काठमाडौं। नेपालमै मोटरसाइकल उत्पादन गर्दै आएको ‘यात्री’ मोटरसाइकलको चार वर्षे कठिन यात्रापछि अन्ततः नेपालमा उत्पादित सवारीसाधन दर्ताको बाटो खुल्ने भएको छ।
कानुन निर्माताले मुलुकमा सवारीसाधन उत्पादन हुनसक्छ भनेर परिकल्पना नगरेका कारण भनौं वा बेवास्ता गरेका कारण हालसम्म नेपालमा उत्पादित सवारीसाधन दर्ता हुने कानुन बनेको थिएन। तर, यात्री मोटरसाइकलको चार वर्षे यात्रामा एउटा यस्तो ‘मोड’ आयो, जसले अब नेपालमा उत्पादित सवारीसाधन दर्ता हुने भएका छन्।
यात्रीले २०७९ माघ तेस्रो साता आफ्नो ‘पि–१’ मोटरसाइकललाई स्तरोन्नति गरी बजार ल्याउने र चार महिनामा यात्री ‘पि–२’ विद्युतीय स्कुटर सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिएको थियो।
उक्त जानकारी दिएको समय यस्तो थियो, जतिबेला यातायात व्यवस्था विभागले नेपालमा उत्पादित सवारीसाधन दर्ता गर्न कार्यविधि बनाउने प्रक्रिया थालनी गरेको थियो। विभागले नेपालमा उत्पादित सवारीसाधन दर्ताका लागि त्यतिबेला नै कार्यविधि बनाउने तयारी गरेको भए पनि यो विषय खासै चासो र प्राथमिकतामा परेको थिएन।
केही सातादेखि यात्रीका विषयमा ‘यात्रीको संस्थापन विदेश पलायन भएको’ र ‘आठ महिनादेखि यात्रीको उत्पादन बन्द रहेको’ जस्ता विषयले सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्ममा निकै चर्चा पायो।
तर, यात्रीको शब्दमा यी ‘भ्रामक समाचार तथा लेख’ जसले अन्ततः नेपालमा उत्पादित भएका सवारीसाधन दर्ता हुने भएका छन्। यात्रीका विषयमा यसरी व्यापक चर्चा भएपछि आफ्नो आधिकारिक फेसबुक पेजमा एउटा पोस्ट गर्दैै यात्रीले ‘आफूहरु पलायन नभएको र नेपालमा गुणस्तरीय सवारी उत्पादन गर्न प्रतिबद्ध रहेको’ जानकारी गरायो।
‘यात्री मोटरसाइकलका संस्थापक विदेश गएको र नेपालमै विश्वस्तरीय प्रडक्ट विकास गर्ने भिजन त्यागेको भ्रामक समाचार हामीले देखेका छौं,’ यात्रीको पोस्टमा छ, ‘यो सत्य होइन। यात्री मोटरसाइकल आफ्नो भिजनमा प्रतिबद्ध छ। हामी पहिलो दिनदेखि नै यथास्थितिलाई चुनौती दिँदै अगाडि बढेका हौं। हामीलाई लगनशीलता र धैर्यताको विषयमा थाहा छ।’
यात्रीले पछिल्लो समय आफ्नो संस्थापन बाहिरिएको विषय भ्रामक भएको जनाए पनि यही कुराले सवारी दर्ताका लागि बहसको राम्रो वातावरण बनेको प्रतिक्रिया दिएको थियो।
यात्रीले भनेअनुसार नै अन्ततः यो विषय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्म पुगिसकेको थियो। नेपालमा उत्पादित सवारीसाधनले दर्ता नपाउने विषयको व्यापक विरोध भएपछि प्रधानमन्त्री दाहालले सरकारका मुख्यसचिव शंकरदास बैरागीमार्फत नेपालमा बनेको सवारीसाधन दर्तासम्बन्धी कानुनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न निर्देशन दिए।
अर्थात, यात्रीले भ्रामक र असत्य भनेर भनेको सोही ‘विदेश पलायन भएको’ र ‘उत्पादन बन्द गरेको’ विषयका कारण नै यात्रीले वर्षौंदेखि भोग्दै आएको नेपालमा उत्पादित सवारी दर्ता समस्या समाधान हुने भएको हो। यो यात्रीका लागिमात्र नभएर नेपालमा सवारी उत्पादन गर्न चाहने जो–कोहीका लागि पनि महत्वपूर्ण उपलब्धी सावित भएको छ।
दर्ता नै नहुँदा चार वर्षदेखि निरन्तर उत्पादन
यात्री मोटरसाइकल चार वर्षअघि नेपालमै डिजाइन, विकास र उत्पादन गर्ने गरी स्थापना भएको ‘ब्रान्ड’ हो। स्थापनादेखि यात्रीले करिब १ सय मोटरसाइकल उत्पादन गरेर बिक्री गरिसकेको छ।
