काठमाडाैं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान आर्थिक समस्याको समाधान सरकार र निजी क्षेत्रको पहिलो प्राथमिकतामा रहेकाे बताएका छन्।
नुवाकोट उद्योग वाणिज्य संघको १८औं वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले यसकाे छिट्टै समाधानको उपाय निस्कने बताएका हुन्।
अध्यक्ष ढकालले भने, 'मैले हालै सम्पन्न उद्योग वाणिज्य महासंघको साधारणसभामा अध्यक्षको रुपमा पदभार ग्रहण गर्दै गर्दा केही प्राथमिकताहरु उल्लेख गरेको थिए। त्यसमध्ये वर्तमान आर्थिक समस्या समाधान उच्च प्राथमिकतामा रहेको छ।'
यसबारे नयाँ कार्यसमितिले अर्थमन्त्री, राष्ट्र बैंकका गभर्नरलाई भेटेर समस्या समाधानका उपायबारे छलफल गरिसकेकाे उनले बताए।
'सरकार र राष्ट्र बैंक वर्तमान आर्थिक समस्या समाधान गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सकारात्मक रहेकाे पाएकाे छु,' उनले भने, 'अर्थमन्त्री र गभर्नरले समस्या समाधान गर्ने आश्वासन दिनुभएकाे छ। त्यसैले यसकाे समाधानको उपाय छिट्टै आउने विश्वास लिएकाे छु।'
ढकालले नुवाकोट जिल्ला संघीय राजधानीदेखि नजिक रहेको बताउँदै उनले यहाँ कृषि, पर्यटन र जलस्रोतलगायत धेरै क्षेत्रको सम्भावना रहेको बताए। यहाँका सम्भावित क्षेत्रमा आयोजनाहरु पहिचान गर्न सके त्यसमा पुँजी र प्रविधिको अभाव नहुने उनकाे भनाइ छ।
'तपाईहरुले यहाँका सम्भावित परियोजना छनौट गर्नुहोस्। पर्यटन, कृषि र जलविद्युत कुन कुन क्षेत्रमा लगानी सम्भावना छ। म व्यक्तिगत रुपमा वा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको रुपमा यहाँहरुसँग सहकार्य गर्न तयार छु,' उनले भने।