काठमाडौं। बैंक तथा वित्तीय संस्थाले ऋण असुली तीव्र पारेपछि कर्जा विभागहरूमा (रिकभरी टिम) नै व्यापक हेरफेर गर्न थालिएकाे छ।
कतिपय ऋणीसँग कर्जा विभागका कर्मचारीको सम्बन्ध हुने र कर्जा उठाउन कडा हुन नसक्ने अवस्था आँकलन गरेर बैंकहरूले चालू आर्थिक वर्ष अन्तिम त्रैमास सुरु भएसँगै कर्जा विभागहरूमा व्यापक हेरेफेर गर्न थालेका हुन्।
केही वर्षदेखि न्यून बिन्दुतिर रहेको खराब (निष्क्रिय) कर्जा चालू आर्थिक वर्ष तेस्रो त्रैमास सकिँदा ह्वात्तै बढेर औसत ३.३ प्रतिशत पुगेपछि बैंकहरू आत्तिएर छिटो ऋण असुली गर्न केन्द्रित भएका हुन्। त्यसै पनि अहिले अर्थतन्त्र सुस्ताएको छ।
सुस्त अर्थतन्त्रमा ऋणी (व्यवसायी तथा व्यक्ति) हरूले समयमै ऋणको साँवा-ब्याज र किस्ता तिर्न नसक्ने भनेर हात उठाएपछि असुलीका विभिन्न उपाय अवलम्बन गर्ने प्रक्रियाअन्तर्गत कर्मचारीको हेरफेर गरिएको एक बैंकरले बताए।
यद्यपि, बैंकरहरूले यसलाई नियमित प्रक्रिया भनिरहेका छन्। अन्य बेला साउन-भदौमा कर्मचारी परिवर्तन गर्ने गरिए पनि चालू वर्ष वैशाख लागेसँगै कर्मचारी हेरफेर गरी ऋण असुलीलाई प्राथमिकतामा राखेका हुन्।
ऋणीसँग रिकभरी टिमको कुशल सम्बन्ध हुने र उनीहरूले कर्जा तिर्नका लागि दबाब दिन नसक्ने भएकाले प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूले कर्मचारीलाई एकबाट अर्काे विभागमा सारेका हुन्।
सिइओमाथि सञ्चालक समितिले नाफामा संकुचन आएसँगै दबाब सुरु गरेका छन्। ‘ऋण असुलीलाई गम्भीर नलिने हो भने चालू वर्ष कुनै-कुनै बैंकले लाभांश नै दिन नसक्ने अवस्था बनिरहेको छ,’ बैंकका एक सञ्चालकले भने, ‘यस्तो बेला व्यवस्थापनअघि गम्भीर हुनुपर्छ। वित्तीय विवरणमा नाफा देखिन्छ। तर, वितरणयोग्य नाफा लाखमा झरेको छ।’
सञ्चालक समितिको दबाबपछि बैंकका सिइओहरूले आफूमातहतका कर्मचारीलाई रातिसम्म बसाएर विवरण माग्ने, असुलीका लागि भएका प्रक्रिया बुझ्न थालेका छन्।
‘अहिले बैंकको शक्ति रिकभरीमै लागेको छ। कर्जा प्रवाहबारे बैंकभित्र छलफल नै हुन छाड्यो,’ एक बैंकका कर्मचारीले भने, ‘हरेक दिनको मिटिङमा कुनै ऋणीसँग असुली भयो कि भएन भनेर विवरण पेस हुन्छ।’
बिहानको मिटिङमा ऋणीसँग कुन तरिकाबाट सम्पर्क गर्ने र बेलुका त्यही ऋणीसँग के कस्तो वार्तालाप र प्रगति भयो भनेर सिइओलगायत उच्च व्यवस्थापकबीच विवरण राख्नुपर्ने बाध्यता छ।