तर, दर्ता नभएका कारण यात्री मोटरसाइकल प्रयोगकर्तालाई ट्राफिक प्रहरीले पटक–पटक दुःख दिने गर्र्यो भने यात्रीले दर्ताका लागि लामो समयदेखि कोसिस गर्दा पनि दर्ता हुन सकेन। जसका कारण यात्रीको उत्पादनले गति लिन सकेन भने प्रयोगकर्ताले पनि खुला ढंगले खरिद गरेर प्रयोग गर्ने वातावरण बनेन। तर, यात्रीले मोटरसाइकल उत्पादन बन्द नगरेको र विदेश पलायन नभएको भन्दै फेसबुक स्टाटसमार्फत जानकारी दिइसकेको छ।
‘म आधिकारिकरूपमा अहिले यात्रीसँग जोडिएको छैन। मेरा भाइहरूले यात्री मोटरसाइकल सुरु गर्दा मैले केही सहयोग गरेको हो,’ यात्रीको सुरुवातकालका सल्लाहकार निकोलश पाण्डेले क्यापिटल नेपालसँग भने, ‘तर, अहिले कम्पनी के भएको छ मलाई त्यसको बारेमा कुनै जानकारी छैन। कुनचाहिँले के लेखिदियो भनेर अहिले मलाई फोन गरेर भाइहरूले सोध्ने गरेका छन्।’
उनले हाल भाइहरू नेपालमा नरहेको र केही समयअघि विदेश गएको जानकारी दिए। तर, नेपालमा उत्पादन बन्द गरेर विदेश पलायन भएको वा नभएको भन्ने आफूलाई जानकारी नभएको उनले बताए। ‘हाल भाइहरू विदेशमा छन्। कम्पनीले दर्ता नपाएको कुरा भने सत्य हो,’ पाण्डेले भने, ‘तर, संस्थापक वा कम्पनी पलायन भयो भन्ने विषयबारे मलाई कुनै जानकारी छैन।’
उनले आठ महिनादेखि उत्पादन बन्द गरेको भन्ने विषय पनि आफ्नो जानकारीमा नरहेको बताए। यात्री मोटरसाइकल अशिम पाण्डेसहित अशेष श्रेष्ठ, कनिष्क सुवाल, सुलभ श्रेष्ठ, कृष्ण श्रेष्ठ, सार्थक शर्मा, बत्सल पाण्डेलगायतको टिमले सुरु गरेको थियो। यात्रीले दर्ता नपाएको भए पनि चार वर्षदेखि आफ्नो सवारी उत्पादनलाई भने निरन्तरता दिँदै आएको थियो।
नेपालमा उत्पादित सवारी दर्ता कार्यविधि बन्दै
यात्री मोटरसाइकलबारे पछिल्लो समय भएको चर्चा र प्रधानमन्त्रीको निर्देशनपछि नेपालमा उत्पादित सवारीसाधन दर्ता कार्यविधि बन्न लागेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार अब तत्कालै सवारीसाधन दर्तासम्बन्धी कार्यविधि स्वीकृत हुनेछ। नेपालमा कुनै सवारीसाधन दर्ताका लागि भन्सार प्रज्ञापनपत्र र भन्सार महसुल तिरेको रसिद अनिवार्य छ। सोही कारण यात्री मोटरसाइकल दर्ता हुन सकेको थिएन। तर, यो कार्यविधि बनेपछि भने यात्री तथा नेपालमा उत्पादित सवारीले दर्ता हुन पाउनेछन्।
नेपालमा उत्पादित सवारीसाधन दर्ता प्रक्रियामा देखिएको कानुनी जटिलता हल गर्न सम्बन्धित कानुन संशोधन गरी मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय भइसकेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव गणेशप्रसाद पाण्डेको संयोजकत्वमा बसेको बैठकले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा आवश्यक संशोधन गरी नेपालमा उत्पादित सवारीसाधन दर्ता गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तीन दिनभित्र आवश्यक व्यवस्था मिलाउने निर्णय भएको हो।
छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव एवं पदाधिकारीका अतिरिक्त यातायात मन्त्रालय, कानुन मन्त्रालय, यातायात व्यवस्था विभाग, यात्रीका पदाधिकारीको उपस्थिति थियो।
अबको नयाँ कार्यविधिमा नेपालमै उत्पादित सवारीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क निकासी गर्दाको रसिद बुझाएर सवारी दर्ता गर्न सकिने व्यवस्था गर्ने जनाइएको छ।
यो कार्यविधि स्वीकृत हुनेबित्तिकै केही दिनमा नै यात्री मोटरसाइकल दर्ता हुने पनि जनाइएको छ। दर्ताका लागि लामो समयदेखि प्रयास गर्दै आएको यात्रीको सपना साकार हुनेछ भने अन्य उत्पादन गर्न चाहने कम्पनीका लागि पनि सहज वातावरण सिर्जना हुनेछ।