विराटनगर। अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीलाई आफ्नाे जिम्मेवारी इमान्दार, पारदर्शी र समर्पणका साथ पूरा गर्न निर्देशन दिएका छन्।
बिहीबार विराटनगर भन्सार निरीक्षणका क्रममा मन्त्री डा. महतले कामका आधारमा कर्मचारीको मूल्यांकन हुने भएकाले कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन्।
‘कुनै पनि तहमा माथि देखाएर जिम्मेवारी दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन,’ उनले भने, ‘भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिँदैनौं, मलाई विश्वास छ, तपाईंहरुले राम्रो गर्नु हुनेछ, राम्रो गर्न कोसिस गरिराख्नु भएको छ।’
कुनै पनि कर्मचारीले पारदर्शिता, कर्तव्य निष्ठा भएर काम गर्नेमा आफू विश्वस्त रहेकाे बताउँदै अर्थमन्त्री महतले भने, ‘यो आर्थिक वर्ष असारसम्ममा भन्सार असुलीको प्रतिशत निक्कै बढ्ने मैले अपेक्षा गरेको छु।’
राजश्व बढाउन करदातालाई अनावश्यक दुःख दिन नहुने उनकाे भनाइ छ। नियम कानुनअनुसार अनुसार काम गर्नुपर्ने बताउँदै त्यसकाे कार्यान्वयन गर्न नचुक्न पनि कर्मचारीलाई अनुरोध गरे।
डा.महतले भने, ‘समग्रमा हामी पारदर्शीका साथ हामी काम गरौं, सेवाग्राहीलाई सहज र सौहद्रपूर्ण वातावरण निर्माण गरौं, नियम, कानुनमा उनीले तिर्नुपर्ने कुरा छ भने उनीहरुले तिर्नुपर्छ। हामीले गर्नुपर्ने काममा सम्झौता नगरौं।’