काठमाडौं। येज्दी ब्राण्डको ‘येज्दी एड्भेन्चर’ मोटरसाइकल नेपाल आउने भएको छ। येज्दी एड्भेन्चर मोटरसाइकल नेपाली बजारमा जावा मोटरसाइकल बिक्री गर्दै आएको अग्नी ग्रुप अन्तर्गतको अग्नी मोटोइंकले ल्याउन लागेको हो।
कम्पनीका अनुसार सुरुमा दुई कलर अप्सनमा मोटरसाइकल आउने छ। कालो कलरको मूल्य ९ लाख ९८ हजार र सिल्भर कलरको मूल्य ९ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ।
येज्दी एड्भेन्चरमा ३३४ सीसी सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन रहेको छ। यो इन्जिन जावा पेराकबाट लिइएको भएता पनि यसलाई एड्भेन्चरका लागि ट्युन गराइएको छ।
यो इन्जिनले ३०.२ पीएस पावर ८००० आरपीएममा र २९.९ पीएस पावर ६५०० आरपीएममा जेनेरेट गर्छ। यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ।
‘येज्दी एड्भेन्चर’को फ्रन्टमा टेलीस्कोपिक सस्पेन्सन तथा रियरमा प्रि–लोड एड्जष्टेवल मोनोसक सस्पेन्सन उपलब्ध छ। त्यसैगरी यस मोटरसाइकलमा रहेको २२० एमएम ग्राउन्ड क्लियरेन्सले अफरोड राइडिङमा चालकलाई सहजता प्रदान गर्ने देखिन्छ।
ब्रेकिङमा दुबै तर्फ डिस्क ब्रेक उपलब्ध रहेको मोटरसाइकलमा डबल च्यानल एबीएस फिचर दिइएको छ। यसको फ्रन्टमा २१ इन्च र रियरमा १७ इन्चको डबल पर्पस टायर रहेको छ।
यसमा कनेक्ट फिचरसमेत उपलब्ध छ। जसमा चालकले टर्नवाइटर्न नेभिगेशन र ब्लुटुथ कनेक्टीभीटी मार्फत फोन कनेक्ट गर्न सक्छन्।
त्यस्तै यसमा एलइडी इलुमीनेसन, यूएबी पोर्ट र टाइप सी चार्जिङ पोइन्ट उपलब्ध छ। यो मोटरसाइकल केही समय भित्रनै नेपाली बजारमा सार्वजनिक गर्ने कम्पनीले जनाएको छ।