काठमाडौं। थोरैमात्र यस्ता भाग्यमानी हुन्छन्, जसले संस्थामा आबद्ध भएको छोटो समयमै नेतृत्वदायी पद पाउँछन्। जसको ‘इन्ट्री’ नै ‘पावरफुल’ पदमा भएको हुन्छ। त्यस्तो पद पाउने भाग्यमानीमा पर्छन् होटल व्यवसायी विनायक शाह।
शाहलाई ५८ वर्ष पुरानो होटल एसोसिएसन नेपाल (हान) अध्यक्ष हुन धेरै अवधि कुर्नुपरेन। हानमा आबद्ध भएको ११ वर्षमै उनले नेतृत्व गर्न सफल भएका छन्।
दुईपटक महासचिव र एकपटक प्रथम उपाध्यक्ष बनेका शाह हानका १४औं अध्यक्ष बनेका छन्। तीनतारे होटल एयरपोर्टका प्रबन्ध निर्देशक शाह सन् २०१२ मा महासचिवका रूपमा हान प्रवेश गरेका थिए।
सामान्यतया हान पदाधिकारी हुन एक कार्यकाल केन्द्रीय सदस्य बनेको हुनुपर्छ। तर, शाहको हकमा त्यो लागू भएन। यतिसम्म कि उनले आफ्नो होटल २०११ मा सुरु गरेका थिए भने हान महासचिव २०१२ मै बने।
छोटो समयमै कार्यकारी पद कसरी मिल्यो त भन्ने जिज्ञासा धेरैको रहन्छ। शाहका अनुसार हान महासचिव उनको चाहनाभन्दा त्यो बेला अध्यक्ष बनेका बिके श्रेष्ठ (स्वर्गीय) को प्रमुख चाहना थियो। श्रेष्ठले आफू अध्यक्ष बनिरहँदा महासचिवमा शाहलाई ल्याउनुपर्ने सर्त राखेका थिए। जुन, त्यसबेला सर्वसम्मत स्वीकृत भएको थियो।
त्यसोभए अध्यक्ष श्रेष्ठले शाहलाई ल्याउन सर्त नै राख्नुपर्ने बाध्यता कसरी आइपर्यो त?
श्रेष्ठ र शाहको सम्बन्ध होटल क्षेत्रमा आबद्ध हुनुअघि देखि नै थियो। श्रेष्ठले शाहसँग नेपाल जर्मन चेम्बर अफ कमर्समा अध्यक्ष रहँदा धेरै काम गरेर मन जितिसकेका थिए। त्यही भएर श्रेष्ठ हान अध्यक्ष बनिरहँदा शाहलाई महासचिव प्रस्ताव गरेका थिए।
१६ वर्षे सरकारी जागिरको कथा
शाहले नेपाल जर्मन चेम्बर अफ कमर्स, युरोपियन युनियन, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्समा काम गरिसकेको थिए।
‘म पहिला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्र्तगत व्यापार प्रर्वद्धन केन्द्रमा थिएँ। त्यहाँ करिब १६ वर्ष काम गरेँ,’ शाहले क्यापिटल नेपालसँग अनुभव बाँडे, ‘उच्च शिक्षा अध्ययन सकिएलगत्तै सरकारी सेवा सुरु गरेको थिएँ। मेरो काम नेपाली उत्पादन समुद्रपार (युरोप, अमेरिका, जापान, अस्ट्रेलिया) लगायत देश लगेर प्रचारप्रसार गर्ने हुन्थ्यो।’
त्यो बेला त्यहाँका ठुल्ठूला एजेन्सीहरू युनाइटेड नेसन, युरोपियन युनियनसँग मिलेर काम गरेका थिए। त्यसैगरी तिब्बतबाट दलाई लामासहितलाई देश निकाला गरेपछि एक हुल जमात काठमाडौंमा पनि आएका थिए। उनीहरूको जीवनयापन सहज बनाउन सरकारले विदेशी दातासँग मिलेर कार्पेट उद्योग खोलेका थियो। उत्पादित कार्पेटलाई अन्तर्राष्ट्रिय बजार लगेर बेच्न व्यापार प्रवर्द्धनका लागि शाहको टोली जाने गरेको थियो।
‘म त्यसबेला नेतृत्वकर्ताका रूपमा काम गर्न धेरैपटक विदेश गएको छु। मैले त्यो काम १६ वर्ष गरेँ,’ शाह सम्झिन्छन्, ‘विदेशमा हुने अधिकांश ट्रेड फेयरमा सहभागिता जनाएको छु। त्यो बेला नेपाली कार्पेट किन्ने विदेशका धनाढ्यमात्र हुन्थे।’
