काठमाडौं। नेपालमा सञ्चार तथा सूचना प्रविधि दिवस सप्ताह रुपमा मनाइने भएको छ। ‘सञ्चार तथा सूचना प्रविधि दिवस मे २ को महत्व र सुरक्षित सूचना प्रविधी, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ उक्त दिवस सप्ताहभर मनाइन लागिएको हो।
सुरक्षित सूचना प्रविधी, सुशासन र समृद्धि भन्ने मूल नाराका साथ सरकार र नीजी क्षेत्रले संयुक्त रूपमा सञ्चार तथा सूचना प्रविधी दिवस मनाउन लागेको कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)ले जनाएको छ।
हरेक वर्षको २ मेमा मनाउने गरिएको आइसिटी डे नेपालमा निजी र सरकारी दुवै तवरबाट मनाइदै आइएको छ।हरेक वर्ष जस्तै यो वर्ष पनि सरकारले विभिन्न पाँच वटा विधामा आइसिटी अवार्ड प्रदान गर्ने निर्णय गरेको महासंघले जानकारी दिएको छ। यस वर्ष विभिन्न कार्यक्रम गरी दिवस मनाउने तयारी गरिएको महासंघका महासचिव, चिरन्जिबी अधिकारीले जानकारी दिए।
‘सरकारी तवरले पनि व्यापक ढंगले मनाउन थालिएको छ। जुन एउटा स्वागतयोग्य कुरा हो,’ महासचिव अधिकारीले भने, ‘नेपालमा पहिलोपटक कम्प्युटर मे महिनाको पहिलो हप्तामा भित्रिएको तथा क्यान महासंघको स्थापना पनि मे महिनाको पहिलो हप्तामा नै भएको हुदाँ मे २ लाई राष्ट्रिय सञ्चार तथा सूचना प्रविधी दिवसका रूपमा मनाइँदै आएको छ। २ मेलाई आइसिटी डेका रूपमा मनाइने भए तापनि तथा आज २४ अप्रिलदेखि नै आइसिटी सप्ताह सुरु भइसकेको छ।’
उनले यो सप्ताहभरी नै आइसिटी सम्बद्ध संघसंस्थाले सञ्चार तथा सूचना प्रविधी जनचेतनामूलक सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए। आइसिटी डे लाई अझ व्यापक बनाउन सम्मेलन, प्रभातफेरीलगायतका कार्यक्रम गरी राष्ट्रिय अन्तर्राष्ट्रियस्तरको बनाउने पहल भइरहेको उनको भनाइ छ।
‘राजधानीमा मात्रै होइन क्यान महासंघका प्रदेशरजिल्ला शाखाको समन्वयमा विभिन्न प्रदेश र जिल्लामा पनि ‘आइसिटी डे’ सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू हुने छन्’ उनले भने।