दमौंली। तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन केबलकारका ‘डिब्बा’ जडानको तयारी थालिएको छ। बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले सो केवलकार निर्माण गरिरहेको हो।
लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले डिब्बा जडानका लागि सम्पूर्ण टावर तयार भइसकेको र अब डिब्बा जडानको कामलाई अगाडि बढाउन लागिएको जानकारी दिए। उनका अनुसार केबलकारका २१ डिब्बा आइपुगेको छ। 'अब डबल सिफ्टमा कामलाई तीव्रता दिन्छौँ, दुईवटा सामान बोक्ने र छवटा रेष्ट्रो क्याविन आउन बाँकी छ,' उनले भने।
केबलकारको परीक्षण आगामी वैशाख २५ गतेदेखि सुरु गर्ने तयारी छ। 'केबलकारका टावर, तार सबै जोडिसकिएको छ, डिब्बा जडानको काम अब दु्रतगतिमा अगाडि बढ्छ,' उनले भने। केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालनको तयारीसमेत गरिएको छ। साँझ ५ बजेपछि केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालन हुनेछ।
विसं २०७५ साउनदेखि केबलकार निर्माणको कामलाई अगाडि बढाइएको थियो। विसं २०८० मंसिरभित्र पाँचतारे होटल, माघभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ। जेठभित्र भ्यूजरुम, असारभित्र वाक्स म्युजियम, साउनभित्र जीपलाइन, भदौभित्र बन्जी, स्काइवाक, असोजभित्र रेष्ट्रो क्याबिन सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
बन्दीपुर गाउँपालिका–४ बरालथोकमा पाँचतारे होटलको निर्माण पनि तीव्रगतिमा भइरहेको छ। केबलकार सिधै होटलभित्र छिर्ने प्रविधिसहित काम भइरहेको छ। पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ।
होटलको कोठा सङ्ख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पुु्याइएको छ। दश तल्लाको होटलसहितको भवनमा आधुनिक भ्यूटावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण हुनेछ। होटलको पूर्वाधारको काम सकिएको र फिनिसिङको काम बाँकी रहेको छ।
बन्दीपुर–४ ठुल्ढुंगाबाट सुरु हुने केबलकार सोही वडाको बरालथोकसम्म पुग्छ। केबलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ। ठूल्ढुंगास्वाँराबाट सुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ। केवलकारले एक किलोमिटर छ सय मिटर यात्रा गर्नेछ।
केबलकारको साधारण सेयरको सार्वजनिक निष्काशन (आइपिओ) खुला गर्न सम्झौता भइसकेको छ। लिमिटेडको प्रतिसेयर अंकित मूल्य १ सय रुपैयाँ दरका २५ लाख ८० हजार कित्ता साधारण सेयर प्रचलित कानुनबमोजिम सार्वजनिक निष्काशन तथा बिक्रीका लागि सम्झौता भइसकेको छ।
३ अर्ब ४९ करोड कुल परियोजना लागत रहेको कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको अध्यक्ष शर्माले जानकारी दिए। त्यसमध्ये चुक्ता पुँजीको २ प्रतिशत अर्थात ४ करोड ३० लाख रुपैयाँ परियोजना प्रभावित स्थानीयवासीलाई छुट्याइनेछ। चुक्ता पुँजीको १० प्रतिशत रु २१ करोड ५० लाख रुपैयाँ सर्वसाधारणलाई छुट्याइने शर्माले बताए। रासस