काठमाडौं। सेयर बजारले बल्ल सकारात्मक संकेत देखाएको छ। नेप्से सूचकमा दोहोरो अंकको वृद्धि हुँदा खरिद बिक्री रकम भने सामान्य रहेको छ। मंगलबार नेप्से सूचक १७.३६ अंकले बढेर १९०५.६८ बिन्दुमा आएको छ।
केही दिनअघि १८ सयको लाइनमा झरेको बजार मंगलबार पुनः १९ सयकै लाइनमा आएको हो। यस दिन ८८ करोड ५५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यसअघि बजार निरन्तर घट्दै १८ सयकै लाइनमा आयो।
१९ सय बिन्दुबाट पनि तल झरेपछि अब बिस्तारै क्रेताहरु सक्रिय हुन लागेको संकेतहरु देखिएका छन्। तथापि, नेप्सेले अझै रफ्तार लिन भने सकेको छैन। लामो समय थला परेको बजारले बुलिस यात्रा तय गर्न केही समय लाग्ने गर्छ।
नेप्सेअघि बढ्नका लागि बजारमा नयाँ लगानीकर्ताको प्रवेश हुनुपर्छ। नीतिनियम सेयर बजारमैत्री बन्नुपर्छ। यस्तै, आम लगानीकर्ताको मनोबल पनि सकारात्मक हुनुपर्छ।
नेप्से बियरिस साइकलमा गएको पनि करिब २० महिना भइसकेको छ। यसबीच लगानीकर्ताले खरबौं सम्पति गुमाएका छन्। तरलता अभाव, चर्को ब्याजदर र पुँजी बजार विरोधी नीतिनियम एकसाथ बजारले सहन गर्नु परेको हो।
यिनै पक्षहरुलाई बजारले एकसाथ व्यहोर्नुपर्दा नेप्से लामाे समयदेखि बियरिस चक्रमा फसेको हो। तर अब भने अवस्था अलि परिवर्तन हुँदैछ। अर्थतन्त्रका सूचकहरुमा सकारात्मक संकेत देखिएका छन्। बैंकहरले ब्याजदर घटाउन थालेका छन्। तरलता सहज हुँदै गएको छ।
सेयर बजारलाई सबैभन्दा बढी प्रभािवत बनाउने ब्याजदर घट्न थालेकाले आम लगानीकर्ता सकारात्मक बन्दै जान सक्ने वातावरण बनेको हो। यसअघिका उदाहरण हेर्दा पनि ब्यादजर घटेपछि मात्रै सेयर बजारमा उत्साह आउने गरेको पाइन्छ। तर शिथिल भएको बजार एकैसाथ दौडिन भने सक्दैन, बिस्तारैअघि बढ्ने मात्र हो। अब धितोपत्र बोर्डले नयाँ ब्रोकरलाई लाइसेन्स खुला गर्दैछ। यस्तै, नयाँ स्टक एक्सचेन्ज पनि आउँदैछ।
नयाँ ब्रोकर थपिएपछि गाउँगाउँसम्म सेवा विस्तार हुने र सोही अनुसार नयाँ लगानीकर्ताको प्रवेश हुने अनुमान गरिएको छ। यसले सेयर बजारलाई अघि बढाउन सहयोग पुग्ने जानकारहरुको बुझाई रहेको छ। त्यति मात्र होइन, यतिबेला सेयर बजारमा केही व्यवहारिक र नीतिगत अवरोधहरु रहेका छन्।
पुँजीगत लाभकर घटाउन लगानीकर्ताले माग गरेका छन् । यस्तै, सेयर धितोमा जोखिमभार घटाउनुपर्ने अवस्था छ। सेयर धितो कर्जामा १२ करोडको सीमाले पनि लगानीकर्तालाई मनोवैज्ञानिक असर गरेको छ।
यी नीतिगत र व्यवहारिक समस्याको आगामी बजेट र मौद्रिक नीति समीक्षाबाट सम्बोधन हुन सक्यो भने अवश्य पनि लङ रनमा बजारले नयाँ उचाई बनाउन सक्नेछ।
यस दिन २६४ कम्पनीको २७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्र स्थानमा छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः कालिञ्चाेक दर्शन र नबिल बैंक परेका छन्।