होटल र पर्यटन क्षेत्र भनेको धेरै परिवर्तनशिल हुन्छ। जसरी मोबाइल फोनमा प्रविधि परिवर्तन भएजस्तै होटल क्षेत्रमा पनि तौरतरिका, सञ्चालन विधि र प्रविधि परिवर्तन भइरहेका हुन्छन्। होटल नेपालमा भए पनि ग्राहक भनेको अन्तर्राष्ट्रिय हुन्छन्।
विभिन्न मुलुकबाट आउने ग्राहकलाई उनीहरूको देशमा जे जस्तो सुविधा छ, त्यो पूर्णरूपमा दिन नसके पनि केही मात्रामा दिनसक्नुपर्छ। त्यसले गर्दा समकालीन विश्वप्रतिस्पर्धामा जुन प्रविधिमा होटल चलेका छन्, त्यसको बेसिक सुविधा हामीकहाँ भएन भने चल्न सक्दैन। त्यसैले पनि नयाँ प्रविधि, सोच ल्याउनका लागि चेन होटल चाहिन्छ।
चेन होटलका शाखा संसारभरि फैलिएको हुन्छ। संसारका जुनसुकै देशमा भए पनि सबै होटलमा एउटै मानक प्रयोग गर्ने गरिन्छ र नेपालमा आउने चेन होटलमा पनि अनिवार्य प्रयोग हुन्छ।
नेपालमा पछिल्लो समय चेन (अन्तर्राष्ट्रिय ब्रान्ड) का होटल प्रवेश बाक्लिँदै छ। होटलमा लगानी बढ्न थालेसँगै अन्तर्राष्ट्रिय ब्रान्ड ल्याउने होड सुरु भएको छ। यसले होटल क्षेत्रमा प्रतिस्पर्धामात्र बढाएको छैन, विदेशी पर्यटक ल्याउनसमेत सहयोग पुगेको छ। जति–जति विश्वविख्यात ब्रान्डका होटल नेपाल प्रवेश गर्छन्, त्यति नै नयाँ पर्यटक आउँछन्।
विभिन्न ब्रान्डका चेन होटल विश्वभरि छरिएकाले पनि उनीहरूको रोजाइ नेपाल पनि पर्ने गरेको छ। विश्वप्रख्यात ब्रान्डका ग्राहक जुनसुकै मुलुकमा गए पनि त्यही ब्रान्डका होटलमा बस्न रुचाउँछन्। जसले गर्दा नेपालमा पनि त्यस्ता होटलको चेन खुल्नुलाई सकारात्मक लिनुपर्छ।
होटलको ब्रान्डमात्र आउँदैन, त्योसँगै नेपालको निःशुल्क प्रचार पनि विश्वभरि नै हुने गरेको छ। तिनै अन्तर्राष्ट्रिय ब्रान्डहरूले विभिन्न समयमा अफर सार्वजनिक गर्छन्। उनीहरूले सार्वजनिक गर्ने होटलको सूचीमा नेपाल पनि पर्छ।
ग्राहकले पनि कुनै ब्रान्ड सर्च गर्दा नेपाल पनि देख्ने भएकाले त्यसतर्फ चासो बढ्छ। यसले नेपालको स्वतः विज्ञापन हुने गरेको छ। यसलाई अवसरका रूपमा लिनुपर्छ।
ब्रान्डको प्रवेशले नेपालको हस्पिटालिटी क्षेत्रमा प्रतिस्पर्धासमेत बढाएको छ। नयाँ–नयाँ आउने होटलबीच प्रतिस्पर्धा बढाउन पनि नेपाली होटलले आफ्नो क्षमता विस्तार गर्ने अवसरसमेत पाएका छन्।
जति नयाँ होटल आउँछन्, तिनीहरूबाट नेपालीले पनि धेरै विषय सिकिरहेका हुन्छन्। त्यतिमात्र नभई, रोजगारीमा दक्षतासमेत बढाउँछ। जसले गर्दा पाहुनालाई दिने सेवा सुविधामा समेत थप गुणस्तर हुने गरेको छ।