काठमाडाैं। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले वायुसेवा निगम खाने खुम्ले किरा मन्त्रीहरु नै रहेको बताएका छन्।
नेपाल वायुसेवा निगमको वार्षिक समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री किराँतीले नयाँ आएपछि वायु सेवा निगमको कार्यकारीदेखि लिएर विभागीय प्रमुख नियुक्ती गर्दा रकम असुल्ने गरेको पाइएकाे बताएका हुन्।
'म मन्त्री भएको सय दिन भयो यो बेलासम्म मलाई धेरै कुरा थाहा भयो वायुसेवा निगमलाई यो अवस्थामा पुर्याउन मन्त्रीहरुको ठूलो हात रहेछ,' मन्त्री किराँतीले भने, 'यती भन्दैमा फेरि निगमको कर्मचारीहरु चै चोखो छन् भन्ने हैन। नागरिक उडड्यनको तालुकदार मन्त्रीले लाख होइन करोडमा पैसा उठाएपछि ति कर्मचारीले व्यावसायिक कार्ययोजना हैन पैसा असुल्ने कार्ययोजना बनाउँछन्।'
मन्त्री किराँतीले निर्देशनात्मक ढंगले भने, 'मलाई पैसा मन पर्दैन खाली मेरो सरोकार कामसँग रहन्छ, म वर्ग र जातपात हेर्दिन खाली मेरो सम्बन्ध कामसँग हुनेछ। म व्यवहारमा नरम र नितिमा कठोर मान्छे हो। अरु मन्त्रीलाई जस्तो मलाई पैसा हैन एउटा चक्लेट पनि चाहिँदैन। किन कि मलाई मृत्यु थाहा छ म मरेपछि जम्मा जम्मी पशुपतीमा अलिकति धुवाँ बन्छु त्यो भन्दा ठूलो अरु केही हुँदैन। त्यसैले म मरेपछि पनि अजम्बरी हुन चाहान्छु त्यसैले म सँग लोभ छैन। अब विगत जे भयो अब निगमलाई टुलुटुलु हेरेर बस्न सक्दिन। तपाईंहरुसँग मलाई विश्वास छ अब निगमलाई यो भेन्टिलेटरको अवस्थाबाट सर्जरी गरेर स्वस्थ मान्छे जस्तै डिस्चार्ज गर्नुपर्छ।
निगमलाई सुधार्न आफु जस्तो सुकै जोखिम मोल्न तयार रहेको भन्दै आफुलाई कुनैपनि दवाव र प्रभावले फरक नपर्ने समेत मन्त्रीले बताए।
मन्त्री किराँतीले मन्त्री हुनका लागि आफू न जन्मिएको भन्दै पद जोखिममा राखेर भए पनि निगमलाई माथि सुधारेर नै छाड्ने दाबी गरे। कार्यकारी अध्यक्ष युवाराज अधिकारीलाई निर्देशन दिँदै मन्त्री किराँतीले भने, 'अब तपाईंलाई कारबही गर्छु तपाईंले क-कसलाई गर्ने हो गर्नुस्। यदि काम गर्न सक्नु भएन भने सल्लाह गरेर नै छाडेर जानुस् तपाईंलाई साेहार्द ढंगले बिदाई गर्नेछौं। तर अब तपाईंले काम गर्नुहुन्छ भन्ने आशा छ। तपाईंले आज गरेकाे प्रतिबद्धताअनुसार काम गर्नुहोला। बाहिर शक्तिको ढोका न चहार्नुहोला राम्रो काममा सधैं मेरो तपाईंप्रति सहयोग र संरक्षण रहनेछ।'
मन्त्री किराँतीले निगमको बाेर्ड सदस्यलाई समेत बाँकी राखेनन्। उनले भने बाेर्डका सदस्यहरु आज सुविधाका लागि होडबाजी गर्छन् भन्ने सुनेको बताउँदै भने, 'निगमलाई सुधार्छु भनेर राजनितिक नियुक्ती खाने अनि सुविधाका लागि मरिमेट्ने हो भने उमेर हुनेले जागिर खाँदा भयो हैन भने पैसा कमाउन व्यापार गरे हुन्छ सुविधाका लागि झगडा गर्ने बोर्ड सदस्यहरुलाई अब बाँकी राखिन्न।'