काठमाडौं। ठूला व्यवसायिक घरनाको लगानी रहेको नेसनल स्टक एक्सचेन्ज लिमिटेडले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले आइतबार निवेदन दिएका हो।
निवेदन दिने अन्तिम दिन आइतबार कार्यालय समयसम्म तोकिएको छ। नेसनलले स्टक एक्सचेन्जले सञ्चालनका लागि निवेदन दिएको धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बताए।
उनले सिद्धार्थ ग्रुप, केडिया ग्रुप, दीपक तिमिल्सिना, गैरआवासीय नेपाली संघका तर्फबाट जीवा लामिछाने, अग्नि ग्रुप र रिलायन्स ग्रुपको मुख्य लगानी रहेको जानकारी दिए।
कम्पनीमा गैरआवासिय नेपाली संघका अध्यक्ष बद्री केसी, कुल आचार्य र महासचिव गौरी जोशीको लगानी रहको बोर्डले जनाएको छ। अग्नी ग्रुपबाट क्याविनेट श्रेष्ठ सञ्चालक छन्।
शुक्रबार नै शंकर ग्रुपलगायत ठूला व्यवसायिक घरनाहरुको लगानीमा हिमालयनल स्टक एक्सचेन्ज लिमिटेडले बोर्डमा निवेदन दिएको थियो।
नयाँ स्टकका लागि ३ अर्ब रुपैयाँ पुँजी चाहिन्छ। यसमा संस्थापकको ७० र ३० प्रतिशत सर्वधारणको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ।
जसअनुसार २ अर्ब १० करोड संस्थापक र ९० करोड रुपैयाँ प्राथमिक सेयर (आइपिओ) निष्कासनबाट चुक्ता पुँजी पुर्याउने योजना छ।
निवेदन दिनेमध्येबाट बोर्डले एउटा कम्पनीलाई मात्र स्टक एक्सचेन्ज सञ्चालनको अनुमतिपत्र (लाइसेन्स) दिने छ। हाल सरकार स्वामित्वको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लिमिटेड सञ्चालनमा छ।