काठमाडौं। गोल्छा परिवारको स्वामित्वमा रहेको हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडको व्यापारमा उछाल आएको छ। एक वर्षको अवधिमा उद्योगको कारोबार ३६.४० प्रतिशत बढेर १५ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ पुगेको छ।
सन् २०२१ मा उद्योगले ११ अर्ब ४७ करोड ५६ लाख रुपैयाँको कारोबार गरेको थियो। एक वर्षको अवधिमा हुलास स्टिलको कारोबार ४ अर्ब १७ करोड ८० लाख रुपैयाँ बढेको उद्योगले सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ।
२०२० मा ६ अर्ब १४ करोड ४९ लाख र २०१९ मा ८ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ कारोबार गरेको थियो। कोरोना महामारीले दुई वर्ष उद्योगको कारोबार घटेको थियो। तर, पछिलो वर्ष बढेको वित्तीय विवरणले देखाएको छ।
उद्योगले ८ अर्ब ७५ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ।
उद्योग सन् २००६ मै पब्लिक लिमिटेडमा रुपान्तरण भएको हुलासमा चान्र्ले डेभलपमेन्ट कम्पनीको ५० प्रतिशत हिस्सा छ। यस्तै गोल्छा परिवारको ५० प्रतिशत हिस्सा छ।
उद्योगमा जयश्री गोल्छाको २१ प्रतिशत, हिमान्सु गोल्छा, हितेश गोल्छा र हुलास मेटल क्राफ्टको ६ ६ प्रतिशत स्वामित्व छ ।
हुलास स्टिलले विभिन्न प्रकारका जस्तापाता उत्पादन गर्छ। कम्पनीसँग वार्षिक ४ लाख ८१ हजार टन उत्पादन क्षमता छ।
उद्योग सन् १९८१ मा स्थापना भएको हो। हुलास स्टिल सेकेन्डरी स्टिल उत्पादक उद्योग हो। उद्योगले विभिन्न किसिमका जस्तापाता, पाइप र स्टिल पोलको उत्पादन गरिरहेको छ।