काठमाडौं। मुलुक फेरि विद्युतभार कटौती (लोडसेडिङ) को अवस्थामा फर्किएको छ। २०७३ कात्तिकदेखि सुरु भएको अँध्यारो हटाउने अभियान पूरा भएको भन्दै २०७५ साउनमा सरकारले मुलुकलाई लोडसेडिङमुक्त घोषणा गरेको थियो।
मुक्त घोषणाको चार वर्षमै मुलुक लोडसेडिङमा फर्किएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी दुई वर्षपछि नेपाल खुद बिजुली निर्यातक मुलुक बन्ने घोषणा गरे पनि अघोषित लोडसेडिङ भइरहेको छ।
नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा दैनिक १२ घन्टाभन्दा बढी समय लोडसेडिङ गरिरहेको उद्योगीहरूले बताएका छन्। मुलुकका औद्योगिक क्षेत्रमा लोडसेडिङ भइरहेको उद्योगीको भनाइ छ।
यस्तै ग्राहस्थमा पनि नियमित बिजुली आपूर्ति हुन छाडेको लामो समय भएको छ। झ्याप्प–झ्याप्प बिजुली जाने गुनासो घरायसी उपभोक्ताले गर्दै आएका छन्। दैनिक १२ घन्टा लामो समय लोडसेडिङ हुन थालेपछि उद्योगीहरू आन्दोलित भएका छन्।
सुक्खा मौसमका कारण नदीमा जलस्तर घटेर उत्पादनमा कमी आएपछि प्राधिकरणले उद्योगको बिजुली काटेर अहिले ग्राहस्थमा दिएको छ। तर, ग्राहस्थमा पनि नियमित बिजुली आपूर्ति हुन नसकेको गुनासो सर्वसाधारणले गर्न थालेका छन्।
ग्राहस्थमा लोडसेडिङ गर्दा आन्दोलन हुने र पहिला कमाएको ख्याति गुम्ने डरमा प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङले उद्योगको बिजुली काटेर ग्राहस्थलाई दिइरहेको उद्योगीको आरोप छ।
अहिले उद्योगहरू बिजुली नपाएपछि विद्युत प्राधिकरणविरुद्ध आन्दोलित भएका छन्। विद्युत प्राधिकरणले उद्योगमा १२ घन्टासम्म बिजुली नदिएपछि उद्योगीले लोडसेडिङ तालिका मागिरहेका छन्।
प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्न नमानेको उद्योगीको गुनासो छ। उद्योगमा लामो समय लोडसेडिङ भएर आजित बनेका विराटनगरका व्यवसायी आन्दोलनमा उत्रिएका छन्।
मोरङ व्यापार संघले विद्युत नियमित नआएपछि आइतबार विद्युत प्राधिकरणको दुहबी ग्रिड शाखा घेराउ गर्ने कार्यक्रम राखेको छ।
हाल भइरहेको अनियमित, अपर्याप्तता र अनिर्धारित विद्युत आपूर्तिबाट सिर्जित समस्याका कारण उद्योगी–व्यवसायीका साथै सर्वसाधारण आतंकित भएको संघले जनाएको छ।
नियमित बिजुली आपूर्ति नभएपछि उद्योगहरूले अहिले ठूलो वित्तीय नोक्सान बेहोर्नुपरेको सम्बद्ध उद्योगीले बताएका छन्। पटक–पटक ध्यानाकर्षण गराउँदा पनि विद्युत प्राधिकरणले नियमित बिजुली आपूर्ति गर्न ठोस कदम नचालेको आरोप व्यवसायीको छ।
उद्योगीहररू चर्को ब्याज र अघोषित लोडसेडिङ मारमा परेको बताउँदै आएका छन्। सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडा बैंकको चर्को ब्याजदर संकट भोगिरहेका उद्योगी दैनिक १२ घन्टा लामो विद्युतभार कटौतीले उद्योगी मारमा परेको बताउँछन्। दैनिक १२ घन्टा लामो लोडसेडिङ हुन थालेपछि उद्योगको उत्पादन लागत बढेको छ।
हेटौंडामा रहेको शिवम् सिमेन्ट लिमिटेडले जेनेरेटर सञ्चालन गरेर सिमेन्ट उत्पादन गरिरहेको उनले बताए। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ र फर्निस आयलको भाउ बढेकाले उद्योगको उत्पादन लागत पनि बढेको उनले बताए।
एक बोरा सिमेन्टमा लागत ७० रुपैयाँसम्म बढेको उनको भनाइ छ। उत्पादन लागत बढेपछि मारमा उपभोक्ता पर्ने गरेको उनले बताए। सिमेन्ट माग हुने समयमा जेनेरेटर चलाएर उद्योग सञ्चालन गर्नुपरेको उद्योगीहरूको गुनासो छ।
अहिले बिजुली माग पिकआवरमा अधिकतम १ हजार ८ सय २५ मेगावाट रहेको प्राधिकरणले जनाएको छ। जसमध्ये ५ सय ३३ मेगावाट बिजुली भारतबाट आयात भइरहेको छ। यस्तै १ हजार २ सय ९१ मेगावाट विद्युत प्राधिकरण र निजी उत्पादकबाट आपूर्ति भइरहेको छ।
विद्युतको जडित क्षमता बढेर २ हजार ६ सय ५० मेगावाट पुगेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले गत वर्ष ४ सय १५ मेगावाट बिजुली भारतमा बेचेर ११ अर्ब रुपैयाँ आम्दानी गरेको थियो।
अहिले त्यही बिजुली बेचेको पैसाले भारतबाटै आयात गरिरहेको छ। आउँदो बर्खामा पनि १ हजार २ सय मेगावाट बिजुली बेच्ने योजना प्राधिकरणको छ।