काठमाडौं। सरकारले आफ्नै लगानीमा निर्माण गर्न लागेको सिद्धबाबा सुरुङमार्गको ‘डिजाइन’ तयार भएको करिब चार महिना भयो। सुरुङमार्ग निर्माणको जिम्मेवारी ‘चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कम्पनी’ ले पाएको छ।
निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको एक वर्षभित्र सुरुङमार्गको डिजाइन सडक विभागअन्तर्गत ‘गुणस्तर अनुसन्धान विकास केन्द्र’ लाई बुझाउनुपर्ने सम्झौता थियो।
सम्झौताअनुसार चाइना स्टेटले डिजाइन पेस गरेको केन्द्रका ‘सिनियर डिभिजनल इन्जिनियर’ (सिडिई) दीप बाराही बताउँछन्। चाइना स्टेटसँग केन्द्रले २०७८ फागुनमा डिजाइन तयार गर्न एक वर्षसहित पाँच वर्षभित्र सुरुङ निर्माण सम्पन्न गर्ने सम्झौता गरेको छ।
डिजाइन प्राप्त गरेको चार महिनासम्म केन्द्रले सुरुङमार्ग निर्माण गर्न कम्पनीलाई अनुमति दिएको छैन। डिजाइन स्वीकृत नभएसम्म निर्माण कम्पनीले साइट व्यवस्थापनलगायत काम गरे पनि सुरुङको काम सुरु गर्न पाउँदैन।
कति छ डिजाइन अध्ययनको म्याद?
सिडिई बाराहीका अनुसार डिजाइन अध्ययन गरेर नौ महिनाभित्र स्वीकृत गर्नुपर्ने दायित्व केन्द्रसँग छ। यद्यपि, वैशाख अन्तिम वा जेठ लाग्दासम्म निर्माण सुरु गर्ने गरी अध्ययन भइरहेको छ।
‘डिजाइन अध्ययन गर्न हामीसँग नौ महिना समय छ तर नेपाली इन्जिनियर र प्राविधिकले मात्रै सुरुङ अध्ययन गरेर हुँदैन,’ सिडिई बाराहीले क्यापिटल नेपालसँग भने, ‘सडक विभागको सहयोगमा स्वीजरल्यान्डका प्राविधिकबाट डिजाइन अध्ययन गराउँदै छौंं। निर्माण कम्पनी चिनियाँ, हामी नेपाली अनि प्राविधिक स्वीस टोली भएपछि भाषाका कारण पनि अध्ययनको काम ढिलो भइरहेको छ।’
स्वीस प्राविधिक टोलीले नेपाल आएर पाल्पास्थित सुरुङमार्गको साइट हेरेर डिजाइन अध्ययन गरिरहेको छ। उक्त टोली नेपाल आउने र स्वदेश फर्किने क्रम निरन्तर छ।
कसरी हुँदैछ डिजाइन अध्ययन?
केन्द्रले सुरुङको सबै डिजाइन अध्ययन एकैपटक गरेको छैन। निर्माण कम्पनीले सुरुङमार्गको पूर्णडिजाइन पेस गरे पनि केन्द्रले भने किस्ता–किस्तामा अध्ययन गर्ने भएको छ।
‘पहिला काम हुनेलाई छिट्टै अध्ययन गर्छौं र अरू क्रमशः अध्ययन गर्दै जान्छौं। आवश्यकता हेरेर काम गर्ने योजना हो,’ सिडिई बाराहीले भने।
पहिलो चरणमा केन्द्रले सुरुङमार्ग प्रवेशद्वारको डिजाइन स्वीकृत गर्ने छ। त्यसपछि सुरुङ र सडकको डिजाइन अध्ययन हुने केन्द्रले जनाएको छ। प्रवेशमार्ग भनेको सुरुङ खन्ने स्थानमा बाहिरतर्फको तयारी हो।
प्रवेशमार्ग निर्माण गरेपछि मात्रै सुरुङ खन्ने काम हुन्छ। प्रवेशमार्ग, सुरुङको छुट्टाछुट्टै डिजाइन निर्माण गरिएको हुन्छ। सामान्यतया ५/६ महिनामा प्रवेशमार्ग तयार गरेर सुरुङ खन्ने व्यवस्था गर्न सकिन्छ।
१ हजार १ सय २६ मिटर लामो सुरुङमार्गको लागत ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ छ। सुरुङ ‘इन्जिनियरिङ, प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन’ (इपिसी) मोडेलमा निर्माण हुँदैछ।
जसका कारण निर्माणका लागि आवश्यक पर्ने मेसिन, डिजाइन, पहुँचमार्ग निर्माण, कामदारलगायत सम्पूर्ण कामको जिम्मेवारी निर्माण कम्पनीकै हुन्छ। साथै निर्माण सकिएपछि पाँच वर्षसम्म मर्मतको जिम्मा पनि चाइना स्टेटकै हो।
नेपालको सडकमा निर्माण गर्न लागिएको सिद्धबाबा तेस्रो सुरुङमार्ग हो। करिब सय वर्ष पहिला मकवानपुर जिल्लामा निर्माण भएको सुरुङलाई नेपालको पहिलो मानिन्छ भने निर्माणाधीन नागढुंगा–नौबिसे सुरुङमार्ग दोस्रो हो।
पृथ्वी राजमार्गको पाल्पास्थित सिद्धबाबा सुरुङमार्ग लुम्बिनी प्रदेशसँगै देशकै पूर्वाधार विकासका हिसाबले महत्वपूर्ण छ। बाह्रै महिना खस्ने पहिरोका कारण धेरै जनधनको क्षति हुने त्यहाँ सुरुङ निर्माण गर्न लागिएको हो।
नेपालमा पहिलोपटक बन्न लागेको ‘रकसेड’ ले पहिरो व्यवस्थापन गरी क्षति कम गराउने अपेक्षा छ। सुरुङ दुई लेनको हुनेछ। सुरुङ बनेपछि ठूला-ठूला सवारीसाधनलाई सुरुङबाट पठाइने र साना र कम क्षमताको सवारीसाधनलाई रकसेडबाट पठाउने योजना छ।