काठमाडौं। तनहुँ क्षेत्र नम्बर १ नेपाली कांग्रसका उम्मेदवार गोविन्द भट्टराईले पराजलाई स्वीकार्दै जनतामाझ विश्वासयोग्य बनाउन अझै प्रयासरत रहने प्रतिवद्धता व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै गोविन्दले तनहुँका जनताको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न नसकेको बताउँदै आगामी दिनमा विश्वासयोग्य बनाउन अझ प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। तनहुँमा प्रकट जनादेशलाई शिरोपर गर्ने उनले स्पष्ट पारेका छन्।
गोविन्दको भनाइ जस्ताको त्यस्तै
हुन त पदलाई मैले कहिल्यै प्राथमिकतामा राखिनँ । पदमा नरहे पनि तपाईंको पीडाले मलाई छोइरह्यो ।
ठूला आदर्शभन्दा तपाईंको व्यवहारिक समस्या समाधानलाई आदर्श मानेर बीपीको समाजवादबाट प्रेरित भएर चार दशक लामो यात्राका क्रममा तपाईंसँग रहेको हुँ । यसक्रममा पार्टीले मलाई विश्वास गरेर तनहुँ १ को उप निर्वाचनमा उम्मेदवार बनाउँदा तपाईंसँगको निकटताका आधारमा जुन आत्मविश्वासका साथ मैदानमा उत्रिएँ, मैले साथ पनि पाएँ ।
मलाई विश्वास गरेर सधैं सकारात्मक प्रतिक्रिया र उत्साह दिएर मप्रतिको विश्वास मतमार्फत प्रकट गर्नुहुने तपाईं सबैप्रति आभार प्रकट गर्दछु ।
चुनावी घरदैलोका क्रममा मेरो विगतप्रतिको तपाईंको विश्वासले धेरै नभए पनि केहीका लागि सानो आशा पैदा गराउन सकेको रहेछु भन्ने कुराले सानो खुशी पनि दिलाएको महसुस गरें । साथै, मप्रति विश्वास नगर्नुहुनेप्रति पनि आभार प्रकट गर्दछु ।
सायद, मेरो तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, यसले मलाई तपाईंको विश्वास योग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ । तपाईंहरुको जनादेशलाई शिरोपर गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
उही तपाईंको
गोविन्द