काठमाडौं। सबै जिल्ला र गाउँमा बिजुली पुर्याउने सरकारको योजना क्रमशःपूरा हुने क्रममा छ। यसै सन्दर्भमा कर्णाली प्रदेशको डोल्पा जिल्ला बिजुलीको राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड) मा जोडिएको छ।
नेपाल विद्युत् प्राधिकरणले रुकुमपश्चिमको मुसिकोट नगरपालिकास्थित मुसिकोट सबस्टेसनबाट सोही जिल्लाको आठबीसकोट नगरपालिकाको गोतामकोट हुँदै डोल्पा सदरमुकाम दुनैसम्म ११ केभी प्रसारण लाइन निर्माण गरी विद्युत् पुर्याएको हो।
प्राधिकरणले उक्त प्रसारण लाइनको परीक्षण गरी बिहीबारदेखि सदरमुकाम दुनैलगायत क्षेत्रमा विद्युत् दिन सुरु गरेको छ। योसँगै कर्णाली प्रदेशका १० मध्ये ८ जिल्ला राष्ट्रिय ग्रिडमा जोडिएका छन्। अब हुम्ला र मुगुमा विद्युत् पुग्न बाँकी छ। मुगुमा आगामी असारभित्रमा ग्रिडमा जोड्ने गरी प्रसारण लाइन निर्माण भइरहेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशका जिल्लामा विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको जानकारी दिए। “डोल्पामा राष्ट्रिय ग्रिड पुगेको छ, मुगुमा असारभित्रमा पुग्ने छ, हुम्लाका लागि बोलपत्रको प्रक्रिया पूरा गरी निर्माण व्यवसायी छनोट भइसकेको छ, अब छिट्टै काम सुरु हुने छ”, उनले भने।
डोल्पा सदरमुकाम र त्यस आसपासका क्षेत्रमा लघु जलविद्युत् आयोजनामार्फत विद्युत् आपूर्ति हुँदै आएकोमा अब राष्ट्रिय ग्रिडमार्फत वितरण हुनेछ।
प्राधिकरणले सदरमुकाम दुनैस्थित ठूलीभेरी नगरपालिकामा र त्रिपुरासुन्दरी नगरपालिकाका क्षेत्रमा २०० किलोवाट जडित क्षमताको जैरीगाड साना विद्युतगृहमार्फत बिजुली आपूर्ति गरिरहेको छ। डोल्पामा प्राधिकरणका करिब एक हजार सात सय ग्राहक रहेका अन्य क्षेत्रमा लघुजलविद्युत् र सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति भइरहेको छ ।
प्राधिकरणले एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) र युरोपेली लगानी बैक (इआइबी) बाट करिब २२ करोड अमेरिकी डलर (करिब २८ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा विद्युतीकरण गरिरहेको छ। सरकारको लगानी र प्राधिकरण आफैँले कमाएको नाफाबाट केही अंश छुट्याएर यस क्षेत्रमा विद्युत्को पहुुँच विस्तारमा खर्च गरिरहेको कार्यकारी निर्देशक घिसिङले बताए। रासस