काठमाडौं। जहाज, सम्पत्ति र ‘ब्रान्ड’ का हिसाबले निजी क्षेत्रको सबैभन्दा ठूलो आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरका पूर्वसञ्चालक शिवेन्द्रबहादुर बस्नेत अमेरिकामा शरणार्थी ‘स्टाटस’ मा बसोबास गरिरहेको खुलेको छ। उनले शरणार्थीकै हैसियतमा अमेरिकाको नागरिकतासमेत लिएका छन्।
त्यतिमात्र होइन, उनले नेपालको नागरिकता भने त्यागेका छैनन्। उनको अहिलेको स्टाटस भनेको अमेरिका र नेपाल दुवैको नागरिकताबाहक हुनु हो।
अमेरिकामा पनि व्यापार गरिरहेका शिवेन्द्र बुबा सुरेन्द्रबहादुर बस्नेतको निधन हुँदा हालै नेपाल आएका थिए। हाल उनी नेपालमै छन्। उनका बुबा सुरेन्द्रबहादुरले सन् १९९७ मा बुद्ध एयर स्थापना गरेका थिए।
साढे दुई दशकअघि बुबा सुरेन्द्रबहादुरले बुद्ध एयर स्थापना गर्दा शिवेन्द्रले १४ प्रतिशत सेयर पाएका थिए भने उनका दाजु वीरेन्द्रबहादुर बस्नेतले पनि १४ प्रतिशत नै सेयर पाएका थिए।
बुद्ध स्थापनाको केही समयमै बाबुसँग खटपट परेपछि शिवेन्द्रले आफ्नो भागमा परेको सबै सेयर बेचेर बाहिरिएका थिए। सेयर बेचेर बाहिरिँदा उनले बुद्धका केही कर्मचारी पनि लगे अनि ‘माउन्टेन एयर’ स्थापना गरे।
शिवेन्द्रको परिवारनिकट स्रोतका अनुसार करिब १५ करोड रुपैयाँ ऋण लागेर कालोसूचीमा परेपछि शिवेन्द्रले हरहिसाब मिलान नगरी माउन्टेन एयर बन्द गरेका थिए। तर, बाबु सुरेन्द्रबहादुरले शिवेन्द्रलाई बुद्धमा बेचेको सेयरवापत १२ करोड रुपैयाँ दिएका थिए।
‘शिवेन्द्रले त्यसबेला पाएको १२ करोड रुपैयाँ माउन्टेन एयरको ऋण तिर्न प्रयोग नगरी कहाँ लगेर खर्च गरे भन्ने उनैलाई थाहा होला,’ सम्बद्ध स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘त्यो बेला कालोसूचीमा परेका शिवेन्द्र अहिलेसम्म कालोसूचीमै कायम छन्।’
त्यतिमात्र होइन, शिवेन्द्रले माउन्टेन एयर बन्द गरेपछि नेपालमै पहिलोपटक पाइलट तालिम दिने ‘फ्लाइङ स्कुल’ शिवानी एयर सञ्चालनमा ल्याए। भरतपुर विमानस्थललाई आधार विमानस्थल बनाएर शिवानी एयरले केही महिना दुई दर्जनजति नेपालीलाई पाइलट तालिम दिलाएको थियो।
तर, शिवेन्द्रको नियत अर्कै थियो। उनले पाइलट तालिम लिइरहेका दुई दर्जनसँग जनही ३० लाख रुपैयाँ शुल्क लिएका थिए। त्यसबाट उठेको कूल ७ करोड ५० लाख लिएर शिवेन्द्र फरार भएका थिए।
शिवानी एयरका सञ्चालक नै फरार भएपछि तालिम लिइरहेको विद्यार्थीको बिचल्ली भएको थियो। उनीहरूले नेपाल नागरिक उड्डयन प्राधिकरणदेखि प्रहरी–प्रशासन सबैतिर शिवेन्द्रविरुद्ध ठगीको उजुरी हालेका थिए।
शिवानी एयर ठगी काण्डमा मुछिएकै बेला शिवेन्द्र अनेक तिकडम गरेर अमेरिका पलायन भएका थिए। प्रहरी-प्रशासनमा उजुरी परिसकेको र माउन्टेन एयरको ऋण फरफारक नगरी कालोसूचीमै रहेको अवस्थामा शिवेन्द्र अमेरिका पुग्दा सरकारी ऐनकानुनको धज्जी उडेको थियो।
