काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वाह्य क्षेत्रमा देखिएको सहजतासँगै बैंकिङ प्रणालीको तरलतामा सुधार भइरहेको बताएका छन्।
तरलतामा सुधार हुँदा बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउन थालेकाले आन्तरिक आर्थिक गतिविधि सुधार हुँदै जाने बताएका छन्।
नेपाल राष्ट्र बैंक स्थापनाको ६८औं वार्षिकोत्सवमा गभर्नर अधिकारीले अर्थतन्त्रको वाह्य क्षेत्र सुधारसँगै तरलता व्यवस्थापन सहज भए पनि अन्तर्राष्ट्रिय कारणले मूल्यमा परेको दबाब अझै कायम रहेको बताए।
गत वर्षभन्दा व्यापार घाटामा केही कमी आएको, विप्रेषण प्रवाहमा वृद्धि र पर्यटन क्षेत्रमा आएको सुधारका कारण शोधनान्तर स्थिति पनि बचतमा रहन थालेकाले अघिल्लो वर्षको तुलनामा अर्थतन्त्रको वाह्य क्षेत्रलगायत बैंकिङ क्षेत्रको तरलतामा पनि सुधार आएको उनले जानकारी दिए।
विकास खर्च र कर्जा प्रवाहमा कमी आउँदा आर्थिक गतिविधिमा केही शिथिलता आएको र यसको असर राजस्व संकलनमा परेको उनको भनाइ छ।
अर्थतन्त्र बढी आयात र विप्रेषणमा निर्भर रहेकोले विश्व अर्थतन्त्रको प्रभाव सामना गर्दै आन्तरिक सन्तुलन कायम राख्न चुनौतीपूर्ण रहेको उनको भनाइ छ। वित्तीय स्थायित्व कायम राख्दै समष्टिगत आर्थिक स्थिरता कायम राख्ने कार्यमा राष्ट्र बैंक सदैव प्रतिबद्ध रहेको उनले बताए।
बैंकिङ क्षेत्रको स्रोत साधनलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्नुपर्ने आवश्यकता रहेको बताउँदै गभर्नर अधिकारीले अर्थतन्त्रको दीर्घकालीन सुधारका लागि समग्र उत्पादन र उत्पादकत्व बढाउनेतर्फ क्रियाशील हुनुपर्नेमा जोड दिएका छन्।
गभर्नर अधिकारीले राष्ट्र बैंकको ६८औं वार्षिकोत्सवमा गरेको सम्बोधनको पूर्णपाठ :