काठमाडौं । काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबई जहाजको एउटा इञ्जिन फेल भए पनि पाइलटले काठमाडौंमा अवतरण गरेनन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार जहाजका पाइलटले दायाँ भागको इन्जिनमा समस्या देखिएको एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराए। तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेनन्।
`समस्या भए पनि जहाज आफ्नो गन्तव्यमा जान खोजेको जस्तो देखिन्छ, तर यहीँ अवतरण गर्ने पाइलटले बताएका छैनन्,’ स्रोतले भन्यो, ‘पाइलटले वी विल कन्टिन्यु भनेका छन्।’
ती अधिकारीका अनुसार पाइलटले विमान भारतमा अवतरण गर्नसक्छन्। ‘दुबई उडान गर्ने जोखिम पाइलटले नलिन सक्छन्, भारतमा मर्मतका लागि सुविधासँगै सहजता हुने भएकाले त्यो निर्णय लिएको हुनसक्छ,´ ती अधिकारीले भने।
सुरुमा जहाजमा समस्या देखिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरण गर्ने तयारी गरिएको थियो। काठमाडौंमा सम्भव नहुने देखिएपछि भारतको लखनऊमा अवतरण गर्ने तयारी गरिए पनि जहाजमा कुनै समस्या नदेखिएको र सिंगल इन्जिनको भरमा दुबई पुग्न सकिने भएपछि त्यसतर्फ यात्रा तय गरेको जनाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आगलागी भएको भनिएको फ्लाई दुबईको जहाज सुरक्षित आफ्नो गन्तव्य दुबइतर्फ लागेको जानकारी दिए।