काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकार क्षेत्र बढाउने गरी राष्ट्रियसभाले पारित गरेको विधेयकको व्यवस्था हटाउन प्रमुख दलहरुले संशोधन दर्ता गरेका छन्।
राष्ट्रियसभाले निजी क्षेत्रमा समेत अख्तियारले अनुसन्धान र मुद्दा चलाउने अधिकारकाे व्यवस्था भएकाे विधेयक पारित गरेकाे थियाे। उक्त विधेयक हटाउनका लागि दलहरुले प्रतिनिधिसभामा संशोधन दर्ता गराएका हुन्।
कांग्रेस सांसद आरजु राणा, रामहरि खतिवडा, श्याम घिमिरे, एमालेका प्रेमलाल महर्जन, स्वतन्त्र पार्टीका सुमना श्रेष्ठ, एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलगायतले राष्ट्रिय सभाले पारित गरेको विधेयकको उक्त व्यवस्था हटाउन संशोधन दर्ता गरेका हुन्।
उक्त व्यवस्था हटाउन नेपाल उद्योग वाणिज्य महासंघले लविङ गर्दै आएको थियो। महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वले कांग्रेस, एमालेका शीर्ष नेता र प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेर विधेयकबाट सो व्यवस्था हटाउन आग्रह गरेको थियो। राजनीतिक दलका प्रमुख नेताहरु र प्रधानमन्त्रीलाई समेत उनीहरुले ध्यानाकर्षण गराएका थिए।
विधेयकमाथि संशोधनको समय आइतबार सकिएको छ। कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी लगायतका दलहरुले निजी क्षेत्रलाई अख्तियारको अधिकार क्षेत्रमा नराख्ने प्रस्ताव गरे।
दलहरुको संशोधनअनुसार प्रतिनिधिसभाबाट विधेयक पारित भएपछि निजी क्षेत्र अख्तियारको अधिकार क्षेत्रबाट बाहिर आउने छ। प्रतिनिधिसभाबाट पारित विधेयक राष्ट्रियसभाले स्वीकार गर्नुपर्ने छ।