एजेन्सी। गत वर्ष सन् २०२२ ले विश्वमा विद्युतीय कार (इभी) उत्पादनमा नयाँ कीर्तिमान कायमा गरेको छ।
विश्वमा गत वर्ष कूल १ करोड ३ लाखथान विद्युतीय गाडी (इभी) उत्पादन भएको थियो। यसमा १५ कम्पनीको हिस्सा ८० प्रतिशत छ।
कुल उत्पादन मध्ये ८३ लाख ७२ हजार ७ सय ८९ थान विद्युतीय गाडी विभिन्न १५ कम्पनीले उत्पादन गरेका छन्। बाँकी १९ लाख २७ हजार २ सय ११ थान अन्य अटो कम्पनीको हिस्सा रहेको छ।
वार्षिक उत्पादनले पहिलो पटक १ करोडथान पार गरेको हो। २०२१ मा ६७ लाखथान उत्पादन भएको थियो। सबैभन्दा बढी जिली अटो ग्रुपको २ सय ५१ प्रतिशत वृद्धि रहेको छ। दोस्रो वृद्धि हुनेमा बिवाइडी रहेको छ।
चीनको इभी निर्माता बिवाइडी अटोले अमेरिकाको टेस्ला कार कम्पनीलाई उछिन्दै नयाँ ‘इभी किङ’ बन्न सफल भएको छ। २०२२ मा बिवाइडीको इभी कार उत्पादन २ सय ११ प्रतिशतले बढेको छ। कम्पनी सम्भवतः एकै वर्षमा २० लाखभन्दा बढी इभी उत्पादन गर्ने विश्वको पहिलो अटोमेकर बनेको छ।
बिवाइडीले १८ लाख ५८ हजार ३ सय ६४ थान विद्युतीय कार उत्पादन गरेको छ। यस्तै टेस्लाले १३ लाख १९ हजार ३ सय १९, जिएमले ५ लाख ८४ हजार ६ सय,हुण्डाइले ४ लाख ९७ हजार ८ सय १६ विद्युतीय गाडी उत्पादन गरेको छ।
बिवाइडी गैरघरेलु बजारमा सीमित उपस्थिति छ। तर, यो चाँडै परिवर्तन हुनसक्छ। कम्पनीले युरोपमा ठूलो धक्का दिने योजना बनाइरहेको छ। कम्पनीले अस्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतजस्ता बजारका लागि दायाँ हात (राइट ह्यान्ड) ड्राइभ मोडेल उत्पादन गर्न थाइल्यान्डमा कारखाना पनि निर्माण गरिरहेको छ।
टेस्लाले २०२२ मा आफ्नो उत्पादनलाई ४० प्रतिशत बढायो। चिनियाँ ब्रान्डले आफ्नो तीन अंकको वृद्धिदर कायम राख्न सक्छन३ कि सक्दैनन् भन्ने अनिश्चित छ। तर, एउटा कुरा स्पष्ट छ टेस्लाले पहिलेभन्दा धेरै प्रतिस्पर्धाको सामना गरिरहेको छ।
कम्पनीले आगामी २०३० सम्ममा वार्षिक २० लाखथान इभी उत्पादन गर्ने लक्ष्य राखेको छ। यसको मतलब यो दशकको बाँकी अवधिमा वार्षिक वृद्धि दर उच्च दोहोरो अंकमा राख्न आवश्यक छ। यस पहललाई समर्थन गर्न टेस्लाले एक वर्षमा १० लाख कार उत्पादन गर्न सक्षम मेक्सिकोमा बहुअर्ब डलर कारखाना निर्माण योजना बनाइरहेको छ।
हुन्डाई मोटर कम्पनीले टेस्ला समान वृद्धिदर पोस्ट गरेको छ। दक्षिण कोरियाली अटोमेकर इभी स्पेसमा अपेक्षाकृत प्रारम्भिक खेलाडी थियो। २०१६ मा पहिलो ‘आएओनिक इभी’ गाडी ल्यायो। २०२२ उत्तराद्र्धमा दक्षिण कोरियालगायत धेरै देशले अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको मुद्रास्फीति न्यूनीकरण ऐनप्रति असन्तुष्टि व्यक्त गरे। जसले अमेरिकामा उत्पादन नगरिएका इभीमा कर क्रेडिट फिर्ता लियो।
हुन्डाईले हाल अमेरिकाको जर्जिया राज्यमा साढे ५ अर्ब डलरमा इभी कारखाना निर्माण गरिरहेको छ। यो इभी प्लान्ट २०२५ सम्म सञ्चालन हुनेछैन। यसबीचमा दक्षिण कोरियाले घरेलु ब्रान्डका पक्षमा आफ्नो इभी सब्सिडी कार्यक्रम परिमार्जन गरेको छ।
दैनिक ५० लाख ब्यारेल पेट्रोलियम खपत घटाउने
विश्वभरि विद्युतीय सवारीसाधन माग बढ्दै गएको छ। माग बढेपछि बिक्री पनि बढिरहेको छ। एक प्रतिवेदनअनुसार यो वर्ष बिक्री हुने पाँच सवारीसाधनमध्ये एउटा इभी हुने अपेक्षा छ।
चालू दशकको अन्त्यसम्ममा दैनिक ५० लाख ब्यारेल इन्धन खपत अन्त्य हुनेछ। हाल विश्वमा १० करोड ब्यारेल इन्धन दैनिक खपत भइरहेको छ।
इभीसम्बन्धी वार्षिक प्रतिवेदनमा यो वर्ष त्यस्ता सवारीसाधन बिक्री ३५ प्रतिशतले बढेर १ करोड ४० लाखथान पुग्ने अपेक्षा छ। यो २०२० को चार प्रतिशत बजार हिस्साको तुलनामा १८ प्रतिशतले बढी हो।
प्रतिवेदनअनुसार चीन, अमेरिका र युरोपेली देशका बजारमा इभी माग अधिक छ। गत वर्ष यस्ता गाडीको ६० प्रतिशत बजार चीनले ओगटेको थियो।
इभी खरिदमा अमेरिकाले सहुलियत प्रदान गर्ने नीति अवलम्बन गरेसँगै अमेरिकी उपभोक्ता पनि त्यसतर्फ आकर्षित भएकाले आगामी वर्ष इभी बिक्री बढ्ने अपेक्षा छ।
२०३० सम्म युरोपेली मुलुक, अमेरिका र चीनले ६० प्रतिशत इभी हिस्सा ओगट्ने प्रक्षेपण गरिएको छ।