चितवन। सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० आयाेजना हुने भएकाे छ। 'दिगो आर्थिक विकासका लागि बृहत अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी' भन्ने अभियानसहित उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले प्रदर्शनी हुन लागेकाे हाे।
वैशाख २२, २३ र २४ गते चितवन प्रदर्शनी केन्द्र भरतपुर चितवनमा हुन लागेकाे उक्त प्रदर्शनीमा औद्यागिक मेसिनरी, प्रविधि र स्वदेशी औद्योगिक उत्पादनको बृहत प्रदर्शनी हुँदैछ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग, चितवन उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्व र मिडिया स्पेस सोलुसन्स प्रालि तथा फ्युचरएक्स ट्रेड फ्यर एन्ड इभेन्टसकाे व्यवस्थापकीय साझेदारीमा प्रदर्शनी आयाेजना गर्न लागिएकाे हाे।
उक्त प्रदर्शनीमा आधुनिक मेसिन, यन्त्र उपकरण र प्रविधिसहित निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्ट्रिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फूड एन्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगको उत्पादनको बृहत प्रदर्शनीमा राखिनेछ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरु रहने गरी आयोजना हुन गइरहेको उक्त प्रदर्शनीको धमाधम स्टलहरु बुकिङ हुन थालेका छन्। यस प्रदर्शनीमा प्रदर्शकको रुपमा सहभागिता जनाउन चाहने उद्योगीहरुले यही १७ गतेसम्म स्टल बुकिङ गरिसक्नुपर्ने आयोजकले जनाएको छ।
अवलोकनकर्तालाई निशुल्क प्रवेशको व्यवस्था गरिएकाे छ। आयाेजकले सम्पूर्णलाई अवलोकन गर्न अनुरोध गरेको छ।