काठमाडौं। तीन महिनाअघि काठमाडौंमा सुरु भएको ‘फाइभ-जी’ परीक्षण प्रगति शून्य अवस्थामा रहँदा पोखरा र वीरगन्जमा परीक्षण विस्तार गर्ने तयारी भएको छ।
सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले काठमाडौंमा फाइभ-जीको आन्तरिक परीक्षण सुरु गरेको करिब तीन महिना पुगेको छ। परीक्षण सुरु गरेको तीन महिनामा यसको उपलब्धी वा परिणाम यस्तो र यति भयो भन्ने अवस्थामा अझै पनि टेलिकम पुग्न सकेको छैन।
तर, काठमाडौंमा भइरहेको परीक्षणको परिणाम बताउन सक्ने अवस्था नबन्दै पुनः पोखरा र वीरगन्जमा फाइभ-जीको आन्तरिक परीक्षण सुरु गर्न टेलिकम हतारिएको छ।
नेपाल टेलिकमका सहप्रवक्ता परमात्मा भट्टराई पोखरा र वीरगन्जमा फाइभ-जीको आन्तरिक परीक्षण कार्य सुरु गर्न ‘सिस्टम’ जडान तथा अन्य प्राविधिक तयारीको काम भइरहेको बताउँछन्।
‘काठमाडौंपछि पोखरा र वीरगन्जमा पनि फाइभ-जी परीक्षण सुरु गर्न सोही हिसाबले उपकरण जडान हुँदैछन्,’ सहप्रवक्ता भट्टराईले क्यापिटल नेपालसँग भने, ‘परीक्षण यही दिनबाट गर्ने भनेर ठ्याक्कै मिति तोकिएको छैन। उपकरण जडान भए पनि यसले काम गर्छ वा गर्दैन भन्ने हिसाबले परीक्षणको सामान्य प्रक्रिया अगाडि बढ्छ र सोही प्रक्रियाबाट परीक्षण कार्य अघि बढ्दै जान्छ।’
उनले यो परीक्षण एक-दुई दिनको नभएर लामो समयको हुने जानकारी दिए। काठमाडौंमा भएको परीक्षणबाट ठ्याक्कै यस्तो उपलब्धी वा नतिजा हासिल भयो भन्ने निर्क्योलमा नपुगेको उनको भनाइ छ।
‘काठमाडौंमा भइरहेको परीक्षणबाट यस्तो किसिमको नतिजा आयो भनेर भन्न सक्ने निष्कर्षमा हामी पुगेका छैनौं, त्यसको प्रक्रिया चलिरहेको छ,’ भट्टराईले भने, ‘परीक्षण कार्य सुरु गर्दा पनि अपरेटरहरूले फाइभ-जी फोन नलिएको अवस्था थियो। हाल पनि केही म्यानुफ्याक्चर तथा फाइभ-जी फोनको अभाव भएको अवस्था छ।’
उनले यी र यस्तै कारण काठमाडौंमा फाइभ-जी परीक्षणबाट नतिजा आउन नसकेको बताए। तर, काठमाडौं परीक्षणको अवस्था यस्तो हुँदाहुँदै पोखरा र वीरगन्जमा तत्कालै परीक्षण सुरु गर्न टेलिकम लागिपरेको छ।
‘सबै प्रदेशका मुख्य सहरमा परीक्षण गर्ने योजनाअनुसार दोस्रो चरणमा पोखरा र वीरगन्जमा सिस्टम टेस्टिङको काम हुन लागेको हो,’ भट्टराईले भने, ‘मुलुकका कुन-कुन ठाउँमा कस्तो-कस्तो हुन्छ र ठाउँअनुसार फरक हुन्छ वा हुँदैन भनेर परीक्षण सुरु गर्न लागिएको हो।’
टेलिकमले २०७९ माघ २२ देखि काठमाडौंमा फाइभ-जीको आन्तरिक परीक्षण थालेको थियो। जसअनुसार कम्पनीले आफ्नो बबरमहल र सुन्धारास्थित कार्यालयबाट फाइभ-जी नेटवर्कको आन्तरिक परीक्षणको सुरुवात गरेको थियो।
नेपाल दूरसञ्चार प्राधिकरणले फाइभ-जी परीक्षणका लागि नेपाल टेलिकमलाई २६०० मेगाहर्ज ब्यान्डअन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ।
फाइभ-जी विश्वबजारमा विस्तार भइरहेको पछिल्लो मोबाइल नेटवर्क हो। फाइभ-जीलाई सन् २०१९ बाट प्रयोगमा ल्याइएको थियो। यसमा सामान्यतया २० गिगाबाइट (२० हजार मेगाबाइट) प्रतिसेकेन्डसम्म डेटा सार्ने क्षमता हुन्छ।
यसअघि पहिलो पुस्ताको मोबाइल नेटवर्कमा २ किलोबाइट प्रतिसेकेन्ड डेटा सार्ने क्षमता थियो भने दोस्रो नेटवर्क टु-जीमा ६४ किलोबाइट प्रतिसेकेन्ड डेटा सार्न सक्ने क्षमता थियो। त्यस्तै थ्रि-जी नेटवर्कमा सरदर ३ मेगाबाइट (३ हजार किलोबाइट) प्रतिसेकेन्डसम्म डेटा सार्ने क्षमता थियो भने फोर-जीमा २० मेगाबाइट प्रतिसेकेन्डसम्मको क्षमता छ।
फोर-जी नेटवर्कले उच्च गति चाहिने लाइभ भिडियो स्ट्रिमिङ र अनलाइन गेमिङजस्ता प्रयोजनलाई पनि मोबाइलबाटै सम्भव बनाएको छ। यसमा उपलब्ध डेटा सार्ने क्षमताले तार जोडेरै पुर्याउनुपर्ने केबुल इन्टरनेट र अप्टिकल फाइबरलाई पनि एकखालको विकल्प दिएको छ।
तर, फाइभ-जी नेटवर्कका केही पूर्वाधार थ्रि-जी वा फोर-जी नेटवर्कभन्दा फरक हुन्छन्। यसका लागि नजिक-नजिक दुरीमा ‘रिपिटर डिभाइस’ राखिन्छ। यस्ता डिभाइसलाई फाइभ-जी सेल टावर भनिन्छ।
मुख्यतः फाइभ-जी फोर-जी वा थ्रि-जीजस्ता अघिल्लो पुस्ताको नेटवर्कभन्दा अझ ‘एडभान्स’ र विशिष्ट छ। त्यसैले फाइभ-जीलाई ‘इन्टरनेट अफ थिङ्स’, ‘भर्चुअल रियालिटी’, ‘अग्मेन्टेड रियालिटी’ जस्ता अत्याधुनिक डिजिटल वातावरणको मुख्य पूर्वाधार मानिन्छ।
फाइभ-जी नेटवर्क गतिका हिसाबले उच्च छ भने यसले कम विद्युतीय शक्ति खर्च गर्ने भएकाले मोबाइल डिभाइसको ब्याट्री लामो समय टिकाउ हुने पनि बताइन्छ।
यसले ‘क्लाउडबेस’ कम्प्युटर स्रोतहरूको उपयोगलाई प्रोत्साहित गर्ने बताइएको छ। यसमा उद्योग वा कार्यालयहरूको खर्चमा कमी ल्याउने विशेषता उपलब्ध छ।