काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबारदेखि बिजुली आपूर्ति निरन्तर भइरहेकाे बताएका छन्।
कार्यकारी निर्देशक घिसिङले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर विराटनगरमा विद्युत काटौती हटेको बताएका हुन्। यता प्राधिकरणले बिना जानकारी विद्युत कटौती (लोडसेडिङ) गरेको भन्दै सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीहरु सडकमा उत्रिएका छन्।
विद्युत नियमित आपूर्ति माग गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङ, मोरङ व्यापार संघलगायत संस्था आन्दोलन थालेका छन्। नियमित आपूर्ति गर्न नसके लोडसेडिङको कार्यतालिका सार्वजनिक गर्न व्यवसायीले माग गरेका छन्।
विद्युत प्रधिकरणले औद्योगिक क्षेत्रमा बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि राति १० बजेसम्म दैनिक विद्युत कटौती गरिरहेको आरोप उद्योगीले लगाएका छन्।
मोरङ व्यापार संघको अगुवाईमा आइतबार विद्युत प्रधिकरण दुहवी ग्रिडमा धर्ना दिएका छन्। उनीहरुले उद्योगलाई नियमित बिजुली दिन नसके लोडसेडिङ तालिका सार्वजनिक गर्न माग गरे। अनियमित रुपमा विद्युत कटौती हुँदा उद्योगको कच्चा पदार्थमा क्षति पुग्दै आएको उद्योगीको भनाइ छ।
उद्योगी व्यावसायीले दुहबी ग्रिडका प्रमुख रोशन खड्कालाई ज्ञापनपत्र समेत बुझाएका छन्। दुहबी ग्रिडका प्रमुख खड्काका अनुसार पूर्व क्षेत्रमा गर्मी लागेपछि बिजुलीको माग दैनिक २७० देखि २८० मेगावाटसम्म पुगेको छ। आपूर्ति भने २३०देखि २४० मेगावाट छ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पिकआवरमा विद्युत खपत घटाउन उद्योगीलाई अनुरोध गरेको बताए। उनले काबेली करिडोरबाट बिजुली आपूर्ति कम भएको र सिंचाइका लागि बिजुलीको माग बढेपछि उद्योगमा असर देखिएको उनका भनाइ छ।
प्रसारण लाइन कमजोर हुँदा ढल्केबरबाट २ सय मेगावाट मात्र बिजुली आपूर्ति भइरहेको उनले जानकारी दिए। उनले आउँदो १५ दिनसम्म बिजुली आपूर्तिमा केही समस्या आउने बताए। त्यसपछि वर्खा सुरु हुने र बढी भएको बिजुली कहाँ बेच्ने चिन्ता बढेको उनले बताए।
हिउँदमा पानी नपरेका कारण बिजुली उत्पादन अघिल्लो वर्षको भन्दा ३० प्रतिशत घटेको घिसिङले बताए।