नेपालमा पछिल्लो समय अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ‘चेन होटल’ प्रवेशको लहर बढेको छ। होटलमा जति लगानी थपिएको छ, त्यति नै मात्रामा चेन होटल आउने क्रम बढेको छ। यसबाट नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा थप चिनाउन र व्यापार बढाउनसमेत राम्रो सन्देश गइरहेको छ। चेन होटलका सञ्जालभरि नै नेपालको पनि प्रचार हुने गरेकाले यसलाई ‘फ्रि अफ कस्ट’ (निःशुल्क) विज्ञापन भन्न सकिन्छ।
नेपालमा आएका चेन होटलमध्ये मेरिअट संसारको ‘फास्टेट ग्रोइङ’ चेन होटल हो। संसारभरि अहिले दैनिक एक होटल मेरिअट ब्रान्डमा आबद्ध भइरहेको छ। नेपालमा मेरिअट आउँदा विश्वभरि यही ब्रान्डमा ५ हजार होटल थिए भने अहिले ८ हजार ५ सयभन्दा बढी पुगिसकेका छन्। अर्थात, अहिले संसारभरि दैनिक एक होटल मेरिअट ब्रान्डमा खुलिरहेको छ।
र, हामीले पनि नेपालमा होटल सञ्चालन गर्ने योजना बनाएपछि विदेशी व्यवस्थापक ल्याउने सोचमा अगाडि बढ्दा मेरिअट नै रोजाइमा परेको थियो। म आफैं पनि विदेश भ्रमण जाँदा धेरैजसो मेरिअट होटलमै बसेकाले पनि यसले दिने सेवा र सुविधाबाट सन्तुष्ट भएकाले यसप्रति लगाव बढेको हो।
अन्य ब्रान्डले नेपालमा प्रवेश गरिसकेको र मेरिअटले पनि चासो देखाइरहेका बेला हाम्रो प्रस्तावलाई सहजै स्वीकार गरेको हुनसक्छ। त्यसअघि हामीले ४/५ वटा ब्रान्डसँग पनि छलफल भने गरेका थियौं।
चेन होटल ल्याउनुको पहिलो फाइदा भनेको विदेशी पर्यटकलाई आफ्नो होटलमा सहजै राख्न सकिन्छ भन्ने नै हो। अहिले विश्वव्यापीरूपमा घुम्ने पर्यटकले चर्चित ब्रान्डका होटल नै रोज्ने गरेका छन्। ब्रान्डसँगको विश्वासलाई नेपालसँग जोड्नका लागि पनि मेरिअटलाई नेपाल ल्याएका हौं।
घुम्न निस्किँदा सकेसम्म चेन होटल छ भने चेनमै बस्न रुचाउने पर्यटक संख्या धेरै रहेकाले पनि धेरैको रोजाई यसमा पर्दै आएको छ। अहिले नेपालमा रहेका होटलमध्ये मेरिअटको व्यापार उच्च छ। आफ्नो लगानीको प्रतिफल पनि छिट्टै पाइने र लगानीसमेत सुुरक्षित हुने भएकाले अहिले धेरैको रोजाइ चेन होटलमा परिरहेको छ। जुन नेपालका लागि सुखद पक्ष हो।
चेन होटल आउने लहर बढिरहेका बेला नेपालबाट नाफाको अधिकतम पाँच प्रतिशमात्र रकम लैजान पाउने नीतिले भने केही हच्किएका छन्। यसअघि ११ प्रतिशतसम्म लैजान पाउने नियम भए पनि पछिल्लो संशोधनमा पाँच प्रतिशत कायम गरिँदा केही चेन होटलले नेपालमा आउन हस्ताक्षर गर्नसमेत हिच्किचाइरहेका छन्।
होटल व्यवस्थापनवापत विदेशमा पैसा लैजान पर्यटन मन्त्रालयबाट सिफारिस लिएर उद्योग विभाग र नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्छ। संसारभरि ‘वान स्टेप सेन्टर’ लागू भइरहेका बेला नेपालमा भने विभिन्न विभागमा पुग्नुपर्ने बाध्यता अझै छ र त्यो हटाउनुपर्छ। उद्योग विभागमा गरिएको सम्झौता देखाएपछि बैंकबाट सिधै रकम पठाउनुपर्ने व्यवस्था लागू गर्नुपर्छ।
किनकि, हामीले गर्ने सम्झौता त पहिला नै गरिसकेको हुन्छ। सम्झौता गरिसकेपछि त पछि त्यहीअनुसार कार्यान्वयन गर्नुपर्छ। त्यसैले हरेक विषयमा आवश्यक समन्वय गरेर लैजान आवश्यक छ।
नेपालमा चेन होटल जति धेरै आयो, पर्यटकलाई त्यति नै फाइदाजनक हुन्छ। पर्यटक पुनरागमन पनि वृद्धि हुन्छ। चेन होटल आयो भने अन्तर्राष्ट्रिय जगतमा समेत सकारात्मक सन्देश जाने भएका कारण नेपालले आवश्यक सहजीकरण गरिदिनुपर्छ।