एजेन्सी। सामाजिक सञ्जाल ट्विटरले १० लाखभन्दा बढी फलोअर्स भएका केही ट्विटर प्रयोगकर्ताको ‘ब्लु टिक’ पैसा नतिरी फिर्ता गरेको छ। इलन मस्कको ट्विटरले १० लाखभन्दा बढी फलोअर्स भएका केही ट्विटर प्रयोगकर्ताको ‘ब्लु टिक’ पैसा नतिरी फिर्ता गरेको हो।
बिबिसीका अनुसार बिबिसीको ट्विटर ह्यान्डलमा पनि सुनौलो रङको ‘ब्लु टिक’ फिर्ता आएको छ, जसका लागि उसले पैसा तिरेको छैन। त्यस्तै बिबिसीको अलावा ह्यारी केन, रिचर्ड ओस्मान र भिक्टोरिया बेकह्याम आदिले पनि आफ्नो ब्लु टिक निशुल्क फिर्ता पाएका छन्। त्यस्तै सेलिब्रेटी तथा कम्पनीको पनि निशुल्क ‘ब्लु टिक’ फिर्ता भएको पाइएको छ।
ट्विटरले अप्रिल २१ बाट पैंसा नतिरेका प्रयोगकर्ताहरुको ‘ब्लु टिक’ हटाउन सुरु गरेको थियो। ट्विटरमा यसअघि फ्री रहेको भेरिफिकेसन ‘ब्लु टिक’ पाउन इलन मस्कले कम्पनी खरिद गरेपछि भने शुल्क तिर्नुपर्ने नीति ल्याएका थिए। त्यसअनुसार कम्पनीले २० अप्रिलको अन्तिम मितिपछि पैसा नतिर्ने अकाउन्टहरुको ‘ब्लु टिक’ हटाउन सुरु गरेको थियो।
यसको सुरुवात भएसँगै ‘ब्लु टिक’ प्राप्त गर्न प्रयोगकर्ताले मासिक ८ डलर तिर्नुपर्ने व्यवस्था छ। वार्षिक तिर्नेका लागि एकमुष्ट १ सय १४ अमेरिकी डलर (मोबाइल भर्सन) लाग्छ। यसमा १२ प्रतिशत छुट दिइएको छ, तर छुटअघि १ सय ३२ डलर पर्ने देखिन्छ। मासिक तिर्नेका लागि भने ११ डलर लाग्छ। त्यस्तै डेस्टर्ब भर्सनमा १२ प्रतिशत छुट दिएर ९६ अमेरिकी डलरमा ८४ डलर वार्षिक तिर्दा हुन्छ भने मासिक तिर्दा ८ डलर लाग्छ।
पैसा तिरेर ब्लु टिक लिनेले ट्विटरलाई इडिट गर्न मिल्ने, लामो शब्दको विषयवस्तु राख्न मिल्ने जस्ता सुविधा प्राप्त गर्न सक्छन्। ट्विटरले सरकारी संस्था एवं अधिकारीलाई खैरो रङको, अन्यलाई निलो रङको र व्यापारिक अकाउन्टलाई सुनौलो रङको ‘ब्लु टिक’ उपलब्ध गराउँछ।