एजेन्सी । मुद्रास्फितिले वित्तिय अवस्थामा ठूलो प्रभाव पार्छ । यसले धरौटी भुक्तानी, बचतदेखि दैनिक उपभोग्य सामनको खुद्रा मुल्यमा समेत प्रभाव पार्छ । हामीले दैनिक खर्च गर्ने बस्तु तथा सेवाको मूल्यमा हुने परिवर्तनलाई सरकार र व्यवसायीले देशको अर्थतन्त्रको तापक्रम मापन गर्न प्रयोग गर्छन् । न्यून तथा पूर्वानुमान गर्नसक्ने वृद्धि सबैका लागि राम्रो हुने सबैतिर मान्य छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार अहिले विश्विक मुद्रा स्फिति दर ३.६ प्रतिशत रहेको छ । तर, बैंक अफ इंग्ल्याण्डका अनुसार यदि मुद्रास्फिति धेरै उच्च भयो वा धेरै नै चलमलायो भने व्यावसयिक क्षेत्रलाई पनि सही मूल्य निर्धारण गर्न अप्ठ्यारो हुन्छ । यसले उपभोक्तालाई पनि आफ्नो खर्च तय गर्न अप्ठ्यारो हुन्छ ।
यदि मूल्य छोटो समयमा नै नाटकीय ढंगले बढ्यो भने चलाउँदै आएको खर्चले पुराननै मात्रामा बस्तु तथा सेवा खरिद उपभोग गर्न अप्ठयारो हुन्छ । भेनेजुएला, जिम्बावे तथा दक्षिण सुडान त्यस्ता प्रमुख मुलुकहरु हुन् जहाँ राजनीतिक तथा आर्थिक अस्थिरता गाँजिएका छन् । यी मुलुकहरुले अहिले एकदमै डरलाग्दो मुद्रास्फितिको सामना गरिरहेका छन् ।
ट्रेडिङ इकोनोमिक्सले सार्वजनिक गरेको तथ्यांक अनुसार विभिन्न मुलुकहरुको मुद्रा स्फिति दर यस्तो छ मुलुक मुद्रास्फिति दर
भेनेजुएला २८२,९७२.८० प्रतिशत (अप्रिल २०१९)
जिम्बावे १७५.६६ प्रतिशत (मार्च २०१९)
दक्षिण सुडान ५६.१० प्रतिशत (मार्च २०१९)
अर्जेन्टिना ५५.८० प्रतिशत (जून २०१९)
इरान ५०.४० प्रतिशत (जून २०१९)
सुडान ४७.८० प्रतिशत (जून २०१९)
लाइबेरिया २३.३० प्रतिशत (अप्रिल २०१९)
हाइटी १८.०० प्रतिशत (मे २०१९)
सेरालियोन १७.४६ प्रतिशत (मार्च २०१९)
अंगोला १६.९४ प्रतिशत (जून २०१९)
संकटग्रस्त भेनेजुएला यो सूचीमा शीर्ष स्थानमा छ । अप्रिलमा मुद्रा स्फिती करिब तीन लाख प्रतिशत अनुमान गरिएको छ । भेनेजुएलाको राजनीतिक तथा आर्थिक संकट कमि हुने कुनै संकेत नदेखिएसँगै अन्तर्राष्ट्रिय मुद्रा कोषले सो दर यो वर्षको अन्त्यसम्मा एक करोड प्रतिशतसम्म पुग्ने अनुमान गरेको छ । संयुक्त राष्ट्रसंघीय शणनार्थी संस्थाका अनुसार भेनेजुएलामा देखिएको राजनीतिक तथा आर्थिक अस्थिरताको कारण त्यहाँबाट ४० लाख जनताहरु भागिसकेका छन् । त्यहाँको अर्थतन्त्र २०१३ को भन्दा अहिले आधा घटेको छ ।
तेल उत्पादनमा आएको ह्रास, उच्च मुद्रास्फिति तथा राजनीतिक अनिश्चितताले संयुक्तरुपमा त्यहाँ निकै ठूलो संकट निम्त्याएको छ । दोस्रोमा जिम्बावेको हाल मुद्रास्फिति दर १ सय ७६ प्रतिशतभन्दा थोरै मात्र तल छ । यसले एक दशक अघि उक्त मुलुकले भोगेको उच्च मुद्रास्फितिको समस्यालाई पुन निम्त्याउने त्रास सिर्जना गरेको छ ।
त्यहाँ मूल्य बृद्धि भएसँगै दैनिक उपभोगिताको सामान, रोटी, इन्धन तथा औषधिको अभाव बढेको छ । विश्व बैंकका मूख्य अर्थविद् जाहिद हुसैन भन्छन्, ‘आर्थिक विकास तथा राजनीतिक स्थिरता गहिरो रुपमा एकअर्कासँग सम्बद्ध छन् । तर सबै किसिमका राजनीतिक स्थिरता विकासमैत्री हुँदैनन् । स्थिरता जति धेरै गुड गभर्नेन्समा ढल्छ त्यति नै आर्थिक विकास हुन्छ ।’