको गैँडाकोटस्थित पूर्वपश्चिम राजमार्गको नारायणी–पुलबाट उत्तरतर्फ करिब चार किलोमिटर टाढा छ।
समुद्र सतहदेखि पाँच सय ६१ मिटर उचाइमा पहाडी वनको धुरीमा मौलाकालिका मन्दिर अवस्थित छ। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले गैँडाकोटमा केबुलकार सञ्चालनमा आउँदै गर्दा यसको प्रत्यक्ष लाभ भरतपुरले प्राप्त गर्ने बताउँछिन्। यसले भरतपुर क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाइ छ। उहाँले भनिन्, “मौलाकालीमा केबुलकार चल्दै गर्दा यहाँ पर्यटकको बसाई लम्बिने छ। यसका साथै चितवनमा अर्को एक पर्यटकीय पूर्वाधार थपिएकामा हामी खुसी छौँ।”
पछिल्लो समय सो केबुलकारसँगै प्याराग्लाइडिङसमेत सुरु भएको भन्दै उनले सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउने तयारी गरिरहेकाले समयमा यी गन्तव्य महत्वपूर्ण हुने बताइन्। यसले भरतपुर क्षेत्रको आर्थिक गतिविधि बढाउन थप सहयोग पुग्ने उनको विश्वास छ।
केबुलकार सञ्चालनमा आएपछि यहाँ २० प्रतिशतभन्दा बढी भक्तजन थपिएको र यो सङ्ख्या बढ्दै जाने देखिएको उनले बताए ।
विसं २०३८ देखि संस्थागत पूजाअर्चनाका साथै जनसहभागितामा विकास निर्माण कार्य गरिँदै आएको र विसं २०५३ मा प्यागोडा शैलीमा ठूलो मन्दिर निर्माण भएपछि धार्मिक तथा अन्य पर्यटकको सङ्ख्या उल्लेखनीयरुपमा बढेको छ ।
स्थानीय बासिन्दा र निजी क्षेत्रको साझेदारीको नमूना परियोजनाका रुपमा छोटो समयमै यहाँ केबुलकार निर्माण सम्पन्न भएको छ । “यहाँ केबुलकार सञ्चालनमा आएपछि गैँडाकोट र नवलपुरलाई मात्रै नभई छिमेकी जिल्लालाई समेत हरेक तरिकाबाट फाइदा पुग्ने स्थानीयको भनाइ छ । यो आयोजनाबाट पर्यटन, कृषि, व्यवसाय, होटल रेस्टुराँ, रोजगारी सिर्जनासहित धेरै तरिकाले स्थानीयलाई फाइदा पुग्ने यहाँका जनप्रतिनिधिहरु बताउँछन् ।
केबुलकार आयोजनामा ५१ प्रतिशत शेयर मुख्य लगानीकर्ता आइएमइ समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहको छ। केबुलकारले स्थानीयसहित करिब चार सय व्यक्तिलाई रोजगारी दिने कम्पनीको भनाइ छ ।
यसका साथै मौलाकाली मन्दिर नजिकै अत्याधुनिक रिसोर्ट निर्माणाधीन अवस्थामा छ। मन्दिर नजिक रहेको हेलिप्याडमा केबुलकारको टपस्टेशन निर्माण भएको छ भने मौलाकाली फेदीमा रहेको धारापानीमा बटम स्टेशन निर्माण भएको छ।
केबुलकारले एकतर्फी लम्बाई एक हजार दुई सय मिटर छ। यसका लागि छ वटा टावर निर्माण गरिएको छ। केबुलकारमा १४ डब्बा (गोन्डला) रहेका छन्। एउटा डब्बामा एक पटकमा आठ जना यात्रु अटाउने क्षमता छ। हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न पाँच मिनेट लाग्दछ।
केबुलकार सञ्चालनमा आएपछि प्रतिदिन ६ हजार यात्रु आवतजावत गराउन सकिने क्षमता रहेको छ। केबुलकारका लागि ५६ रोपनी जग्गा अधिग्रहण गरिएको छ। कम्पनीले त्यसबापत सरकारलाई ५८ रोपनी जग्गा सट्टाभर्ना दिएको छ। कम्पनीले पूर्वी नवलपरासीकै मिथुकरम (दुर्गम पहाडी) गाउँको जग्गा किनेर सरकारलाई दिएको हो।
देशको पूर्वपश्चिम यात्रा गर्ने व्यक्ति अधिकांश नारायणगढ पुग्नुपर्छ। नारायणगढमा कुनै व्यक्ति दुई घण्टामात्र अडिनुपर्ने अवस्था आयो भने पनि उसले मौलाकालिका पुगेर दर्शन र दृश्यावलोकन गरेर सजिलै ओर्लिन सक्छ। त्यसैले यहाँका स्थानीय पर्यटन व्यवसायीले पनि यसलाई छोटो समयकै एक आकर्षक गन्तव्यका रुपमा लिएका छन्। रासस