काठमाडौं। होटल संघ नेपालको १४औं अध्यक्षका रूपमा विनायक शाह सर्वसम्मत निर्वाचित भएका छन्। तथापि, निर्वाचित समितिले आधिकारिकरूपमा घोषणा गर्न भने बाँकी छ।
वैशाख १५ मा हुने ४८औं वार्षिक साधारणसभाका दिन औपचारिक घोषणा गर्ने भए पनि निर्वाचन समितिले भने निर्वाचित सदस्यकाे नामावली भने सार्वजनिक गरिसकेको छ। संघमा सर्वसम्मत नेतृत्व चयन हुँदै आएको छ। निर्वाचन समितिले १८ जनाको नामावली सार्वजनिक गरेको छ।
जसअनुसार पाँचतारे चेन होटलबाट र्याडिसन होटलका विधाता श्रेष्ठ र ह्यात होटलबाट जयदिन श्रेष्ठ, पाँचतारेबाट सांग्रिला होटलका प्रविणबहादुर पाण्डे र एभरेस्ट होटलका सारिक अहमद लारी, चारतारेबाट होटल शंकरका विनोदशंकर श्रेष्ठ र होटल हिमालयका दिनेश श्रेष्ठ, तीनतारेबाट एयरपोर्ट होटलका विनायक शाह र होटल वैशालीका विशालकुमार कैंथ, दुईतारेबाट ल्यान्डमार्कका राजेन्द्र भट्ट र इन्टरनेसनल गेस्ट हाउसका रामकुमार पुरी, एकतारेबाट क्राउन प्लाजाका युवराज श्रेष्ठ र गणेश हिमालका ठाकुरप्रसाद पोखरेल छन्।
पर्यटकस्तरीय हाेटलबाट काठमाडौं प्रिन्सका साजन शाक्य र मधुवन गेस्ट हाउसका लक्ष्मण अर्याल, रिसोर्टबाट बाराही रिसोर्टका विप्लव पौडेल र ड्रिमल्यान्ड गोल्ड रिसोर्टका गोपाल राना, क्षेत्रीय हाेटल संघबाट विराटनगरका राजन श्रेष्ठ र चितवनका सुमन घिमिरे छन्।
समितिले सार्वजनिक गरेको नाममध्ये शाह अध्यक्ष पक्का भइसकेका छन्। अब बाँकी पदाधिकारी अध्यक्ष शाहले चयन गर्नेछन्। प्रारम्भिक सहमतिअनुसार प्रथम उपाध्यक्षमा प्रविणबहादुर पाण्डे, महासचिव साजन शाक्य पुनः दोहोर्याउने र कोषाध्यक्षमा युवराज श्रेष्ठ चयन हुनेछन्। तथापि, १५ गते बस्ने बैठकले पदाधिकारीहरूको नाम फाइनल गर्ने छ।