काठमाडौं। कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दिनेश थकाली नियुक्त भएका छन्। उनी ४ वर्षका लागि कामना सेवाको सिइओ बनेका हुन्।
थकाली प्रभु बैंकको नायव महाप्रबन्धक भएका थिए। उनी प्रभु क्यापिटल लिमिटेडमा प्रबन्ध निर्देशक भएर २ वर्ष काम गरेका थिए। त्यसअघि साँग्रीला डेभलपमेन्ट बैंकमा पनि उनी कामु सिइओको जिम्मेबारी सम्हालिसकेका छन्।
साँग्रीला डेभलपमेन्ट बैंकबाट थकाली प्रभु बैंक आएका थिए। सहायक कम्पनी प्रभु क्यापिटलमा दुई वर्ष पुरा गरेपछि उनी एक महिनाअघि मात्र प्रमुख व्यावसाय अधिकृतको जिम्मेवारीसहित प्रभु बैंकमै फिर्ता भएका थिए। बागेश्वरी विकास बैंक साँग्रीलामा गाभिएपछि थकाली कम्पनी सचिव तथा डेपुटी सिइओ भएका थिए।
पेशाले चार्टर्ड एकाउन्टेन्ट थकालीसँग बैंकको निक्षेप परिचालन, निक्षेप बजारीकरणदेखि धितोपत्र बजारको अनुभव छ।
थकाली नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका पूर्वमहासचिव भइसकेका छन्।
उनले लण्डन स्कूल अफ इकोनोमिक्स, विश्व बैंक, एसियन इन्ष्टिच्युट (एआइटी) थाइल्याण्ड, फिच्ट लर्निङ सिंगापुर लगायतका प्रतिष्ठित संस्थाहरुबाट बैंकिङ तथा व्यवस्थापन सम्बन्धि विभिन्न विधामा अध्ययन तथा तालिम लिएका छन्।
त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातकसम्म अध्ययन पुरा गरेका थकालीले सांग्रिलाबाट म्यानेजमेन्ट ट्रेनीको रुपमा बैकिङ करियर शुरु गरेका हुन्। छोटो समयमै बैंक तथा वित्तीय क्षेत्रमा उदाएका थकाली कुशल व्यवस्थापकका रुपमा परिचित छन्।
कामना सेवाको दमकस्थित शाखामा कम धितो राखी बढी ऋण प्रवाह गरेको आरोपमा तत्कालिन सिइओ प्रवीण बस्नेतसहित चार जनालाई पक्राउ परेपछि गत फागुनदेखि बैंक कामु सिइओको भरमा चलिरहेको थियो।