काठमाडौं। अर्बौं लगानी गरेर होटल तथा रिसोर्ट सञ्चालन गर्दै आएका व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) को ४८औं साधारणसभा वैशाख १५ गते काठमाडौंमा हुँदैछ।
प्रत्येक दुई/दुई वर्षमा नयाँ नेतृत्वसमेत चयन हुने गर्छ। निजी क्षेत्रको ठूलामध्येको संगठन हानको निर्वाचन र साधारणसभा भने अन्य व्यावसायिक संघसंगठनभन्दा फरक किसिमले हुँदै आएको छ।
गुटगत भेला र बिनातामझाम नै हानलले ४८औं साधारणसभाको तयारी अन्तिम चरणमा पुर्याएको छ। हानका पूर्वअध्यक्ष योगेन्द्र शाक्यले संस्थागत हितमा काम गर्न कुनै गुटउपगुट बनाएर निर्वाचन नहुने परम्पराले निरन्तरता पाइरहेको बताए।
अधिकांश व्यावसायिक संस्थामा राजनीतिक हस्तक्षेप र राजनीतिक रङ लागिसक्दा समेत हानलाई हालसम्म त्यसबाट अछुतो बनाउन सफल भएको उनको भनाइ छ।
‘गुटगत निर्वाचन हुँदा संस्थाको हितभन्दा व्यक्तिगत र राजनीतिक फाइदाका लागि काम हुने गर्छ,’ शाक्यले क्यापिटल नेपालसँग भने, ‘त्यसबाट सदैव टाढा रहेर विशुद्ध व्यावसायिक चुनाव हुने भएकाले अन्य संस्थाभन्दा हान भिन्न भइरहेको हो।’
वैशाख १५ मा हुने साधारणसभाका लागि अहिले नै सर्वसम्मत कार्यसमिति चयन गरिसकिएको छ। अब पदाधिकारी को–को रहने भन्ने मात्र टुंगो लगाउन बाँकी छ। हानको निर्वाचन भइरहेको कतिपयलाई जानकारीसमेत हुँदैन।
किनकि, अन्य व्यवासायिक संघसंगठनजस्तो चर्चा र परिचर्चा हुने गरेको छैन। कहीँ चुनावी प्रचारको पर्चा–पम्प्लेट टाँसिदैन भने गुटगत भेला पनि हुँदैन।
संघका प्रथम उपाध्यक्ष विनायक शाहले तामझामबिना पनि नयाँ नेतृत्व चयन हुनसक्छ भन्ने उदाहरण दिँदै आएको बताए। विगतदेखि नै संघमा पूर्वअध्यक्षहरू र अग्रजहरूको सल्लाह सुझावका आधारमा सहमतिमै नेतृत्व चयन हुने भएकाले पनि कुनै तामझाम र हल्लाखल्ला नहुने गरेको उनको भनाइ छ।
२०७९ चैत २८ र २९ गते सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन निकै तामझाम र भड्किलो भएको थियो। सामाजिक सञ्जालदेखि कार्यक्रमस्थल लगायत स्थानमा लाखौं खर्चेर पर्चा–पम्प्लेट वितरण गरिएको थियो।
महासंघमात्र नभई, पर्यटनसम्बद्ध नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान) र नेपाल पर्वतारोहण संघ (एनएमए) को निर्वाचन निकै भड्किलो हुँदै आएको छ।
यतिसम्म कि ती संस्थाको नेतृत्व चयन राजनीतिक भागबण्डामार्फत मात्र हँुदैन, उम्मेदवारसमेत राजनीतिक दलले नै टुंगो लगाउँदै आएका छन्।
यसरी व्यावसायिक संस्थाको निर्वाचनमा राजनीतिक रङ दिएर करोडौं खर्च गरी नयाँ नेतृत्व चयन हुने थिति थाँति राख्दै हानले भने विगतदेखि नै भिन्न किसिमले आफ्नो नेतृत्व चयन गर्दै आएको छ।
हान इतिहासमा दुईपटक निर्वाचन, सर्त– हार्ने प्रथम उपाध्यक्ष बन्ने
सन् १९६६ मा होटल सोल्टीका सञ्चालक प्रभाकरशम्शेर राणाको अध्यक्षता हान गठन भएको थियो। त्यसयता संघमा दुईपटक मात्र अध्यक्ष बन्न निर्वाचन भएको इतिहास छ।
त्यो निर्वाचन पनि पहिलोपटक राजपरिवारको चाहनाअनुसार राणाहरूबीच भएको थियो। त्यसबेला सोल्टीका सञ्चालक प्रभाकरशम्शेर राणाले राजा ज्ञानेन्द्र शाहको समर्थनमा अनुपशम्शेर राणालाई अगाडि सारेका थिए भने राजा महेन्द्रका भाइबुहारी एवं अन्नपूर्ण होटलका सञ्चालक हेलेन शाहको समर्थनमा सहदेव राणालाई अगाडि सारेका थिए।