‘धेरैपटक मन्त्री भएका, पटक–पटक न्यायाधीश भएका, निर्वाचन आयुक्त भइसकेका, प्रेस काउन्सिलको पहिलो अध्यक्षसमेत भएका स्वर्गीय सुरेन्द्रबहादुर बस्नेतका कान्छो छोरा शिवेन्द्र शरणार्थी स्टाटसमा अमेरिका बसिरहेका छन् भन्दा पत्याउन मुस्किल पर्छ,’ स्रोतले भन्यो, ‘कान्छो छोरा शिवेन्द्र शरणार्थी स्टाटसमा अमेरिकी नागरिक छन्। शिवेन्द्रका दाजु वीरेन्द्र भने हाल बुद्ध एयरका कार्यकारी अध्यक्ष छन्।’
स्रोतका अनुसार भाइ शिवेन्द्र शरणार्थी स्टाटसमा कसरी अमेरिका पुगेर उतैको नागरिकता लिए भन्नेबारे दाजु वीरेन्द्र बेखबर छन्। दाजुभाइबीच पनि भेट नभएको वर्षौं भएको थियो। बाबुको निधनपछि नेपाल आएका बेला दाजुभाइको भेट भएको थियो।
स्रोतका अनुसार शिवेन्द्रले बुद्ध एयर सञ्चालनमा आएलगत्तै आफ्नो भागमा रहेको सेयर बेचेर बाहिरिएका थिए। तर, कालान्तरमा बाबु सुरेन्द्रले शिवेन्द्रकी श्रीमती अर्चनाको नाममा २५ प्रतिशत तथा तीन छोराछोरी प्रत्येकका नाममा ५/५ प्रतिशत सेयर कायम गरिदिएका थिए। हाल बुद्ध एयरमा शिवेन्द्रको नाममा एक कित्ता पनि सेयर छैन।
‘कान्छो छोरा शिवेन्द्रको अत्यधिक पैसा खर्च गर्ने बानी, विवाहेत्तर सम्बन्ध, ठगी र फट्ट्याँइ गर्ने बानीबाट आजित बाबु सुरेन्द्रले बुद्ध एयरको सेयर बुहारी र नातिनातिनाको नाममा कायम गरिदिएका थिए,’ स्रोतले भन्यो, ‘नेपालमा ऐनकानुन छ भने कालोसूची, ठगीलगायत वित्तीय अपराध र दोहोरो नागरिकताको विषयमा सरकारले शिवेन्द्रलाई तुरुन्त नियन्त्रणमा लिनुपर्छ।’
त्यसैगरी शिवेन्द्रले नेपाली नागरिकता राखेर मोरङ डाँगीहाटमा ६० बिघा जमिन आफ्नो नाममा राखेका छन्।
स्रोतका अनुसार शिवेन्द्रले दुई महिनाअघि अर्को गैरकानुनी काम पनि गरेका छन्। आफ्नी श्रीमती अर्चनासँग अदालती पारपाचुके गरेर सबै सम्पत्ति श्रीमती अर्चनाकै नाममा राखेर अंशबण्डा गरेका छन्। तर, शिवेन्द्र बस्न चाहिँ अर्चनासँगै एकाघरमै बस्छन्।
शिवेन्द्रको विवाहेत्तर सम्बन्ध पुग्यो अदालत
नेपालमा हुँदा विभिन्न वित्तीय अपराधमा मुछिएका शिवेन्द्रको विवाहेत्तर सम्बन्ध अहिले अदालत पुगेको छ।
बुद्ध एयरबाट आफ्नो नामको सबै सेयर बेचेर बाहिरिएपछि सञ्चालनमा ल्याएको माउन्टेन एयरमा कार्यरत एयरहोस्टेस बबी रायमाझीसँग नजिकिएका शिवेन्द्रले रहँदा बस्दा बबीसँगै 'विवाह' गरेका थिए। बबीबाट शिवेन्द्रकी एक छोरी छिन्।
तर, करिब दुई दशकअघिको विवाहेत्तर सम्बन्ध शिवेन्द्रलाई अहिले ‘निल्नु न ओकल्नु’ भएको छ। बबीले केही दिनअघि ललितपुर जिल्ला अदालतमा शिवेन्द्रबाट अंश दाबी गर्दै नालिस हालेकी छिन्।
तर, अर्को दुखद कुरा के हो भने शिवेन्द्रको विवाहेत्तर सम्बन्धबाट जन्मिएकी एक छोरीले हालसम्म नागरिकता प्राप्त गर्न सकेकी छैनन्। १८ वर्षकी उनी कलेज अध्ययन गर्नबाट समेत वञ्चित भएकी छिन्।
