काठमाडौं। व्यावसायिक घराना शंकर ग्रुपको प्रमुख लगानीमा ‘हिमालयन स्टक एक्सचेन्ज’ नेपाल धितोपत्र बोर्डमा दर्ता भएको छ। आइतबारसम्मको समयसिमा तोकेर सूचना निस्किएको थियो। शुक्रबारसम्म हिमालयन स्टक एक्सचेन्जको मात्रै आवेदन परेको छ।
लामो रस्साकस्सीबीच सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले नयाँ स्टक एक्सचेन्जको बाटो खोलिदिएपछि हिमालयन स्टक एक्सचेन्ज धितोपत्र बोर्ड पुगेको हो।
एउटामात्रै स्टक एक्सचेन्ज हुँदा लगानीकर्ताले लाभ लिन नसकेको र एकाधिकार हुँदा सेवाको गुणस्तर समेत खुम्चिँदै गएपछि बोर्डले नयाँ स्टक एक्सचेन्ज ल्याएर भइरहेको एक्सचेन्ज कम्पनीलाई प्रतिस्पर्धी बनाउन लागेको हो।
हिमालयन स्टक एक्सचेन्जमा मुलुकका उद्योगपतिहरु एकै ठाउँमा जोडिएका छन्। शंकर ग्रुपका अध्यक्ष शंकर गोल्यानको प्रमुख लगानी रहेको कम्पनीमा उद्योगीहरू पशुपति मुरारका, शेखर गोल्छा, भवानी राणा, राजेन्द्र खेतान, अमित मोर, सौरभ ज्योति, जुनी गुरुङ, आशिष श्रेष्ठ, दीपक भट्टलगायतको लगानी छ।
नयाँ स्टकका लागि ३ अर्ब रुपैयाँ चुक्ता पुँजी चाहिन्छ। यो सर्वसाधारणको सेयरसहित हो। संस्थागतले ७० प्रतिशत लगानी गरे हुन्छ। अहिले सरकारको समेत मुख्य लगानीमा नेपाल स्टक एक्सचेन्ज सञ्चालनमा छ।
विश्वसनीय, पारदर्शी तथा गतिशील पुँजीबजार विकास गरी अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न संस्थागत लगानीकर्तालाई बजार ल्याई ठूला परियोजनालाई चाहिने दीर्घकालीन पुँजी जुटाउन उपयोग गरेको खण्डमा पुँजीबजार स्वर्णिम युगमा प्रवेश गरेको ठहरिन्छ।
सर्वाेच्च अदालतले करिब सात महिनादेखि रोकिएको नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र धितोपत्र दलाल व्यवसायी (ब्रोकर) लाइसेन्स (अनुमतिपत्र) वितरण प्रक्रिया खुला गरिदिएपछि सेयर जारमा नयाँ तरंग ल्याएको छ।
अधिवक्ता दीपकविक्रम मिश्रले धितोपत्र बोर्डले सुरु गरेको लाइसेन्स प्रक्रिया रोक्न माग गर्दै २०७९ असोज ३१ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए।
अहिले नेप्सेको अवस्था भारतमा सन् १९८० ताका बम्बे स्टक एक्सचेन्ज (बिएसई) जस्तो छ। बिएसई सुधार्न अनेकन प्रयास गर्दा पनि त्यहाँका ब्रोकरले नदिएपछि नेसनल स्टक एक्सचेन्ज (एनएसई) ल्याउनुपरेको थियो। पुरातन सोचबाट अघि बढेको बिएसईमा प्रतिस्पर्धी थपिएपछि सुधारको बाटो समायो र विश्वको प्रतिस्पर्धात्मक स्टक एक्सचेन्जका रूपमा चिनिएको छ।
विश्वका प्रायः विकसित देशमा दुई वा दुईभन्दा बढी स्टक एक्सचेन्ज छन्। भारतमा २३ स्टक एक्सचेन्ज सञ्चालनमा छन्। तर, राष्ट्रियस्तरमा नाम चलेका सन् १८७५ मा स्थापित बम्बई स्टक एक्सचेन्ज (बिएसई) र १९९३ मा स्थापित नेसनल स्टक एक्सचेन्ज (एनएसई) मात्र हुन् भने बाँकी प्रदेशस्तरमा क्रियाशील छन्।