पछि मुलुकमा राजनीतिक परिवर्तन भयो। त्यसपछि बन्ने मन्त्रीहरूले उनलाई ठकुरी भएकै कारण दरबारसँग नजिक रहेको आरोप लगाउँदै विदेशमा हुने कार्यक्रममा आफूनिकटलाई पठाउन दबाब दिन सुरु भयो।
‘र, मैले पनि म नगई जर्मनीमा भएको ट्रेड फेयरमा अर्को व्यक्ति पठाएँ। विडम्बना त्यो बेला त्यहाँका एजेन्सीले तिमी नआएर अर्को व्यक्तिलाई पठाएको भन्दै रिसाए। त्यो मान्छेलाई पनि तीन दिनमै जर्मनीबाट फर्काइदिए,’ शाह भन्छन्, ‘जर्मनहरू त्यो बेला यति धेरै रिसाए उनीहरूले सरकारसँगको सम्झौतासमेत भंग गरे।
त्यसपछि म सरकारी जागिर छाडेर व्यवसायी तथा पूर्वसांसद दिव्यमणि राजभण्डारीलाई अध्यक्ष बनाएर नेपाल जर्मन चेम्बर अफ कमर्स स्थापना गरे। र, जर्मन परियोजना चेम्बरमार्फत सञ्चालन भयो। त्यो बेला हामीले धेरै काम गर्यौं।’
त्योसँगै शाह व्यापारमा होमिए। विश्वप्रदर्शनीका काम सुरु गरे। जर्मनसँगको समन्वयमा धेरै प्रर्दशनी आयोजना गरे। हालसम्म १२ वटा एक्स्पो गरिसकेका छन्। एक्स्पोका क्रममा धेरै विदेश दौडधुप गरे। उमेर पनि ढल्किँदै गएकाले होटल क्षेत्रमा लगानी गरेर केही नयाँ गर्ने सोचसाथ २०११ मा एयरपोर्ट होटल सुरु गरँ।
होटल सञ्चालनमा ल्याएको एक वर्षछि २०१२ मा हानमा आबद्ध भए। बिके श्रेष्ठ नेपाल जर्मन चेम्बरका अध्यक्ष थिए। त्यसबेला बिकेसँग धेरै समय काम गरेको हुनाले उनलाई हानको महासचिव बनाइदिए।
कार्ययोजना कस्तो?
२०२२ सालबाट सुरु भएको ५८ वर्षे हान इतिहास जोगाउँदै अझ राम्रो बनाउन लाग्ने प्रतिबद्धता शाहले जनाएका छन्। ‘नेपालमा होटल व्यवसाय सञ्चालन गर्ने व्यवसायी सदस्यका हकहितमा काम गर्नेदेखि व्यापार प्रवर्द्धनका काम गर्छु,’ उनले भने, ‘यतिमात्र नभई होटल व्यवसायीलाई परेका नीतिगत अप्ठ्यारा सहज बनाउँदै अगाडि बढ्ने योजना छ।’
शाहका अनुसार अहिलेको सबैभन्दा ठूलो समस्या भने बैंकको ब्याजदर हो। कोभिडका बेला व्यापार शून्यमा झरेर अहिले भर्खरै उकालो लाग्न थालेको छ। चालू आर्थिक वर्ष केन्द्रीय बैंकको मौद्रिक नीतिले होटल व्यवसायीका समस्याबारे कुनै सुनुवाई गरेको छैन।
‘बैंकहरूले अहिले धरपकड गरिरहेका छन्। हरेक तीन/तीन महिनामा होटल व्यवसायीलाई निकै समस्या पर्ने गरेको छ,’ नवनियुक्त अध्यक्ष शाहले भने, ‘भैरहवामा पछिल्लो समय एनआइसी एसिया बैंकले होटलहरूमा ताला लगाइरहेको छ। यो मुद्दालाई विशेष अभियानसाथ अगाडि बढाउने छु।’
होटल क्षेत्रमा नेपालको बजेटभन्दा ठूलो रकम लगानी भएको छ। ११ लाखभन्दा बढीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी मिलिरहेको छ। यति हुँदाहुँदै सरकारले होटल क्षेत्रलाई दिनुपर्ने सुविधा नदिएको उनको भनाइ छ।
’हामीलाई अहिलेसम्म उद्योगको मान्यता नदिई सेवा व्यवसायका रूपमा हेरिँदै आएको छ, जसका कारण राज्यले दिने नीतिगत सुविधासमेत होटल क्षेत्रले पाउन सकेको छैन्,‘ उनले भने, ‘जसका कारण एउटा उद्योगले तिर्ने बिजुली शुल्क र होटलले तिर्ने शुल्क भिन्न छ।’