‘एउटी बच्चीले बाबुको नामबाट नागरिकता नपाउनुभन्दा विडम्बना केही हुँदैन। शिवेन्द्र भागिभागी हिँडेका छन्, उनलाई अदालतको कठघरामा ल्याउने काम प्रहरी-प्रशासनको हो,’ सम्बद्ध स्रोतले भन्यो, ‘राष्ट्रिय महिला आयोगले पनि यसमा तुरुन्तै हस्तक्षेप गर्नुपर्छ।’
शिवेन्द्रले घरमा श्रीमती र छोराछोरी हुँदाहुँदै बहुविवाह गरेका थिए। शिवेन्द्रले बहुविवाहलाई लगभग दुई दशक गुपचुप राख्न सफल भए पनि बबीले अदालतमा नालिस हालेपछि उनको विवाहेत्तर सम्बन्ध सार्वजनिक भएको हो।
‘शिवेन्द्रले बबी र छोरीलाई अमेरिकाबाटै खर्च पठाइदिने गरेका थिए। धेरैजसो ग्लोबल आइएमई बैंकमार्फत पैसा पठाउने गरेको भौचर, विवाह गर्दाका तस्बिर, छोरीको जन्मदर्तामा बाबुको नाम शिवेन्द्रकै भएको जारी प्रमाणपत्र, छोरीको स्कुलमा नाम दर्ता गर्दा शिवेन्द्रकै नाम रहेको लगायत प्रमाणसहित बबीले अदालतमा नालिस हालेकी छिन्,’ सम्बद्ध स्रोतले भन्यो।
स्रोतका अनुसार २०७४/७५ सालतिर बबीकी छोरीले बाबु–छोरीको नाता कायम गराइ पाऊँ भनेर अदालतमा मुद्दा दायर गरेकी थिइन्। तर विडम्बना, उक्त मुद्दाको म्याद गुज्रिएका कारण मुद्दा नै खारेज भएको थियो। अब दोस्रोपटक सोही प्रकृतिको मुद्दा दायर गर्न कानुनी बाधा रहेको छ। ‘त्यही भएर बबीले शिवेन्द्रविरुद्ध अंश मुद्दा दायर गरेकी हुन्,’ स्रोतले भन्यो।
यस्तो छ शिवेन्द्रको भनाइ
शिवेन्द्रले १४ वर्षअघि अमेरिकाको नागरिकता लिएको बताए। ‘म १४ वर्षदेखि अमेरिकामै बसेर व्यापार गरिरहेको छु,’ शिवेन्द्रले क्यापिटल नेपालसँग भने, ‘म गैरआवासीय नेपाली (एनआरएन) पनि हुँ। त्यही भएर अहिले भिसा लिएर नेपाल बसिरहेको छु। यहाँ बैंकिङ कारोबार एनआरएन सुविधाअन्तर्गत गरिरहेको छु।’
अमेरिकी नागरिकता र पासपोर्ट भए पनि नेपालको नागरिकता नत्यागेको उनले बताए। ‘मैले अमेरिकाको नागरिकता लिँदा यता नेपालको नागरिकता त्याग्नुपर्ने नियम थिएन,’ उनले भने, ‘अहिले के नियम छ, थाहा छैन। अहिलेलाई नेपालको एक वर्षको भिसा लिएको छु। यताको काम सकेर अमेरिका फर्किन्छु।’
बुद्ध एयरमा आफ्नो नाममा सेयर नभए पनि श्रीमती र छोराछोरीका नाममा गरी ४० प्रतिशत सेयर रहेको शिवेन्द्रले बताए।
त्यसैगरी ललितपुर जिल्ला अदालतमा अंश दाबी गर्दै एक महिला (बबी रायमाझी) ले आफूविरुद्ध दायर गरेको मुद्दाबारे शिवेन्द्रले अदालतको फैसला कुर्ने बताए।
‘बुद्ध एयरमा मेरो परिवारको सेयर ४० प्रतिशत छ। मेरो सम्पत्ति देखेर ती महिलाले मुद्दा हालेको हुनुपर्छ। उनीसँग मेरो कुनै नाता छैन,’ शिवेन्द्रले दाबी गरे, ‘मैले बहुविवाह गरेको भए अहिलेसम्म म जेल पुगिसकेको हुन्थेँ। सजिलै पैसा कमाउन खोज्नेले ब्ल्याकमेलिङ गरेर मलाई फसाउन खोजेका हुन्। अब अदालतको फैसलाबाट सबै प्रष्ट भइहाल्ने छ।’