काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रमा सुधारको सङ्केत देखा परेको बताएका छन्। उनले ढुक्क हुने अवस्थामा नपुगेको र चुनौती भने कायम रहेको बताएका छन्।
प्रधानमन्त्री दाहालले सामूहिक प्रयासबाट मात्रै अर्थतन्त्रको समस्या समाधान गर्न सकिन्छ भन्ने विश्वासका साथ सरकार लागिपरेको उल्लेख गरे। ‘बाह्रखरी मिडिया’ले गोकर्ण रिसोर्टमा आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ र आर्थिक परिसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भएका मूल्यमान्यता, दर्शनको अध्ययनका अलावा नेपाली समाजको नै खास अर्थमा अध्ययन तथा विश्लेषण गरेर नेपाली जनताको दीर्घकालीन हितका लागि लागिपर्नुपर्ने बताए।
प्रधानमन्त्री दाहालले विदेश र विदेशी भन्नेबित्तिकै राम्रो र नेपाली नराम्रो भन्ने मानसिकता त्यागेर मात्र राष्ट्रिय अर्थतन्त्रको निर्माण र समृद्ध नेपाल सम्भव हुने बताए। विदेशका अनुभव, शिक्षा र दृष्टान्तलाई बढी महत्व दिएर नेपाली विशेषता र मौलिकता नभुल्न सहभागीलाई उनले आग्रह गरे।
अर्थनीति र अर्थतन्त्रबारे विश्वमा आआफ्नै मोडेल रहेको उल्लेख गर्दै उनले भने– “नवउदारवाद र समाजवादी अर्थतन्त्रका आआफ्नै चरित्र र विशेषता छन् । तर त्यसलाई हुबहु अवलम्बन गरेर हाम्रो अर्थनीति बनाउन सकिँदैन ।”
प्रधानमन्त्री दाहालले हाम्रो अर्थराजनीति, उत्पादन पद्धति अरूको भन्दा मौलिक रहेको उल्लेख गर्दै यसमा धेरै व्यक्ति अल्मलिएको बताए। हाम्रो संविधानले निजी, साझेदारी र सहकारीको तीनखम्बे अर्थनीति अवलम्बन गरेकाले विश्वका अरू मोडेलसँग हुबहु नमिल्ने उनले बताए।
उनले भने, “हामीले तीन तहको सरकारको अवधारणा अभ्यास गरिरहेका छौँ । यसभित्र निकै ठूलो अर्थ छ । हामीले केन्द्रिकृत मानसिकता भत्काएर अवसर र विकासलाई तलसम्म लैजाने सङ्कल्प गरेका छौँ ।
तर हाम्रो मानसिकता चाहेजस्तो बदलिएको छैन । हाम्रो कर्मचारीतन्त्र, सुरक्षा संयन्त्र पुरानो सोचबाट माथि उठ्न सकेको देखिएको छैन । सङ्घीयता र परिवर्तनको आत्मसातीकरण गर्न सकेको देखिँदैन । यसमा अझै मेहनत गर्न आवश्यक छ ।”
सिंहदरबार केन्द्रित मानसिकतामा परिवर्तन भएन
आमजनतालाई आर्थिक विकास र सामाजिक मूल्य र मान्यतामा स्थापित गर्ने सोचका साथ तीन तहको सरकार स्थापना गरिएको भए पनि अझै पनि सिंहदरबार केन्द्रित सरकारको मानसिकता परिवर्तन हुन नसकेको प्रधानमन्त्री दाहाललले बताए। देश सङ्घीयतामा गए पनि सिंहदरबारको मानसिकतामा परिवर्तन आउन नसकेको उनले उल्लेख गरे।
निजी क्षेत्रलाई सम्मान गरेर अगाडि जान सरकार तयार रहेको भए पनि हाम्रो सोचमा परिवर्तन हुन नसकेको प्रधानमन्त्री दाहालले बताए। आफूले गरेको निरन्तर प्रयासका बाबजुद राजस्व सङ्कलनमा वृद्धि भएको, वैदेशिक मुद्राको सञ्चितीमा वृद्धि हुँदै गएको, ब्याजदर क्रमशः ओरालो लाग्दै गएको तथ्य उहाँले पेस गरे ।
प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा केही सुधारका महत्वपूर्ण एजेण्डा स्थापित गरेर जाने विश्वास दिलाए। उनले निजी क्षेत्रको हित र चासोविपरीत गएर कुनै पनि ऐन तथा कानुन नबनाउने विश्वास दिलाए। त्यसअघि प्रधानमन्त्री दाहालले गल्फ प्रतियोगिताको उद्घाटन गरेका थिए ।