दुई ठूला होटलका उम्मेदवारबीच भएको निर्वाचनपछि हान टुक्रिन सक्ने हल्लासमेत गरिएको थियो। किनकि, त्यो बेला राजपरिवारले पनि दुवै गुटलाई अगाडि सारेका थिए।
अर्को संयोग के थियो भने त्यही बेला नेपाल उद्योग वाणिज्य महासंघ टुक्रिएको थियो। महासंघ अध्यक्षमा पद्म ज्योेतिसँग हारेपछि विनोद चौधरीले नेपाल उद्योग परिसंघ गठन गरेका थिए।
त्यसैको प्रभाव पर्ला भन्ने डरले ‘जो हारे पनि प्रथम उपाध्यक्ष बस्नैपर्ने’ सर्त राखिएको थियो। त्यो निर्वाचनमा अनुपशम्शेर राणा विजेता भए भने सहदेव पराजित भए। तर, सर्तअनुसार सहदेव प्रथम उपाध्यक्षमा नबसी उनकाे टिमका याेगेन्द्र शाक्यलाई प्रथम उपाध्यक्ष र श्यामबहादुर पाण्डेलाई द्वितीय उपाध्यक्ष बनाए। सहदेव त्यसअघि १३ वर्ष हानकाे अध्यक्ष भइसकेका थिए।
दोस्रोपटकमा हरेक संस्थामा राजनीतिकरण हुनुपर्ने र राजनीतिकरणले नै सबै परिवर्तन सम्भव रहेको भन्दै नेकपा (एमाले) को समर्थनमा बिके श्रेष्ठलाई अगाडि सारिएको थियो। त्यो बेला ‘पूर्वअध्यक्षहरू बुढो भइसके, अब उनीहरूको कुरा मान्न हुँदैन र संघलाई पूर्वअध्यक्षहरूको हस्तक्षेपबाट मुक्त बनाउनुपर्छ’ भन्ने अभियान चलेको थियो।
संस्थापन पक्षबाट भने श्यामसुन्दरलाल कक्षपतीलाई उम्मेदवार बनाइएको थियो। दुईजनाको निर्वाचनमा कक्षपती विजयी भए भने श्रेष्ठ प्रथम उपाध्यक्ष बने। पछि, बिकेलाई सर्वसम्मत अध्यक्ष बनाइएपछि हालसम्म हानमा राजनीतिक गन्ध आउन सकेको छैन।
यस्तो छ सर्वसम्मतिको मन्त्र
पूर्वअध्यक्ष योगेन्द्र शाक्यले हानमा पूर्वअध्यक्षहरूले हस्तक्षेपबिना नै अभिभावकको भूमिका निर्वाह गरिरहेको बताए। उनले उद्योग वाणिज्य महासंघमा हुने गरेको पूर्वअध्यक्षहरूको हस्तक्षेपजस्तो नगरेको उदाहरण दिँदै आएका छन्।
सुरुदेखि नै हानमा ठूला होटल र साना होटललाई कसरी ‘ब्यालेन्स’ गर्न सकिन्छ भन्ने विषयमा मुख्य ध्यान दिँदै आएको र अहिलेसम्म सर्वसम्मत नेतृत्व चयन हुनुको पछाडि पनि त्यही नीति रहेको उनको भनाइ छ।
हानमा संख्यात्मक हिसाबले ठूलाभन्दा साना होटल संख्या बढी छ। झगडा हुने भनेकै ठूलो र सानोबीच भएकोले हानको विधानमै नेतृत्व लिँदा साना र ठूला होटलले आलोपालो नेतृत्व गर्ने विषय उल्लेख छ। जसका कारण निर्वाचनका बेला ठूलो र सानोबीच भनेर ‘मसल’ र ‘मनी’ प्रतिस्पर्धा हुनबाट जोगिँदै आएको छ।
हान पदाधिकारी हुन विधानमै कुनै राजनीतिक दलको सदस्यता नलिएको हुनुपर्ने उल्लेख छ। अहिले धेरैजस्तो संस्थामा पार्टीकरण हुने भएकाले त्यसबाट संघलाई टाढा राखिएको छ। अहिलेसम्म हान नेतृत्वले पूर्वअध्यक्षहरूको सुझावलाई मनन गर्दै आएको र उनीहरूकै सल्लाहअनुसार अगाडि बढेकाले सहमतिमै नेतृत्व चयन हुँदै आएको छ।
त्यतिमात्र नभई, हान पदाधिकारी छनौटमा समेत युवादेखि अग्रजलाई समान व्यवहार र अवसर दिने गरिएको छ। नयाँ पुस्तालाई पनि नेतृत्व गर्ने अवसर दिनुपर्छ भन्ने उद्देश्यले कार्यसमिति त्यहीअनुसार गठन भइरहेको छ।
नौस्तरका होटलबाट २/२ जना कार्यसमिति सदस्य रहने
हानमा मुलुकभरि सञ्चालित नौस्तरका होटलबाट २/२ जना कार्यसमिति सदस्य निर्वाचित हुने गर्छन्। हाल पाँचतारे चेन, पाँचतारे, चारतारे, तीनतारे, दुईतारे, एकतारे, पर्यटक स्तरीय, रिसोर्ट र क्षेत्रीय संघबाट प्रतिनिधित्व हुँदै आएको छ।