काठमाडौं। निजी क्षेत्रको ठूलामध्ये पर्ने ४६ वर्ष पुरानो निर्माण कम्पनी कालिका कन्स्ट्रक्सन प्रालिको ऋणमात्रै झन्डै १३ अर्ब रुपैयाँ रहेको छ। तर, कालिकाले १२ अर्ब ७७ करोड ८० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ।
ठूलो परिमाणको ऋण भए पनि कालिकाले २२ अर्ब रुपैयाँबराबरको ठेक्का हातमा लिएर बसेको छ। कालिकाले कारोबारभन्दा बढी ऋण लिएको इक्रा नेपाल लिमिटेडले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
ठूलो परिमाणबराबर ऋण र ठेक्का भएको कालिकाले एक वर्षमा ३ अर्ब ६३ करोड ३३ लाख रुपैयाँको मात्र कारोबार गरेको छ। अघिल्लो वर्ष २ अर्ब ८५ करोड १३ लाख रुपैयाँ कारोबार गरेको थियो।
एक वर्षमा कालिकाको सञ्चालन आम्दानी २८ प्रतिशत बढेको छ। त्यस्तै २०२० मा ३ अर्ब ५५ करोड ४९ लाख, २०१९ मा ३ अर्ब ३३ करोड र ३ अर्ब ५६ करोड रुपैयाँबराबर कारोबार गरेको कम्पनीको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ।

कालिकाको सडक, जलविद्युत, भवन, पुल र खानेपानी आयोजनालगायत खण्डमा एकदमै विविधता छ। यसबाहेक गत चैतसम्म ३६ अर्ब रुपैयाँको ठेक्का क्षमता छ।
कारोबार बढे पनि कालिकाको ‘अपरेटिङ मार्जिन’ आम्दानी घटेको छ। निर्माण सामग्रीको भाउ बढेकाले मार्जिन घटेको हो। सञ्चालन नाफा मार्जिनमा आएको गिरावट वृद्धिशील वित्तीय प्रोफाइलका लागि चिन्ताको विषय बनेको छ।
सन् १९७६ मा विक्रम पाण्डेले कालिकाको स्थापना गरेका थिए। उनी अहिले पनि कालिकाका अध्यक्ष तथा प्रबन्ध सञ्चालक छन्।
पूर्वमन्त्री समेत रहेका पाण्डेको कम्पनी कालिकाले सडक, पुल, जलविद्युत, खानेपानी, भवन, स्यानिटेसन र सिंचाइ आयोजना बनाएको छ। कालिकाले संयुक्त लगानीमा ठूला आयोजना बनाएको छ। कालिका ‘क’ वर्गको निर्माण कम्पनी हो।
चुक्ता पुँजी २५ करोड रुपैयाँ रहेको कम्पनीमा विक्रम र पार्वती पाण्डेको गरी ९९.०६ प्रतिशत सेयर छ। बाँकी ०.४ प्रतिशत स्वामित्व चारवटा ग्रुपको छ।
