काठमाडौं। होटल संघ नेपालले उम्मेदवारी दर्ताको क्रममा पहिलो पटक दर्ता शुल्क लिने भएको छ।
वैशाख १५ गते हुने ४८ औं वार्षिक साधारण सभा एवंम निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा प्रति उम्मेदवार १५ हजार रुपैयाँ बुझाउनु पर्ने छ।
संघले यसअघिको निर्वाचनमा मनोनयन दर्ता गर्दा कुनै शुल्क लिने गरेको थिएन्। तर, याे पटकदेखि भने शुल्क लिन थालिएको निर्वाचन समितिले जनाएको छ।
अन्य संघसस्थामा उम्मेदवारी दर्ता शुल्क चर्को भएको विरोध भइरहेको बेलामा होटल संघमा भने १५ हजार मात्र निर्धारण गरिएको छ।
होटल संघका प्रथम उपाध्यक्ष विनायक शाहका अनुसार शुक्रबार मनोनयन दर्ता हुँदैछ। आगामी नेतृत्वका लागि २५ जनाको नयाँ कार्यसमिति गठन हुनेछ।
मनोनयन दर्ता हुँदा एकमुष्ट २५ जनाको कार्यसमितिकै लागि हुन्छ। निर्वाचीत २५ जना कार्यसमितिबाट अध्यक्ष चयन हुने छ। र, अध्यक्षले नै पदाधिकारी चयन गर्न पाउने प्रावधान संघको विधान छ।
संघमा कार्यसमिति चयनदेखि पदाधिकारीसमेत सर्वसम्मत हुँदै आएको छ। अन्य संघस्थामा नेतृत्व चयनका लागि हुने निर्वाचनमा भड्कीलो खर्च भइरहेको भन्दै आलोचना भइरहेको बेला संघमा भने सर्वसम्मत नेतृत्व छानिदै आएको छ।
हरेकस्तरका होटलबाट २/२ जना कार्यसमिति
होटल संघको नेतृत्वका लागि हरेकस्तरका होटलबाट २/२ जना कार्यसमिति चयन हुनेछ।
हाल संघमा पाच तारे, चार तारे, तीन तारे, २ तारे, १ तारे, डिलक्स रिसोर्ट, रिसोर्ट र पर्यटकस्तरका होटलहरु सदस्यको रुपमा आबद्ध छन्। संघको नेतृत्वमा पनि स्टार लेभल अनुसार आलोपालो हुने गरेको छ।