काठमाडौं। लक्ष्मी बैंकसँग मर्जरको तयारीमा रहेको सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडको लक्ष्मी बैंकमा ३ अर्बभन्दा बढी ऋण रहेको पाइएको छ। दुगडले विभिन्न जलविद्युत कम्पनीका लागि उक्त ऋण लिएका हुन्।
दुगडले सहायक कम्पनीमार्फत लिखु खोलामा लिखु १, २ र ‘ए’ गरी कूल १ सय ५७ मेगावाट क्षमताको तीनवटा परियोजना एकसाथ निर्माण गरेका छन्। यस्तै १ सय ६० मेगवाटकाे लप्चीखाेला आयाेजना पनि बनाउँदैछन्। नेपाल बैंककाे ऋण लगानीमा उक्त आयाेजना बनाउन लागेका हुन्।
लक्ष्मी र सनराइज बैंक मर्जपछि बन्ने बैंकको अध्यक्ष हुने दाबी गरिरहेका दुगडको लक्ष्मीमा ऋण रहेपछि सञ्चालक समिति जाने बाटो बन्द हुने खतरा बढेको छ।
यद्यपि, मर्जर प्रक्रिया सुरु हुँदा मर्जपछि बन्ने बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (लक्ष्मी बैंकबाट हुने प्रारम्भिक सहमति भएको थियो। तर, पछिल्लो समय दुगडले अध्यक्षमा दाबी पेस गर्नुका साथै सनराइजका कर्मचारीहरूको बढुवा गर्ने निर्णय गरेका कारण मर्जर प्रक्रिया नै भाँडिने शंका उब्जिन थालेको छ।
मर्जर समितिलाई जानकारी नदिई कम्पनी सचिवले भित्रभित्रै केही कर्मचारीलाई ‘सिनियर’ (वरिष्ठ) पदमा बढुवा गरेको भन्दै लक्ष्मी बैंकले प्रश्न उठाएको छ।
दुगडले अध्यक्षमा दाबी गरे पनि नियामकीय प्रावधानले भने उनलाई तत्कालै सनराइज बैंक सञ्चालक/अध्यक्षबाट हट्नुपर्ने परिस्थिति सिर्जना भएको छ। ‘एकीकृत निर्देशन, २०७९’ मा सम्बन्धित व्यक्तिमात्र नभएर कुनै पनि फर्म तथा कम्पनी कालोसूचीमा परेको भए कालोसूचीमा रहेको अवधि र कालोसूचीबाट हटेको तीन वर्षसम्म त्यस्तो फर्म तथा कम्पनीका तर्फबाट सञ्चालक मनोनयन/नियुक्तिका लागि योग्य नमानिने व्यवस्था छ।
दुगडका केही कम्पनी कर्जा सूचना केन्द्रको कालोसूचीमा चढेको पाइन्छ। महालक्ष्मी विकास बैंकमा ४५ लाख रुपैयाँ ऋणका लागि जमानी भुक्तानीमा विवेक अटोमोबाइल्स कालोसूचीमा परेका कारण उनका सबै बैंकका खाता रोक्का छन्। यसआधारमा मर्जपछि दुगड लक्ष्मी बैंकमा सञ्चालक बन्ने स्थिति नरहनेमात्र होइन, तत्कालै सनराइज बैंकबाट बाहिरिनुपर्ने स्थिति सिर्जना भइरहेको छ।
अर्कातिर, एकीकृत निर्देशनमै सञ्चालक र उसका एकाघरका परिवारका सदस्य वा सदस्य सम्मिलित १० प्रतिशतभन्दा बढी संस्थापक सेयर धारण गरेका फर्म, कम्पनी र संस्थालाई पनि ऋण दिन बन्देज गरिएको छ।
मर्जर प्रक्रियामा रहेको लक्ष्मीमा दुगडको ठूलो मात्रामा ऋण रहेकाले अध्यक्षको त कुरै छाडौं, सञ्चालकका रूपमा सञ्चालक समितिमा प्रवेश नै मुस्किल बनाएको छ। यद्यपि, उनी केन्द्रीय बैंकलाई प्रभावमा राखेर आफ्नो अध्यक्षता कायम गर्न लालायित देखिन्छन्।
केन्द्रीय बैंक मर्जरको प्रक्रिया नसक्दासम्म मौन बसेको रणनीतिको फाइदा उठाउने चक्करमा दुगडले लक्ष्मी बैंक सञ्चालकमा अध्यक्षको दाबी अघि सारेको स्रोतको भनाइ छ।
बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, (पाँचौं संशोधन २०७९) २०७३’ मा ‘गाभिँदा वा प्राप्ति (एक्विजिसन) का कारण साविकमा प्रवाह भइसकेको नियमित कर्जा राष्ट्र बैंकको निर्देशनविपरीत हुनसक्ने अवस्था सिर्जना हुन गए त्यस्तो अवस्थालाई भुक्तानी अवधि वा तीन वर्ष जुन अघि हुन्छ सोसम्मको समयावधिमा नियमित गर्नुपर्ने’ व्यवस्था छ।
यही व्यवस्था उपयोग गर्ने मनसाय राखेर दुगडले लक्ष्मी बैंकमा अध्यक्षको आकांक्षा राखेका हुनसक्छन्। मर्जरपछिको सञ्चालक समिति तयार गर्नुअघि केन्द्रीय बैंकबाट मर्जरसम्बन्धी अन्तिम स्वीकृति लिनुपर्ने हुन्छ।
राष्ट्र बैंकले संस्थागत सुशासन कायम गर्ने हकमा सम्झौता गर्ने स्थिति नरहने भएकाले उनको आकांक्षा परिपुरण हुन भने गाह्रो छ। त्यसको छनक केन्द्रीय बैंकले दिइसकेको मर्जर समितिका एक सदस्यले क्यापिटल नेपाललाई बताए।
सनराइज सञ्चालक समितिमा पछिल्लो चार वर्षदेखि टकराव देखिएको छ। यही कारण बैंकको वित्तीय अवस्था कमजोर हुँदै गएपछि मर्जरको दबाब बढेकाले लक्ष्मी बैंकसँग प्रारम्भिक सम्झौता भएको थियो। मर्ज सहमति भइसकेपछि सबै सञ्चालक उपस्थित भएर सनराइज सञ्चालक समिति बैठक बस्न नसकेको बैंक स्रोतले जानकारी दिएको छ।
सञ्चालक समितिमा मालचन्द दुगड, शैलेन्द्र गुरागाईं र बच्चराज तातेर अनुपस्थित रहँदै आएका छन्। हाल अध्यक्ष दुगड डेढ महिनाका लागि अमेरिका गएका छन्। सञ्चालक विवादकै कारण दुई वर्षदेखि सनराइजनमा स्वतन्त्र सञ्चालक नियुक्त हुन सकेको छैन।