उनका अनुसार अहिले पाँचतारे होटलले महिनाकै करोड रुपैयाँसम्म बिजुली महसुल तिर्दै आएका छन्। होटलले एक युनिटको १६/१७ रुपैयाँ तिर्नुपर्छ। तर, उद्योगले ६/७ रुपैयाँमै पाउने गरेका छन्। पर्यटन क्षेत्रले यति धेरै योगदान दिँदा पनि सरकारले होटल क्षेत्रलाई हेर्ने दृष्टिकोणमा फरक भएको छैन। होटललाई अब उद्योगका रूपमा वर्गीकरण गर्न मेरो प्रमुख दायित्व रहने छ।
मुलुकभरि अहिले होटलमा लगानी बढे पनि माग नबढेको उनी बताउँछन्। पोखरा र भैरहवामा अन्तराष्ट्रिय विमानस्थल बने पनि राम्रोसँग सञ्चालन हुन सकेको छैन। पूर्वाधार कमी हुँदाहुँदै होटलहरू राम्रोसँग चलाउन नसिकिएको उनको अनुभव छ।
यसअघिको सरकारले १० वर्षभित्र ३५ लाख पर्यटक नेपाल ल्याउने योजना बनाएको थियो, तर अहिलेकै अवस्थामा पनि ३५ लाख पर्यटक राम्रोसँग राख्न सकिने उनको भनाइ छ। होटलमा जति लगानी भए पनि सरकारले आवश्यक पूर्वधार तयार नपारेका कारण लगानी उत्पादनका रूपमा अगाडि नबढेको शाह बताउँछन्।
‘यो हाम्रा लागि ठूलो चुनौतीको विषय हो,’ अध्यक्ष शाह भन्छन, ‘अहिले नयाँ होटल चलिरहेका छन र कर्मचारीलाई दिने खर्च कम हुन्छ। तर, नेपालमा ५० वर्षभन्दा पुराना धेरै होटल छन्, जसलाई प्रशासनिक खर्च धान्नै मुस्किल भइरहेको छ। यस्तो चुनौतीबीच म अध्यक्ष बनेको छु, यसलाई समधान गर्नतर्फ लाग्ने छु।’
होटल क्षेत्रको योगदान धेरै रहँदा पनि समाज र सरकारले हेर्ने दृष्टिकोण फरक भएको उनको भनाइ छ। सरकारका मन्त्रीहरूलाई आफ्ना केही समस्या राख्न जानुपरे विभिन्न ठाउँबाट ‘पावर’ लगाएर दैनिक धाउनुपर्ने बाध्यता रहेको उनको गुनासो छ। ज्ञापनपत्रमार्फत भन्ने गरिए पनि सरकारले सुनुवाइ नगरेकाले यसलाई सहजीकरण गर्ने प्रमुख दायित्व रहको उनले बताए।
दक्ष जनशक्ति नेपालमै रोक्नु प्रमुख चुनौती
अहिले होटल क्षेत्रमा आवश्यक दक्ष जनशक्ति पाउनै मुस्किल छ। दैनिक सयौं युवा विदेशिने क्रम रोकेर ती जनशक्ति नेपालकै व्यवसायमा राख्नुपर्ने बेला आएको शाह बताउँछन्।
हुन त सरकारले वार्षिक ३५ अर्बभन्दा बढी रकम युवालाई विभिन्न तालिम तथा सेमिनारको नाममा खर्च गर्ने गरेको छ। तर, उपलब्धी शून्य छ।
सरकारले सिकाएका युवा होटल तथा रिसोर्टमा केही समय काम गरेपछि विदेश जाने गरेका छन्। ‘त्यसैले अब दक्ष जनशक्ति विदेशीका लागि होइन, नेपाली उद्योग–व्यवसायमै संलग्न गराउने गरी आवश्यक नीति बनाउन सरकारसँग पहल गर्ने छु,’ अध्यक्ष शाहले भने, ‘यो म एक्लैले गरेर हुने काम पनि होइन। मेरो टिममा यी विषयमा व्यापक छलफल गरेर अगाडि बढ्ने छु।’
हानलाई केही समयभित्रै सात प्रदेश र ७७ जिल्लामा उपस्थित गराउने गरी शाखा विस्तारको काम गरिरहेको उनले बताए। प्रादेशिक संरचनामा जान विधान संशोधनको मस्यौदा तयार पारिसकेकाले संघीयताको स्वरूपमा हान गइसक्ने उनको भनाइ छ।